काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) ले शसर्तरुपमा नेपालसहित ६ देशका नागरिकलाई प्रवेश अनुमति दिने भएको छ । यूएईले कोरोनाको दोस्रो डोजको खोप लगाएको १४ दिनपछि मात्र आफ्नो देशमा प्रवेश गर्न पाउने बताएको छ ।
लामो समयदेखि नेपाललगायत १६ देशलाई यात्रा प्रतिबन्ध लगाएको यूएईले मंगलबार कारोना भाइरसविरूद्ध पूर्ण खोप लगाएका यात्रु तथा यूएईमा आवासीय अनुमति पत्र प्राप्त व्यक्तिहरुलाई प्रवेश अनुमति दिने निर्णय गरेको यूएईका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यूएईको राष्ट्रिय आपत्कालीन तथा विपद व्यवस्थापन प्राधिकरणले मंगलबार नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डामा अलपत्र आवासीय अनुमति रहेका यात्रुलाई प्रवेश अनुमति दिइने जाकारी दिएको हो । फर्किन पाउने प्राथमिकताको सूचीमा चिकित्सक, नर्स तथा स्वास्थ्य क्षेत्रका प्राविधिक, शैक्षिक संस्थाका कर्मचारी र विद्यार्थी, मानवीय सेवाका कर्मचारी र यूएईको सरकारी कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् ।
कोरोना भाइरस संक्रमण बढेपछि नेपाललगायत १६ देशका नागरिकहरुलाई प्रवेश प्रतिबन्ध लगाएका कारण घर विदामा आएका हजारौं नेपाली रोजगारीमा फर्किन पाएका छैनन् । यूएईले ५ अगस्ट बिहीबारदेखि नै नेपालीमाथिको यात्रा प्रतिबन्ध फुकुवा गर्ने बताएको छ ।
आबुधाबीस्थित नेपाली दूतावासले ४८ घण्टाभित्रको कोरोनाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने, यूएई अवतरण गरेपछि विमानस्थलमा पनि पीसीआर गरी क्वारेन्टिन बस्नुपर्ने लगायतका अन्य स्वास्थ्य प्रोटकल कडाइका साथ पालना गर्नुपर्ने बताएको छ ।
नेपाली दूतावासले वैदेशिक रोजगारसहित सबै प्रकारका भ्रमणमा उक्त मुलुक जानेले अनिवार्य रुपमा क्यूआर कोडसहित कोरोना खोप प्रमाणीकरण गर्न आग्रह गरेको छ ।
नेपालमा कोरोना संक्रमण बढेपछि हाल यूएईमा नेपालबाट उडान रोकिएको छ । तर नेपाली दूतावासले पछिल्लो समय खाडीका धेरै देशहरुले यात्रुले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणमा क्यूआर कोड पनि मागिरहेकाले यूएईले पनि चाँडै यस्तो नियम लगाउन सक्ने भन्दै क्यूआर कोड अनिवार्यरुपमा लिन भनेको हो ।
नेपालमा रहेका राहदानी नवीकरण गर्नुपर्ने वा नयाँ लिनुपर्नेहरुले कोरोना विरुद्धको खोप लिई नसकेको अवस्थामा कोरोना भाइरस भ्याक्सिन सम्बन्धी स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको वेबसाइटमा गएर प्री–इनरोलमेन्ट फारम भरी खोप लगाई क्यूआर कोडसहितको खोप प्रमाणपत्र लिनुपर्ने दूतावासको भनाइ छ ।
उता साउदी सरकारले आइतबारदेखि पर्यटक भिसा वाहकलाई प्रवेश गर्न दिने निर्णय गरेको छ । साउदीले आफ्नो मुलुकले मान्यता दिएका कोरोनाविरुद्धको खोप लगाएका पर्यटकहरुलाई अगस्ट १ देखि प्रवेश अनुमति दिएको बताएको छ । साउदी अरबले अस्ट्राजेनेका, फाइजर, जोन्सन एण्ड जोन्सन र मोडर्नाका खोपलाई मान्यता दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies