काठमाडौं : विभिन्न ५ सहकारीबाट बचतकर्ताको करोडौं रकम ठगी गरेको अभियोगमा अदालतको आदेशअनुसार पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवी लामिछानेको पक्षमा करिब २१ लाख हस्ताक्षर संकलन भएको छ । पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा ७ असारमा माइतीघर मण्डलाबाट सुरु भएको अभियानमा देशव्यापी चलिरहेको छ ।
थुनामा रहेका लामिछानेले जारी गरेको अपिल बोकेर रास्वपाका नेता कार्यकर्ताहरू हस्ताक्षरसँगै चन्दा संकलन अभियानमा पनि उत्रिएका छन् । सोमबारसम्म २१ लाख हस्ताक्षर संकलन हुँदा यो अवधिमा कम्तीमा ४५ लाख रुपैयाँ चन्दासमेत संकलन भएको रास्वपा श्रोतको भनाइ छ । यद्यपी रास्वपाले हस्ताक्षर संकलनलाई खुलेर सार्वजनिक गर्दा चन्दा संकलनको विषयमा भने मौन छ ।
लामिछानेविरुद्ध राज्यले राजनीतिक प्रतिशोध साँधेर जेल पुर्याएको भन्दै पार्टीले उक्त प्रतिशोधलाई काउण्टर दिन हस्ताक्षर संकलन गरेको जनाएको छ । हस्ताक्षर अभियान र रविको अपिल जनतामाझ पर्याउन भन्दै आर्थिक सहयोग उठाइरहँदा यसको पारदर्शिताको प्रश्नले रास्वपालाई घेरेको छ । सार्वजनिक रूपमै क्युआर पठाएर गरिएको चन्दा संकलन पारदर्शी नभए रास्वपाले भविष्यमा ठूलै मुल्य चुकाउनुपर्ने विश्लेषकहरूको भनाइ छ ।
‘यसको आवश्यकता, औचित्यता र पारदर्शिताको विषयमाथि प्रश्नहरू उठेका छन्’, विश्लेषक विष्णु पन्थीले मध्यान्हसँग भने ‘हस्ताक्षर संकलनपश्चात् यसको दुरुपयोग हुनसक्ने विषयमासमेत गम्भीर प्रश्न उठ्न सक्छ । यो दुवै विषयमा रास्ववपाका नेताहरू गम्भीर भएनन भने भविष्यमा यसको मूल्य ठूलो पर्न जान्छ ।’
पूर्पक्षका लागि भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको जिकीरसहित त्यसका विरुद्ध हस्ताक्षर र चन्दा संकलन गरिएको सन्दर्भमा अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न खोजिएको आरोपसमेत रास्वपामाथि लाग्दै आएको छ ।
यो अभियानविरुद्ध सत्तासिन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)ले प्रश्न उठाइरहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरू राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले मौन–समर्थन गरेको देखिएको छ । कतिपय माओवादी केन्द्रका नेताहरूले समेत हस्ताक्षर गरेर चर्चामा आएका छन् ।
माओवादीका कोशी प्रदेश सांसद एवं पूर्वसभामुख बाबुराम गौतमले हस्ताक्षर गरेका हुन् । उनले प्रतिकृया दिएका छन् ‘अरू ठूलठूला काण्डका नाइकेलाई छाड्दै गर्दा रविलाई पनि सामान्य धरौटीमा छाडिदिएको भए केही बिग्रिदैनथ्यो ।’ गौतमको आशय अन्य भ्रष्टाचार र ठगीमा मुछिएकाहरूलाई छाड्दा रविलाई पनि छाड्नु्पर्ने थियो ।
सोमबार जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । रास्वपा मुख्यालय वनस्थली चःमतिमा पुगेर राउतले लामिछानेको पक्षमा हस्ताक्षर गर्दै आफूले हौसिएर नभई बुझेर नै लामिछानेको पक्षमा हस्ताक्षर गरेको बताएका छन् ।
हस्ताक्षर अभियानमा सर्वसाधारण नागरिकदेखि सेलेब्रिटी, राजनीतिक व्यक्तित्व, पूर्वन्यायाधीशदेखि बैंकिङ क्षेत्रका व्यक्तिसमेत संलग्न छन् । पार्टीको तर्फबाट यो अभियानको संयोजन नेता दीपक बोहोराले गरेका छन् । उनका अनुसार कलाकार, पूर्वन्यायाधीश, पूर्वप्रहरी, विभिन्न दलका नेता–कार्यकर्ता, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्याक्सीचालक, किरियापुत्री, दृष्टिविहीन, अपांग, युवादेखि वृद्धसम्म, सहकारीपीडित र आमनागरिकले अभियानमा सहभागिता जनाइरहेका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, अभिनेत्री मनीषा कोइराला, सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी, पूर्वप्रशासक कुलमान घिसिङ, मधेश प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, कलाकार विपिन कार्की, रमेश उप्रेती, किरण केसीलगायतले हस्ताक्षर गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले हस्ताक्षेर नगरेपनि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भन्दै रास्वपाका कार्यकर्ताको मन जित्ने प्रयत्न गरिरहेका छन् ।
तर, हस्ताक्षरसँगै क्युआर सार्वजनिक गरेर उठाइएको चन्दा क–कसले दिएको भन्ने नेताहरूले खुलाएका छैनन ।
अभियानका संयोजक बोहोराले शुभेच्छुकहरूले सयदेखि हजार रुपैयाँसम्म सहयोग उठिरहेको बताए । ‘सभापतिको अपिल छाप्न र त्यसलाई गाउँ–सहर, देश–विदेशसम्म पठाउन त्यही पैसाले खर्च गर्नेछौं’, उनले भने ‘यसका लागि पार्टीले छुट्टै कोष खडा गरी खाता खोलेको छ र त्यसको अडिट गरिनेछ । हस्ताक्षर अभियान र आर्थिक संकलनसम्बन्धी सबै विवरण सार्वजनिक हुन्छ ।’
लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार प्रदेशस्तरमा छुट्टै र केन्द्रमा छुट्टै तथ्यांक संकलन भइरहेको छ । जस अनुसार कोशी प्रदेशमा १ लाख ६६ हजार, मधेशमा ३६ हजार, बागमतीमा २ लाख १३ हजार, गण्डकीमा २ लाख ६० हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कर्णालीमा ३८ हजार र सुदूरपश्चिममा २५ हजार भन्दा बढी हस्ताक्षर संकलन भएको छ ।
यस्तै अहिलेसम्म चन्दास्वरूप करिब ४५ लाख रुपैयाँ रकम संकलन भएको उनले जानकारी दिए । यद्यपि यसको एकिन विवरण सार्वजनिक भएको छैन् । ‘यो चन्दा संकलन जबरजस्ती होइन, हस्ताक्षर गर्नेहरूले स्व–इच्छाले दिनुभएको हो,’ न्यौपानेले भने । उनले अरु पार्टीहरूले पनि विभिन्न स्वरूपमा चन्दा लिइरहेको बताए । हस्ताक्षर अभियानलाई कम्तीमा पनि १०० दिनसम्म पुर्याउने रास्वपाको लक्ष छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने अहिले भैरहवा कारागारमा छन् ।