२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ, सत्ता साझेदार मुख्य दल एमाले र माओवादीको अड्को

ADV
सुनिल आउजी
२०८१ जेठ २३ गते २०:५३
सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ, सत्ता साझेदार मुख्य दल एमाले र माओवादीको अड्को

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएको १९ दिन पार हुँदा समेत सरकारलाई पूर्णता दिन सकेका छैनन् । 

सत्ता साझेदार मुख्य दल एमाले र माओवादी केन्द्रले मन्त्रीको नाम नदिँदा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । एमाले, माओवादी, एकीकृत समाजवादी, नाउपा रञ्जिता समूह र एक स्वतन्त्र सांसदको समर्थनमा सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तर विभिन्न लफडाका बीच सोडारीले जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत पाए । यद्यपि एमाले र माओवादीले अहिलेसम्म मन्त्रीको नाम पठाएका छैनन् । मुख्यमन्त्रीले नाउपाका दुई सांसदलाई समेटेर मन्त्रीपरिषद् गठन गरेका छन् ।

सत्ता साझेदार मुख्य दल  केन्द्रको निर्णय कुर्दै 

सोडारी सरकारमा मन्त्री पठाउने विषयमा एमाले र माओवादीले केन्द्रको निर्णय कुरिरहेका छन् । राजनीतिक नियुक्ति, प्रदेशमा भागबण्डा लगायतका विषयमा एकीकृत समाजवादीले अडान नछोड्दा शीर्ष नेताबिच सहमति जुटेको छैन । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल केही दिन अघि कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि विशेष गरी एमालेले असन्तुष्टि जनाएको छ । केही दिनदेखि सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच लगातार छलफल भएपनि सहमति जुट्न सकेको छैन । एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डले मधेश सरकार बनाउनका लागि एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग सहयोग मागेका छन् । तर नेपालले मधेश, सुदूरपश्चिम प्रदेश लगायत समग्र विषयमा प्याकेजमै सहमति गर्नुपर्ने अडान राखेका छन् ।

महत्वपूर्ण बैठकमा आफूहरूलाई बाइपास गरिएकोमा उनले असन्तुष्टि जनाएका छन् । शीर्ष नेतामा देखिएको विवादका कारण प्रदेश सरकार विस्तारमा ढिलाइ भएको एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । एकीकृत समाजवादीका अध्यक्ष नेपालकै भूमिकाका कारण समस्या आएको उनको आरोप छ । ‘प्रचण्ड र ओलीको निर्णय कुरेर बसेका छौँ । दुई नेता लगातार बैठक बसिरहेका छन् । निर्णय गर्लान् नि’, असन्तुष्टि पोख्दै रावलले भने, ‘माधवका कारण पनि समस्या देखिएको छ । सत्ता गठबन्धनमा पनि बस्ने, विपक्षी गठबन्धनमा जान खुट्टा पनि उच्चाल्ने १ यसरी समस्याको समाधान हुन्छ ?, उहाँको के चक्कर हो ?, अन्य सबै ठाउँमा सरकार बनिरहेका छन् । सुदूरपश्चिममा सरकार बन्न नदिन माधवले खेलिरहेका छन् ।’

माओवादी प्रदेश अध्यक्ष हरिराम चौधरीले पनि सरकारमा जाने विषयको सम्पूर्ण अधिकार माथिकै भएकाले निर्णय कुरेर बसेको बताए । ‘मन्त्रालय बाँडफाँट गर्ने विषयमा सहमति जुट्न आवश्यक छ । सरकारले पूर्णता नपाउनुमा माओवादीको कारणभन्दा पनि एमाले र एकीकृत समाजवादीबिच देखिएको द्वन्द्वका कारण समस्या आएको हो’, उनले भने, ‘विपक्षी दलले बोलाएको बैठकमा माधव नेपाल गएपछि प्रश्न उठ्नु स्वाभाविक छ । तर पनि नेताहरूबिचमा सहमति भएर अगाडि बढ्ने विश्वास लिएका छौँ ।’

एमालेका नेता तथा राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालकै कारण समस्या आएको जिकिर गरे । जसरी हुन्छ एमालेलाई कमजोर पार्ने खेलमा अध्यक्ष नेपाल लागेकाले सुदूरपश्चिम सरकार ढल्न सक्ने उनको भनाइ छ । ‘सत्ता गठबन्धनमा भए पनि माधवको मन अन्तै उडेको छ । उहाँ जसरी हुन्छ एमालेलाई कमजोर बनाउने खेलमा हुनुहुन्छ तर हामी होइन, आफैँ सकिन लागेका छन् । मधेसमा म निर्णायक हुँ भन्ने लागेको छ । केही फरक पार्दैन । वैकल्पिक व्यवस्था गरिन्छ । सुदूरपश्चिममा खुस्किनेवाला छ’, चेतावनी दिँदै दाहालले भने । एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई फकाउन प्रधानमन्त्री प्रचण्डले शुक्रबार, आइतबार र सोमबार एक्लाएक्लै र सामूहिक छलफल गर्दासमेत सहमति जुटेको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise