२०८२ असार ३२ गते बुधवार / Jul 16 , 2025 , Wednesday
२०८२ असार ३२ गते बुधवार
Ads

कोइराला निवास पुगेर खाँणले भने- 'यो गुटको केन्द्र होइन, पवित्र स्थल हो'

shivam cement
मध्यान्ह
२०८२ असार ३२ गते १२:०९
कोइराला निवास पुगेर खाँणले भने- 'यो गुटको केन्द्र होइन, पवित्र स्थल हो'

काठमाडौं : नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण मोरङको विराटनगरस्थित कोइराला निवास पुगेका छन् । कुनैबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छायाँझैं रहेका नेता खाँण बुधबार बिहान कोइराला निवास पुगेका हुन् ।

खाँणसँगै पार्टी सहमहामन्त्री महेन्द्र यादव र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला पनि कोइराला निवास पुगेका थिए ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएर झण्डै सात महिना जेल जीवन बिताएका खाँण बुधबार बिहान शेखर कोइरालाको निवास पुगेपछि कांग्रेसको आन्तरिक राजनीतिमा अनेक अड्कल सुरु भएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा शेखर पक्षका नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेका बेला पुगेका खाँणले पत्रकारहरूसँग छोटो कुराकानी गरे । यद्यपि, उनले शेखर समूहमा औपचारिक रुपमा आबद्ध भएको खुलेर घोषणा त गरेनन्, तर उपस्थितिले उनी अब देउवा निकटभन्दा बढी शेखरको समिपमा पुगेको संकेत दिएको छ ।

कोइराला निवास कुनै गुटको केन्द्र नभइ कांग्रेस र प्रजातन्त्रप्रति आस्था राख्ने सबैका लागि पवित्र स्थल रहेको खाँणले बताए । उनले यहाँ पहिले बीपी, गिरिजाप्रसाद, कृष्णप्रसाद बसेको बताउँदै अहिले मात्र शेखर कोइराला बसेको उल्लेख गरे ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि खाँण र देउवा‍को सम्बन्ध चिसिएको बताइन्छ । त्यसबेलासमेत कांग्रेस नेतृत्व रहेको सरकारअन्तर्गत उनी पक्राउ परेपछि खाँण देउवासँग खिन्न बनेका थिए ।

हालै अनुशासन समितिले गरेको कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै शेखर समूह आक्रोशित छ । समिति सदस्यहरूलाई हटाउने वा कारबाही फिर्ता गर्नुपर्ने माग उठिरहेको छ । त्यही सन्दर्भमा नेता खाँणले भने, ‘अनुशासन समितिले उजुरीमाथि छानबिन त गर्‍यो। अब ठीक कि बेठीक भयो, त्यो केन्द्रीय समितिले परीक्षण गर्छ ।’

उनको यो अभिव्यक्तिलाई पनि देउवा नेतृत्वप्रति अप्रत्यक्ष असन्तुष्टिको रूपमा हेरिएको छ ।

पार्टी महाधिवेशनबारे उनले पाँच वर्षभित्र गर्न सकिने कानुनी व्यवस्था रहेको बताए। ‘विधानअनुसार विशेष अवस्थामा एक वर्ष कार्यकाल थप्न मिल्ने प्रावधान छ,’ उनले भने ।

ADV

सम्बन्धित खबर

Advertise