काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले राष्ट्रिय सभामा राखेको ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिएका छन् ।
मंगलबार ४३ औँ विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो चेतावनी दिएका हुन् । उनले प्रतिनिधि सभाबाट भएको कुलिङ पिरियडसम्बन्धी गल्तीलाई राष्ट्रिय सभाबाट सच्याउन र दोषीलाई कारबाही गर्न सर्वसम्मत रुपमा छानबिन समिति बनाएको स्मरण गराए । सर्वसम्मत रुपमा गरिएको निर्णयविरुद्ध एमालेले कुलिङ पिरियड हटाउन गरिरहेको प्रयासले दुर्घटना निम्त्याउने उनको चेतावनी थियो । शर्माले गठबन्धनमा रहेका दलहरूबीचको फरक धारणा र फरक मतलाई सम्मान गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह पनि गरे । एउटै दलभित्र त एकमत हुन नसक्ने अवस्थामा गठबन्धन दलहरूका बेग्लाबेग्लै मतहरूबाट साझा मत खोज्नुपर्ने आवश्यकता पनि औँल्याए ।
महामन्त्री शर्माले भन्नुभयो, ‘राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियडको जुन विषय थियो, त्यो विषयको सन्दर्भमा सम्मानीय सभामुखमार्फत छानबिन समिति बनेको छ, जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ । सँगै हामीले राज्यव्यवस्था समितिबाट सर्वसम्मत रुपमा अपिल गरेका छौँ, आह्वान गरेका छौँ, राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ । हामी सँगै बस्दैगर्दा सबै त्यो कुरामा सहमत पनि हुने, तर राष्ट्रिय सभामा फरक रुपमा संशोधन प्रश्ताव आइराखेर फेरि त्यसलाई दुर्घटनातर्फ लगियो भने स्वभाविक छ कि दुईवटा दलको हाम्रो जुन समझदारी हो, त्यो समझदारीमा एक ढंगको दरार उत्पन्न गर्छ । परिस्थितिको अत्यन्तै प्रतिकुलता र जटिलताको बिचबाट गठबन्धनको सरकार बनेको छ । यो सरकारको सफलता हाम्रा फरक मतहरूको बिचको साझा मतबाट बन्ने हो । एउटै दलभित्र पनि दुईवटा, तीनवटा दृष्टिकोणहरू हुन्छन् भने स्वाभाविक छ अहिले दुईवटा दल नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा पनि छ, सहकार्य पनि छ, फरक मत पनि छ र यसको बिचबाट साझा मतको खोजी गनु पनि छ । त्यसैले यो बेलामा सम्माननीय प्रधानमन्त्रीलाई यहाँबाट अपील गर्नुपर्यो । अहिले हामीबीच उत्पन्न हुँदै गरेको समस्या, दुईवटा कुराको सन्दर्भमा हामी फरक मतमा छौँ । यो दुईटै कुराको हल, हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीज्युले गम्भीरता राख्नुपर्छ ।’
महामन्त्री शर्माले गठबन्धनमा उत्पन्न समस्याको हल खोज्ने जिम्मा प्रधानमन्त्री ओलीको रहेको पनि स्पष्ट पारे ।