२०८२ साउन ६ गते मङ्गलवार / Jul 22 , 2025 , Tuesday
२०८२ साउन ६ गते मङ्गलवार
Ads

एमालेमा उठ्यो उमेरहद हटाएकोमा प्रश्न, विद्याको वकालत नगर्न ओलीको चेतावनी

shivam cement
अस्मिता बम
२०८२ साउन ६ गते ०६:२५
एमालेमा उठ्यो उमेरहद हटाएकोमा प्रश्न, विद्याको वकालत नगर्न ओलीको चेतावनी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्ने बुझाइमा दृढ नेता हुन् । अर्को पक्षलाई अस्वीकार गर्ने उनको प्रवृत्ति पार्टीको केन्द्रीय कमिटीमा पनि देखा परेको छ ।
सोमबारबाट पार्टीको मुख्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सुरुवातमा बोल्दै उनले एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा वकालत नगर्न चेतावनी नै दिए । 

१४ असारमा पार्टीको राजनीतिमा सक्रिय भएको घोषणा गरेकी नेता भण्डारीको सदस्यतामै विवाद भएको विषयमा भण्डारी पक्षका नेताहरूलाई लक्षित गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् । 

उनले सोमबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा आइतबार भण्डारीसँगको भेटवार्ताका विषयमा जानकारी दिँदै उनको प्रवक्ता नबन्न नेताहरूलाई सचेत गराए । भण्डारीका पक्षमा प्रवक्ता जस्तो गरी अभिव्यक्ति दिने नेताहरूलाई कारबाही गर्नेसम्मको चेतावनी दिएका छन् ।   

पार्टीको राजनीतिमा सक्रिय भएको घोषणा गरेकी नेता भण्डारीको सदस्यतामै विवाद भएको छ । उनको पार्टी सदस्यता पुरानो कि नयाँ भन्ने विषयमा पार्टीभित्र २ धु्रव देखिएको छ । त्यस्तै पार्टी नेतृत्वका लागि ७० वर्षे उमेर हद र २ कार्यकालको वैधानिक प्रावधानसमेत हटाउने अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको निर्णयलाई लिएर एमालेमा भाँडभैलो भएको छ ।

पार्टीका एकाथरि नेताहरूले भण्डारीलाई बोकेको भन्दै ओलीले केन्द्रीय कमिटी बैठकमा असन्तुुष्टि जनाएका छन् । ‘उहाँ (विद्या भण्डारी) पार्टी कार्यालय आउँदा केही असन्तुष्ट र आफैं चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए । उहाँको प्रवक्ता बनेर मिडियामा अनावश्यक बयानबाजी गर्न जरुरी छैन । हिजोको बैठकलाई कट अफ बैठकको रूपमा लिनुपर्छ । अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए कारबाही अवश्य हुनेछ,’ अध्यक्ष ओलीले चेतावनी दिँदै भने ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेसहितका एकाथरि नेताहरू आगामी महाधिवेशनमा विद्या भण्डारीलाई स्थापित गर्ने योजनासहित नेतृत्वको ७० वर्षे उमेरहद र २ कार्यकालको व्यवस्था कायम राख्नुपर्ने अडानमै छन् भने भण्डारीको पार्टी सदस्यता १ वर्षअघि नै नवीकरण भइसकेकाले उनको सदस्यता विवाद निकाल्न नहुने बताउँछन् ।  

तर अध्यक्ष ओली र उनको समूहले भने भण्डारीको राजनीतिक यात्रालाई स्वीकार गर्न नसकिने बताउँदै आएका छन् । अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी बैठक प्रारम्भ गर्दै भनेका छन्, ‘पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिक यात्राको सन्दर्भमा राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा स्पष्ट रूपमा राखिएको छ । उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ । उहाँको धारणा आएपछि आवश्यकता अनुसार पार्टीले थप निर्णय गर्नेछ ।’ 

अध्यक्ष ओली र नेता भण्डारीबीच आइतबार च्यासलमै भेटवार्ता भएको थियो । उक्त भेटमा भएको कुराकानीको सन्दर्भलाई ओलीले पार्टी बैठकमा स्मरण गराए ।  

‘मैले विद्याजीलाई हिजो भेटेँ, बालुवाटार बोलाएको, पार्टी कार्यालय देखेको छैन भन्नुभयो, के ठूलो भयो ? पूर्वराष्ट्रपति र प्रधानमन्त्री भेट्दा किन ठूलो कुरा गर्नुपर्छ ?,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले मध्यान्हलाई सुनाए, ‘कोही उहाँ (भण्डारी) को प्रवक्ता बन्नुभएको छ, किन प¥यो त्यो, मैले सुझाव दिएको छु, उहाँले के गर्नुहुन्छ भनिसक्नुभएको छैन ।’

ओलीको यस्तो ब्रिफिङले भण्डारीको आगामी राजनीतिक यात्रामा रोक लगाउने संकेत गरेको एमालेका ति नेताले बताए । ‘नयाँ व्यक्तिहरू पार्टी राजनीतिमा आउँदा पार्टीलाई फाइदा पुुग्छ । तर नेतृत्वबाटै रोक्ने प्रयास हुनु राम्रो होइन’, उनले भने ।   

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise