२०८२ साउन ५ गते सोमवार / Jul 21 , 2025 , Monday
२०८२ साउन ५ गते सोमवार
Ads

एमाले केन्द्रीय कमिटी बैठक : आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

shivam cement
मध्यान्ह
२०८२ साउन ५ गते १४:४७
एमाले केन्द्रीय कमिटी बैठक : आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् ।

आजदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको नवौं बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिंगो पार्टी पङ्क्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

अध्यक्ष ओलीले पछिल्लो समयमा एमालेको पार्टी सदस्यता एक लाख ३९ हजार (२८ प्रतिशत) ले वृद्धि भई संगठनात्मक रूपमा मजबुद भएको बताए । उनले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रुपान्तरण गर्न आह्वान गरेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गरेको र विरोधी तथा अनेक तत्वहरूले एमालेमाथि झुट र अफवाहको शैलीमा आक्रमणको निसाना बनाएकाले एकताबद्ध भएर सामना गर्न आग्रह गरेको उनले जानकारी दिए ।

“वैचारिक र नीतिगत रूपमा अहिले हाम्रो पार्टी एकढिक्का छ । यहाँ कुनै मतभेद छैन तर हामीलाई विवाद र विभाजन गराउने तत्वका अनेक प्रयास हुन सक्नेतर्फ सचेत भएर लाग्नुपर्छ”, अध्यक्ष ओलीले भने, “विरोधीहरूले हामीसँग विचार र काममा प्रतिस्पर्धा गर्न सक्दैनन् । झुटको सहारा लिएर गोयबल्स शैलीमा आरोप लगाउँछन् । एमालेलाई कमजोर देखाउने प्रयास गर्छन् । यस्ता आरोप र चुनौतीको सामना हामीले पहिल्यैदेखि गर्दै आएका छौँ । फेरि पनि गर्छाैँ ।”

नेता गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने भन्ने सन्दर्भमा उनी र पार्टी अध्यक्ष ओलीबीच आइतबार भएको संवाद र उक्त विषयबारे निर्णयमा पुग्नुपर्ने प्रस्ताव पनि बैठकमा आउने अपेक्षा गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise