डोल्पा : हिमाली जिल्ला डोल्पामा निरन्तर भइरहेको वर्षाका कारण ठुली भेरी नदीमा पानीको बहाव तीव्र गतिमा बढिरहेको छ । लगातारको वर्षाले नदी किनाराका बस्तीहरूमा जोखिम बढाउनुका साथै विकास निर्माण कार्यहरूमा पनि प्रतिकूल असर पारेको छ ।
नदीमा बढेको बहावका कारण विशेषगरी डोल्पाको मुड्केचुला गाउँपालिका र रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको त्रिवेणीस्थित जगदुल्ला जलविद्युत आयोजनाअन्तर्गत निर्माणाधीन पक्की पुलको क्याम्पसाइटमा ठुलो क्षति पुगेको छ ।
जगदुल्ला नदी र भेरी नदीमा आएको बाढीका कारण निर्माणका लागि संकलन गरिएका ग्याबियन जाली, बालुवा, गिट्टी, फलामका पाइप, प्लाइवुड लगायतका निर्माण सामग्री सामग्रीहरू बगाएका छन् ।
पुल निर्माण कम्पनी हिराचन–क्याराभान जे.भी.का प्रोजेक्ट म्यानेजर ई. बादल बुढाका अनुसार बाढीले पुर्याएको क्षतिका कारण निर्माणकार्य थप प्रभावित भएको छ । 'प्रत्येक वर्ष वर्षायाममा नदीमा पानीको बहाव अत्यधिक हुने हुँदा काम अवरुद्ध हुन्छ,' बुढाले भने, 'यसपटक बाढीले निर्माण सामग्री नै बगाएपछि काम अझ कठिन भएको छ ।'
वर्षायामको समयमा वर्षेनी यी नदीमा बहाव उच्च हुने हुँदा पुल निर्माण कार्यमा ढिलाइ भइरहेको समेत उनले बताए ।
उक्त पुल समयमै निर्माण हुन नसक्दा डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला हाइड्रोपावर आयोजनामा समेत प्रतिकूल असर परेको छ । हाइड्रोपावर आयोजनाका लागि आवश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको हाइड्रोपावरले जानकारी दिएको छ ।
भेरी नदीमा बढेको बहावका कारण नदीको तटीय क्षेत्रमा अवस्थित डोल्पा सदरमुकाम दुनै, त्रिपुराकोट बगर बजार, कालागौडा र त्रिवेणी बजारलगायतका बस्तीहरूमा जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले नदीको तटीय क्षेत्रमा अवस्थित बस्तीहरुलाई वर्षाको समयमा आवश्यक सतर्कता अपनाउन र नदी आसपास नजान सबैलाई आग्रह गरेको छ ।