कपिलवस्तु : कपिलवस्तु जिल्लाको दक्षिण–पश्चिम सीमा नाकामा तस्करी नियन्त्रणबाहिर पुगेको छ । विदेशी पपकर्नदेखि कपडा, तरकारी र कबाडसम्म खुला रूपमा नेपालबाट भारत र भारतबाट नेपाल तस्करी भइरहेको स्थानीयबासीको आरोप छ ।
स्थानीयका अनुसार दैनिक करिब ८० क्विन्टल पपकर्न कृष्णनगर बजार क्षेत्रका खुला सीमाबाट भारत पठाइन्छ । ५ रुपैयाँ प्रतिकिलोको दरमा दिनभरि ३०–४० किलो बोकेर तस्करी गर्दा राजस्व चुहावट भइरहँदा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भन्सार कर्मचारीहरू मौन दर्शक बनेको गुनासो छ ।
तीज नजिकिँदै जाँदा चीप क्लोथ हाउस, मित्तल कपडा पसल र साडी संसारजस्ता व्यवसायीहरूले कपडा, साडी र सूट तस्करीमार्फत नेपालका आन्तरिक बजारमा आपूर्ति गरिरहेका छन् । यसले स्वदेशी व्यापारीहरूलाई प्रतिस्पर्धा गर्न असहज बनाएको व्यापारीहरूको गुनासो छ।
यस्तै, हप्तामा ७-८ डिसिएम तरकारी कृष्णनगर आइपुग्ने र तस्करहरूले ठेलामा राखेर ट्रान्समिटरसम्म पुर्याएर सुरक्षाकर्मीहरूको ड्युटी हुँदाहुँदै भारत पठाउने गरिएको छ । बिहान सबेरै फलफूलका क्यारेट–क्यारेट पनि नेपालतर्फ तस्करी हुने गरेको छ ।
कुकुरभुकवामा सशस्त्र प्रहरीको ड्युटी हुँदाहुँदै साइक्लद्वारा चामलको व्यापक तस्करी भइरहेको छ । यात्रीगेट, लिंकगेटलगायत स्थानबाट तस्करहरूले कपडा, कुर्ता र साडी प्लास्टिकमा राखी बाटो परिवर्तन गर्दै तीन–चार पटकमा नेपाल भित्र्याउने गरेका छन् ।
लक्ष्मीनगरबाट कबाड, टाइल्स र हार्डवेयर सामग्रीको तस्करी अझै रोकिएको छैन । सुरक्षाकर्मीहरूले कहिलेकाहीँ तस्करीका सामान पक्राउ गरे पनि तस्कर पक्राउ गर्न असफल भइरहेका छन् ।
तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी र भन्सार निकायको निष्क्रियताले सीमामा तस्करी झन् मौलाउँदै गएको स्थानीयको आरोप । जसले राज्यको राजस्व र इमानदार व्यापारी दुवैलाई ठूलो नोक्सानी पुर्याइरहेको छ ।