सामाजिक सञ्जाल र सञ्चार माध्यमको माहौल हेर्दा, पुराना तथा मुख्य राजनीतिक दलप्रति ठूलो वितृष्णा देखिन्छ । उनीहरूको विकल्प खोजिएको जस्तो आभास हुन्छ । जनता क्रमशः नयाँ दल तथा शक्तितर्फ आकर्षित हुँदै गरेको बुझाई पाइन्छ । यो असत्य पनि होइन, तर यो पूर्ण सत्य पनि होइन । किनकि पुराना तथा ठूला दलप्रति जनतामा अझै पनि ठूलो आशा र भरोसा छ । जुन बेला–बखत हुने विभिन्न खालका निर्वाचन र दलहरूकै सांगठनिक गतिविधिले प्रस्ट्याउँछ ।
२०७९मा भएको तीनै तहको निर्वाचन र त्यसयता भएका विभिन्न चरणका निर्वाचनले मुख्य दलप्रति नै जनताले विश्वास गरेको देखिन्छ । पछिल्लो पटक भएको स्थानीय तहको उपनिर्वाचन होस् वा स्ववियू निर्वाचन नै किन नहोस्, त्यसको परिणामलाई केलाउँदा जनता विकल्प खोज्ने अवस्थामा भएको देखिन्न । यी निर्वाचनको पूर्ण परिणामलाई हेर्दा, जनताले न व्यवस्थाको विकल्प खोजेको देखिन्छ, न त ठूला दलको विकल्प । बरु, ठूला दलहरूलाई सच्याउन जनताले विभिन्न शैलीमा मतलाई प्रयोग गरेका छन् ।
मुख्य तथा पुराना दलहरू जनमतमा कमजोर बन्दै गए भन्ने भाष्य बनाइँदै गर्दा, हालै मुख्य ३ दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को सक्रिय सदस्यता विवरण हेर्दा पनि दलहरू थप मजबुत हुँदै गएको देखिन्छ । कांग्रेसले सक्रिय सदस्यता संख्यामा झन्डै दोब्बरले वृद्धि गराएको छ । पछिल्लो केन्द्रीय समिति बैठकमा पेश प्रतिवेदनअनुसार सदस्य संख्या ८ लाख ७० हजार नाघेको छ । यता, एमालेको केन्द्रीय समिति बैठकमा पेश गरिएको प्रतिवेदनअनुसार एमालेले पनि गत वर्षभन्दा झन्डै डेढ लाखले बढाउँदै सदस्यता संख्या ६ लाख ८९ हजार पुर्याएको छ । यसैगरी, माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार सदस्यता संख्या ७ लाख ७६ हजार नाघेको छ ।
राजनीतिक स्थायित्व, सुशासन र जनताको जीवनस्तरमा सुधार ल्याउनु आजको आवश्यकता हो । तर, देशका मुख्य राजनीतिक दलहरू अझै पनि आपसी शक्ति संघर्ष, पद–प्राप्ति र प्रतिशोधको राजनीतिमा अल्झिएका छन् । यसले अनेकन् खालका प्रश्न उठाएको छ । जनतालाई विचलित बनाएको छ । कता–कता व्यवस्थामाथि नै प्रश्न उठाउने अवस्था बनाएको छ । त्यसैले अब ढिलो नगरीकन ठूला दलहरूले आफूले पाएको जिम्मेवारीको गाम्भीर्य बुझ्नुपर्छ । असहमतिका बिच पनि सहकार्य गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्छ । विकास, न्याय, रोजगारी र शिक्षाजस्ता आधारभूत मुद्दामा साझा दृष्टिकोण बनाउनेतर्फ ध्यान जानुपर्छ । यदि ठूला दलहरू अझै पनि सत्ता लोलुपताको मोहबाट मुक्त हुन सकेनन् भने त्यसको मूल्य देश र जनताले चुकाइरहने छन् । मुख्य दलहरू जिम्मेवार बन्नुको विकल्प छैन ।