-निष्णु थिङ
गत पौष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गर्ने बित्तिकै जेएन खनाल उपचार गर्न भारत गए र उनी फर्कने बित्तिकै डा. बाबुराम भट्टराई उपचारकै लागि उडे । केपी शर्मा ओलीले संसद बिघटन गरे लगत्तै छाएको अलमल र सन्नाटाको अवस्थामा पुुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको उपचारको लागि दिल्ली हुदै मुम्बई गएर आए । यसरी एक महिनामै नेपालका तीन जना पूर्व प्रधानमन्त्रीहरुको दिल्ली भ्रमणले उपचार कूटनीतिको बारेमा लेख्न निकै प्रेरित गर्यो । यी धमाधम भएका उपचार भ्रमणहरुले थुप्रै प्रश्नहरु र सशंयहरु जन्माएका थिए ।
जतिबेला ओली भारत विरोधी र उग्रराष्ट्रवादी नाराका साथ सत्तारोहण भएको थियो । दुई तिहाइको सरकार बन्ने तरखरमा उनी उपचारको लागि सिगांपुर हानिए र त्यहाँ उनले भारतीय गुप्तचर, कूटनीतिज्ञहरुसँग सघन भेटघाट गरे (स्रोतः भीम रावल, कान्तिपुर दैनिक माघ ८, २०७७) । सम्भवतः उनले आफ्नो नेतृत्वमा बन्न लागेको आसन्न सरकारलाई सहयोग गरि दिन आग्रह गरेका थिए ।
नेपालमा यस प्रकारका उपचार कूटनीति अपनाएको अहिले मात्रै होइन । यसको लामो परम्परा नै बसालिएको छ । प्रधानमन्त्री भइसकेका व्यक्तिहरुका यस्ता गतिविधिहरुले देशभित्र या त गतिलो उपचार प्रणाली र संस्थाहरु छैनन् वा त्यसप्रति उनीहरुको सामान्य विश्वासै छैन । अथवा उपचार, ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ जस्तै हो । राज्यकै कार्यकारी प्रमुखहरुका यस्ता लावालस्करले सर्वसाधारणमा पनि आफनो देशको उपचार प्रणाली र संस्थाहरुप्रतिको साखमा विश्वास कमजोर बनाउँदै लगेको छ ।
सामान्य तर, गम्भीर अर्थ
कूटनीति आफैंमा कलात्मक अभिव्यक्ति हुन् । कूटनीतिमा सोझो र प्रष्ट संवाद गरिँदैन । कतिपय सांकेतिक र घुमाउरो, बिम्बात्मक शैलीको प्रचुर प्रयोग गरिन्छन् । कूटनीतिमा बसाइ, हिँडाइ, उठाइ, रङ्ग–ढङ्ग सबैको उतिकै महत्व रहन्छ । यसमा बोली, लोली, स्वरको मात्रा, कपडा पहिरन र मुहार अभिव्यक्ति(फेसियल एक्स्प्रेषण) आदि सबैको उतिकै अर्थपूर्ण स्थान रहने गर्छ । जसरी कूटनीतिमा सबै स–सानो कुराहरुको गम्भीर अर्थ र महत्व रहन्छ । सामान्यभन्दा सामान्य लाग्ने व्यवहारहरु कूटनीतिमा गहिरो अर्थबोधक र सन्देशमूलक हुन्छन् ।
नेपालमा प्रयोग हुने बहुचर्चित उपचार कूटनीति यहाँको सत्ता समीकरण, शक्ति सन्तुलन र दलीय होडबाजीमा यसको प्रत्यक्ष प्रभाव रहँदै आएको छ । यहाँको राजनीतिमा अनिश्चितता, अस्थिरता र तरल अवस्थामा यस्ता भ्रमणहरु भारततर्फ बाक्लो हुने गरेको छ । सामान्यतः नागरिकस्तरमा यस्ता अवाञ्छित लाग्ने किसिमका भ्रमणहरुबारे नकारात्मक धारणा र रोष पाइन्छ । संसद विटघन र पुनःस्थापना पश्चात्को नेपाल कता जाने हो ? राजनीतिले कुन दिशा वा बाटो तय गर्ला ? सविंधानकै भविष्य के हुने हो ? सघींय लोकतान्त्रिक गणतन्त्रको हालत के हन्छ ? सविंधानले परिकल्पना गरेको समावेशी लोकतन्त्रको अवस्था के होला ? जस्ता अहम् प्रश्नहरुले आम नेपालीजन चिन्तित रहेका बेलामा भइरहेका उपचार कुटनीतिले फेरि के खिचडी पाक्दैछ ? भन्ने आशंकाहरु उत्पन्न भएका थिए र छन् ।
स्वास्थ्य कूटनीति अस्वस्थ भेटघाट
हुन त व्यक्तिको उपचार र स्वास्थ्यको लागि विश्वका जुनसुकै कुनामा गएर उपचार गराउन पाउनु पर्दछ । देशभित्र उपलब्ध नभएका उपचार, प्रविधि र जनशक्तिद्धारा स्वास्थ्यलाभ लिन कुनै बन्देज वा नाजायज रोकावट हुन आवश्यक छैन । उपचारको लागि जहाँ जसलाई सुलभ र सजिलो हुन्छ, त्यहाँ जान पाउनु पर्दछ । उपचार पाउनु व्यक्तिको नैसर्गिक र मानव अधिकारभित्र पर्दछ । तर उक्त उपचार भ्रमणमा जाने पूर्व र हुनेवाला प्रधानमन्त्री र राष्ट्रप्रमुखहरुले सो देशमा रहदा को–कोलाई भेटे ? किन भेटे ? भेटघाटमा के–के संवादहरु भए ? त्यो राष्ट, नागरिकलाई र परराष्ट्र मन्त्रालयलाई जानकारी हुन आवश्यक छ ।
ओलीको संसद विघटनको निर्णय आएसँगै राष्ट्रिय राजनीतिमा आएको अस्थिरता र अनिश्चयताको भुमरीमा आफनो मुभ तय गर्न र भारतीय धारणा बुझेर लबि गर्ने सिलसिलामा प्रचण्डको आकष्मिक मुम्बई भ्रमण तय भएको थियो भन्ने आशंका गरिएको थियो । प्रचण्डले श्रीमतीको उपचार कूटनीतिलाई प्रयोग गरी दिल्लीसम्म जाने काम गरे । दिल्लीमा उनले को–कोलाई, किन भेटे ? त्यो अझै सार्वजनिक भएको छैन । त्यो भेटमा के–के संवाद भए ? त्यो पनि गुपचुप नै छ । जेएन खनालको पनि केही सार्वजनिक भएको छैन । बाबुराम भट्टराईले क–कसलाई दर्शन भेट गरे ? उनको भेटमा के कस्ता संवादहरु भए ? अथवा उपचारको लागि गएका उनले उपचारबाहेक अरु काम गरे कि गरेनन् ? उनले आफू धेरैवर्ष अगाडि चण्डीगढ र दिल्लीमा अध्ययन गर्ने बेलाका आफ्नो सहपाठीहरुसित भेटघाट गरेको उनले आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गरे, कतिपय गरेनन् पनि होला ! उनै जानून् । पूर्व कार्यकारी र सम्भावित कार्यकारीहरुको उपचारको नाममा गरिने महत्वपूर्ण भ्रमण र त्यहि सिलसिलामा गरिने देशको भविष्यमा दूरगामी प्रभाव राख्ने संवाद, पर्दापछाडिका सहमतिबारे बेखबर रहने परिपाटी सदैव हुनु मुलुकको लागि कति हितकर छ ? त्यसको चर्चा गरिनु आवश्यक छ ।
उपचार खर्च व्यवस्थापन
त्यसरी विदेशस्थिति महंगा अस्पतालहरुमा उपचार गर्दा हाम्रा नेताहरुको खर्च कसले, कसरी व्यवस्थापन हुन्छ ? त्यो पनि आम नागरिकको चासोको विषय रहने गरेको छ । आफैँ वा कतैबाट उपचार खर्च व्यहोर्ने हो भने त्यसको स्रोत के हो ? गरिब देशका नेताहरुको महंगो उपचार खर्च राज्यले नै व्यहोर्ने, नेताहरुले राज्यको प्रत्यक्ष ढुकुटीबाट उपचारार्थ सहयोग पनि अचाक्ली प्राप्त गरेको विवरण बेला–बेलामा सार्वजनिकसमेत भएका छन् । निर्वतमान प्रम केपी ओलीको प्रथम मृगौला प्रत्यारोपण दिल्लीमा गर्दा उनको उपचार खर्च अन्त कतै अपारदर्शी स्रोतबाट जोहो गरेको चर्चा त्यतिबेला थियो । उपचारको लागि गएका नेताहरुका खर्च कसले, कति र कसरी व्यवस्थापन हुन्छ, अझै स्पष्ट हुन सकेको छैन । त्यसरी खर्चको जोहोबारेको रहस्य सार्वजनिक नहुनुले कतै नेताहरुले व्यक्तिगत हितको लागि राष्ट्रिय हितको सौदाबाजी त गरेनन् वा गर्दैनन् ? यस्ता आशंकाहरु जनमानसमा प्रशस्त पाइने गरेको छ ।
सबल स्वास्थ्य प्रणाली
नेपालमा पछिल्लो पटक निर्वतमान प्रम ओलीको मृगौला प्रत्यारोपणले यहाँ पनि राम्रो स्वास्थ्य उपचारको व्यवस्था भएको पुष्टि नै भएको छ । त्यसैगरी, बाबुराम भट्टराईले पनि यहि उपचार गराए, त्यो कोभिडले दिल्ली नै संकटमा भएको कारणले जान नसकेर हो वा अन्य कारणले त्यो पनि उनैले जान्ने कुरा हुन् । यद्यपी उनी पनि उपचारको नाममा गरिने कुटनीतिक÷राजनीतिक भ्रमण गर्ने नेताको रुपमा चर्चित छ । उनको उपचारले विश्वमा भएका ताजा प्रविधि यहाँ उपलब्ध रहेको र हाम्रा जनशक्ति पनि कमजोर नभएको समेत थाहा भएको छ । तैपनि नेपालमा सबल स्वास्थ्य प्रणालीको विकास हुन सकेको छैन ।
डा.गोविन्द केसीले त्यसको लागि अनवरत अनशन र आन्दोलन गर्दै आएको छ । कतिपय अवस्थामा उपचारको लागि घरिघरि देशबाहिर गइरहनु पर्ने (अन्य कारणले पनि हुन सक्छ) परिस्थितिमा यहि राम्रो उपचारको व्यवस्था भएमा बाहिर गएर गरिने महंगो उपचारमाथि प्रश्न उठ्ने भएकोले यहाँको दूरावस्थालाई आँखा चिम्लिने र बेवास्ता गरिदिने प्रवृत्तिले घर गरेको देखिन्छ । यहाँ संस्था र संरचना, प्रणाली सबल बनाउने उद्धेश्य लिनु भन्दा यस्तै गोन्जागोल वातावरणमा फाइदा उठाउन सकिन्छ भन्ने मानसिकताले काम गरेको हुन सक्छ, नेपालमा स्वास्थ्य सेवाको गुणस्तर बृद्धि नहुनुमा !
उपचार कूटनीतिको प्रयोग
नेपालमा उपचार कूटनीतिको भद्या प्रयोग देशका प्रमुख नेताहरु, पूर्व प्रमहरु सबैले सकेको जति सदुपयोग वा दुरुपयोग गर्दै आएका छन् । देशभित्रको राजनीतिक माहौल तलमाथि भएपछि त्यसको समीकरण मिलाउन, शक्ति आर्जन गर्न र आफनो स्वार्थको लबि गर्न प्रयोग गरिने उपचार कूटनीतिबारेमा हामी कति सचेत भएका छौँ ? सम्बन्धित देशमा भएका(दिल्लीस्थित) दूतावासहरु यसमा कति अपडेट छन् ? परराष्ट्र मन्त्रालय कति चनाखो र जानकार छ ? राष्ट्रकै नेतृत्व गरिसकेका व्यक्तित्वहरु नै उपचारको नाममा उच्चस्तरको राजनीतिक भ्रमण पटक–पटक गरिनुले देशवासीको शिर दुई तरिकाले निहुराएका छन् । एक, देशभित्रको स्वास्थ्य संस्थालाई विश्वास नगरिनु र सबल उपचार प्रणालीको विकास नगर्नुले । दोस्रो, देशभित्रको राजनीतिक उपचार बाहिरबाट खोजिनुले ।
सदैव आफ्नो स्वार्थको लागि मुलुकमा अस्थिरता मच्चाइ रहने, मिलेर काम गर्न नसक्ने अनि उपचारको नाममा गरिने यस्ता भ्रमणले मुलुकलाई गुमराहमा राखेर भएका कूटनीतिक भेटघाटलाई हाम्रो राष्ट्रिय राजनीतिक मुद्धाहरुमा कमजोर र आश्रित निर्णय क्षमताको परिचय गराउँछ । हाम्रो निर्णय गर्न सक्ने क्षमतामा ह्रास आएको परिदृश्यमा यस्ता उपचार भ्रमणलाई कसरी उचित मान्न सकिएला ? अहिले भइरहेका उपचार कूटनीतिको राष्ट्रिय राजनीतिको सन्दर्भमा लेखाजोखा गरिनु जरुरी छ । हुन त जुन देशका प्रधानमन्त्री अर्को देशको जासुस विभाग प्रमुखसित नीजि निवासमा मध्यरातमा गोप्य भेटघाट गर्छ र त्यसमा कोही परराष्ट्रका प्रतिनिधिसमेत राख्दैन, आपसी के संवाद वा सहमति भयो ? त्यसबारे राष्ट्र र नागरिकलाई यतिका महिनासम्म केही जानकारी गराउँदैन भने त्यहाँ प्रणाली(सिस्टम)को कुरा गर्नु पनि बेकार हो । जो घरमुली नै घरको अनुशासन, मर्यादा र संस्कार बिगार्न लागेपछि अरुलाई मात्रै प्रश्न तेस्र्याउनुको के अर्थ रहन्छ र !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies