२०८२ कार्तिक २७ गते बिहिवार / Nov 13 , 2025 , Thursday
२०८२ कार्तिक २७ गते बिहिवार
Ads

परीक्षामा प्रहरी प्रमुख

shivam cement
२०८२ कार्तिक २७ गते ०६:१०
Shares
परीक्षामा प्रहरी प्रमुख

नेपाल प्रहरीको ३३औं महानिरीक्षकका रूपमा दानबहादुर कार्कीले आजदेखि औपचारिक नेतृत्व सम्हाल्दै छन् । लामो प्रतिस्पर्धा पार गर्दै पहिलो वरीयताका आधारमा नेतृत्वमा पुगेका उनका लागि अबका २९ महिना आफ्नो क्षमता देखाउने वास्तविक परीक्षा हुनेछ । नेपाल प्रहरी अहिले आन्तरिक रूपमा कमजोर, बाह्य रूपमा दबाबपूर्ण र जनस्तरमा अविश्वासको घेराभित्र छ । यस्तो परिस्थितिमा उनले पाएको म्यान्डेट प्रशासनिक मात्र होइन, संवेदनशील सुरक्षा सम्हाल्ने, संगठनको खस्केको मनोबल उठाउने र विश्वसनीयता पुनस्र्थापित गर्ने ऐतिहासिक जिम्मेवारी पनि हो । 

जेनजी विद्रोह (२३–२४ भदौ)ले प्रहरी संगठन इतिहासकै कठिन मोडमा ल्याइपुर्‍याएको छ । संसद् भवन जोगाउने क्रममा भएको अत्यधिक बल प्रयोग र २२ प्रदर्शनकारीको मृत्युले प्रहरीलाई पूरै रक्षात्मक बनाइदियो । तीन प्रहरीको ज्यान गयो, सयौं घाइते भए, साढे ४ सयभन्दा बढी प्रहरी कार्यालयमा आगजनी र तोडफोड भयो । सयौं हतियार र हजारौं गोली लुटिए । यी सबै घटनाले प्रहरीलाई भौतिक रूपमा मात्रै होइन, मानसिक रूपमा पनि कमजोर बनाइदियो । संगठनभित्र आत्मबल पूरै गुमेको अवस्था छ । प्रहरीको बल आत्मविश्वासमा हुन्छ—त्यो पुनस्र्थापना नगरी संगठन प्रभावकारी हुन सक्दैन । यही आत्मविश्वास जगाउने जिम्मेवारी आइजिपी कार्कीको काँधमा आइपुगेको छ । 

जेनजी विद्रोहका क्रममा भएको प्रहरी दमनको छानबिन उच्चस्तरीय जाँचबुझ आयोगले गर्दै छ । दोषीमाथि कारबाही हुनैपर्छ । तर सोही घटनाकै कारण समग्र शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी कमजोर बन्नुहुँदैन । हिंसा भड्काएर एकै दिनमा सत्ता उलटफेर गरेको देखेका अदृश्य शक्ति पुनः आन्दोलन चर्काउने रणनीतिमा छन् । केही त्यस्ता समूहले आन्दोलनको घोषणा गरिसकेका छन् । संसद् पुनस्र्थापना कि आमचुनाव भन्नेमा पनि राष्ट्रिय राजनीति ध्रुवीकृत भइरहेको छ । त्यसले उत्पन्न गर्ने तनाव नियन्त्रणको जिम्मेवारी पनि प्रहरीकै हुनेछ । सबैभन्दा ठुलो चुनौती भनेको प्रमुख सुरक्षा अंगका रूपमा २१ फागुनको आमचुनावलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउने जिम्मेवारी पनि उसैको हुनेछ । लुटिएका हतियार अझै फेला नपर्नु, फरार कैदीबन्दीहरूको ठुलो संख्या जेलबाहिरै हुनु र दलहरूले आफ्नै सुरक्षा समूह बनाउने प्रवृत्तिले चुनावी सुरक्षालाई जटिल बनाएको छ । निष्पक्ष र हिंसारहित निर्वाचन सम्पन्न गराउनु कार्कीका लागि अर्काे ठुलो चुनौती हुनेछ । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप, स्रोतसाधनको कमी र संगठनभित्रको असन्तुष्टि पुराना रोग रोग हुन् । ती सबै अप्ठ्याराबीच नयाँ प्रहरी प्रमुखका लागि केही अवसर पनि छन् । प्रहरी संगठनलाई जनमुखी बनाउने, जनविश्वास पुनस्र्थापित गर्ने र कानुनी शासनको आधार पुनः मजबुत पार्न सके त्यो उनको ठुलो सफलता हुनेछ । 

ADV

सम्बन्धित खबर