सोमबार साँझसम्म सबै ठिकठाक रहेको रसुवाको भोटेकोशी आसपासको संरचना तहसनहस हुन पुगेको छ । भोटेकोशीमा आएको बाढीले ६ जना चिनियाँ, ३ जना प्रहरी सहित १८ जना बेपत्ता भएका छन् भने दुई जनाको शव फेला परेको छ । बेपत्ता भएकाहरु फेला पर्न सकेका छैनन् । बाढीमा फसेका केहीलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । भोटेकोशी हुँदै त्रिशुलीसम्मै किनाराका संरचनाहरुमा बाढीले क्षति पुगेको छ । चीनसँग जोड्ने मितेरी पुल बगेको छ । सुख्खा बन्दरगाह समेत बग्दा एक सय भन्दा बढी मालबाहक गाडी बगेको अनुमान गरिएको छ । क्षतिको प्रारम्भिक विवरण बढिरहेकै छ । उद्धार कार्यमा राज्यका संरचना जुटेका छन् ।
राजनीतिक दलहरुले आफ्ना पार्टी संरचनालाई उद्धार, राहत र अस्थायी पुनस्र्थापनाका निम्ति परिचालित गरेका छन् । आफ्ना कार्यकर्ताहरू उद्धार कार्यमा खटिन शीर्ष नेताहरुले निर्देशन दिएका छन् । आपतका बेला राज्यका संयन्त्र परिचालित हुनैपर्छ । सार्वजनिक सूचना सहित संयन्त्र खटिएका छन् । सेना, प्रहरी, सशस्त्र र राज्यका निकायहरू परिचालित भएको सूचना र तस्वीरहरु सार्वजनिक भइरहेका छन् । सँगै यो तहमा क्षति पुग्नुको कमजोरी पनि छताछुल्ल भएका छन् । कतिसम्म भने रसुवाका सिडियो र डीएसपी समेत मंगलबार बिहान हेलिकोप्टरबाट जिल्ला पठाउनु परेको थियो । उनीहरु काठमाडौंमै थिए । जबकि बाढी, पहिरो, डुबान जस्ता प्रकोपको खतरा रहने समय नै हो । यद्यपि भोटेकोशीको बाढी चीन तर्फको असर थियो ।
तर चीन तर्फबाट खतराको सन्देश यसअघि पनि पठाइएकै थियो । बाढीको खतरा रहेको भन्दै सतर्क रहन नेपाल तर्फ सूचना पठाइएको समाचारहरु आएका थिए । रसुवा प्रशासन आफैले पनि प्रकोपको खतरा रहेको सूचना जारी गरेका थिए । कोशी किनारा खतरामा रहेकाले सतर्कता अपनाउन भनिएको थियो । गाडीहरु जोगाउन र मानवीय सतर्कता अपनाउन भनिएको थियो । तर यो सूचनालाई बेवास्ता गरिएको घटनाक्रमबाट पुष्टि हुन्छ । प्रशासन आफै पनि पूर्वानुमानप्रति गम्भीर देखिएन । यदि गम्भीर हुन्थ्यो भने सिडियो र डीएसपी जिल्लामै नहुने, किनाराका संरचना र मानवीय गतिविधि कायमै हुने जस्ता घटना हुने थिएन । तर हुने क्षति पुगिसकेको छ । अब अरुतिर यो घटनाको पाठ लिन जरुरी छ । प्रकोपबाट बच्न पूर्वतयारी बाहेक अर्को विकल्पै छैन ।