काठमाडौं : चलचित्र ‘कोशेढुंगा’ को तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएलगत्तै अत्यधिक लोकप्रिय बनेको छ । डान्सिङ बिट र गहिरो सन्देशले सजिएको यो गीतले दर्शकमाझ व्यापक क्रेज बनाएको छ ।
निर्देशक सरोज पौडेलका अनुसार गीतमा अहिले सम्म २० हजारभन्दा बढी टिकटक भिडियो निर्माण भइसकेका छन् । युट्युबमा १० लाखभन्दा बढी भ्यु पाइसकेको यो गीत फेसबुकमा ७० लाखभन्दा बढीले हेरेको जानकारी पनि उनले दिएका छन् ।
“नेपाली संस्कृति समेटेर सभ्य र भव्य गीत दर्शकसामु ल्याएका थियौं,” निर्देशक पौडेलले भने, “दर्शकको साथ र माया अपेक्षाअनुसार पाएका छौं । दैनिक हजारौंले यो गीतमा भिडियो बनाइरहनुभएको छ ।”
गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको हुकलाइन र संगीत रहेको छ भने गायनमा खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दीपिका बयम्बु मगरको स्वर सुन्न सकिन्छ ।
तीजको पृष्ठभूमिमा रहेको गीतमा विवाहित र अविवाहित महिलाहरूको दृष्टिकोण मार्मिक ढंगले प्रस्तुत गरिएको छ । सुरक्षा पन्त र नीति शाहले अविवाहित पात्रको कल्पना र चाहनालाई अभिव्यक्त गरेका छन् भने ऋचा शर्माले विवाहित जीवनको प्रेम र समर्पण दर्शाएकी छन् ।
गीतको लोकप्रियतालाई थप प्रवर्द्धन गर्न निर्माण पक्षले टिकटक प्रतियोगिता घोषणा गरेको छ । अगस्ट २० सम्म प्रतियोगितामा भाग लिन सकिनेछ । सहभागीहरूले #नत्रभनेजिन्दगीव्यर्थछ ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।
यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउनेछन् ।
चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ रिलिज हुँदैछ । ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक पौडेलको यस नयाँ फिल्मप्रति दर्शकको अपेक्षा उच्च छ ।
नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्यमा बनेको चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी लगायत कलाकारको अभिनय छ ।
प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यति धेरै देशमा एकैपटक रिलिज हुन लागेको यो चलचित्रले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सक्ने निर्माण टिमको विश्वास छ ।