२०८२ साउन ९ गते शुक्रवार / Jul 25 , 2025 , Friday
२०८२ साउन ९ गते शुक्रवार
Ads

नाजिर हुसेनको अभिनयको चर्चा चुलियो

shivam cement
मध्यान्ह
२०८२ साउन ८ गते १४:२९
नाजिर हुसेनको अभिनयको चर्चा चुलियो

काठमाडौं : आउँदो भदौ १३ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ को गीतले सार्वजनिक भएदेखि नै सामाजिक सञ्जालमा सकारात्मक तरंग ल्याएको छ । लेखु सहयात्रीको शब्द रचना र संगीतमा तयार भएको ‘म फूल हुँ कि काँडा’ बोलको गीतमा गायिका मनिषा पोखरेलको स्वर सुन्न सकिन्छ ।

तर गीतभन्दा पनि यसको भिडियोमा देखिएको अभिनेता नाजिर हुसेनको भूमिकाले दर्शकहरूलाई झनै चकित बनाएको छ । गीतमा तेस्रोलिंगी महिलाको रूपमा प्रस्तुत भएका नाजिरको रूप, प्रस्तुति र अभिनय शैलीलाई लिएर युट्युबदेखि टिकटकसम्म प्रशंसा बटुलिएको छ ।

'के साँच्चै यो नाजिर नै हो ?'

गीत हेरेका धेरै दर्शकहरूले नाजिरलाई चिन्नसमेत मुस्किल भएको प्रतिक्रिया जनाएका छन् । युट्युबमा एक दर्शक रिसभ आले लेख्छन्, “साँच्चै भन्नुपर्दा मैले पुरै भिडियोमा नाजिरलाई चिन्न सकिन । दोस्रो पटक हेरेपछि मात्रै चिनेँ । उनको अभिनयलाई सलाम ।”

अर्का युट्युब प्रयोगकर्ता विजय थापाले लेखेका छन्, “नाजिर तिमी एक महान बहुमुखी अभिनेता हौ । उत्कृष्ट पात्रहरूमा अभिनय गरिरहनु । विवादहरूबाट जोगिऊ, तिमी अझ महान बन्नेछौ ।”

गीत सार्वजनिक भएयता नाजिर हुसेनको कामको सर्वत्र तारिफ भइरहेको छ । धेरैले उनको अभिनय क्षमताको खुलेर प्रशंसा गर्दै उनलाई अझ बढी ‘च्यालेन्जिङ’ भूमिकामा देख्न चाहेको प्रतिक्रिया दिएका छन् । युट्युबमा आएका अधिकांश प्रतिक्रियाहरूले गीतले मात्रै होइन, नाजिरको भूमिकाले समेत दर्शकको मुटु छोएको उल्लेख गरेका छन् ।

‘गुन्यु चोलो : द ड्रेस’ लैङ्गिक अल्पसंख्यक (पारालैंगिक) पात्रको कथामा आधारित नेपाली चलचित्र हो । फिल्मका निर्देशक समुद्र भट्ट हुन् भने मुख्य भूमिकामा नाजिर हुसेन छन् । उनीसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले अभिनय गरेका छन् ।

यो चलचित्र नेपालको पहिलो पूर्णरूपमा ट्रान्सजेन्डर स्टोरीमा आधारित फिल्म मानिएको छ । फिल्मको कथा, प्रस्तुति र विषयवस्तुले नेपाली समाजमा लैङ्गिक विविधताप्रति रहेको दृष्टिकोणमा बहस र चेतनाको खाकासमेत कोर्न सक्ने अनुमान गरिएको छ ।

चलचित्रको सम्पूर्ण पोस्ट-प्रोडक्सनको काम विदेशमा गरिएको छ । एडिटिङ, कलर ग्रेडिङ, साउन्ड मिक्सिङदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको सम्पूर्ण काम हलिउड शैलीमा तयार गरिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा ‘ग्ल्याडिएटर–२’ मा स्वर दिएकी हलिउडकी चर्चित गायिका लिजा जेरार्डको स्वर सुन्न सकिनेछ । त्यस्तै, ब्याकग्राउन्ड म्युजिक हलिउड संगीतकार मार्सेलो दी फ्रान्सिसीले तयार पारेका छन् ।

चलचित्र नेपाल फिल्म प्रोडक्सन र हलिउड फिल्म प्रोडक्सन हाउस बीचको सहकार्यमा बनेको हो । निर्माणमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी रहेको छ । कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन रहेका छन् भने अनुपम श्रेष्ठ सहयोगी निर्माताका रूपमा आबद्ध छन् । चलचित्रका छायाँकार आलोक शुक्ला हुन् ।

चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकास्थित बफेलो एट्ले नामक संस्थाले खरिद गरिसकेको छ । यति मात्रै होइन, यो फिल्म अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केट मा पनि छनोट भइसकेको छ ।

गीत सार्वजनिक भएयता फिल्मप्रति दर्शकको चासो अझै बढेको छ । फिल्मको विषयवस्तु, पात्रको प्रस्तुति र प्राविधिक पक्षले दर्शकलाई आशावादी बनाएको छ । विशेषगरी नाजिर हुसेनको दमदार अभिनय र फरक गेटअपलाई लिएर दर्शकहरू निकै उत्साहित देखिएका छन् ।

अबको केही सातामै प्रदर्शनमा आउन लागेको यो फिल्म नेपाली सिनेमामा समावेशी कथावाचन, सशक्त अभिनय र अन्तर्राष्ट्रियस्तरको प्राविधिक प्रयोगको प्रतिनिधि उदाहरण बन्ने अपेक्षा गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise