
काठमाडौं : अमेरिकी अदालतभित्र नेपाली नर्स ममता काफ्ले प्रकरणको सुनुवाई चल्दै थियो । अभियोजन पक्षका वकिल म्याथ्यु स्वीट प्रतिवादी नरेश भट्टसँग एकपछि अर्को प्रश्न गरिरहेका थिए । यसपटक उनको उद्देश्य घटनाक्रम बुझ्नु मात्र थिएन, नरेशले आफ्नो बयानमा गरेका विरोधाभास उजागर गर्नु पनि थियो ।
वकिलले नरेशको विश्वसनीयतामाथि सीधै प्रश्न उठाउँदै जिरह सुरु गरे ।
‘तिमी झुट हौ ।’
‘तिमीले प्रहरीलाई ढाट्यौ । अनुसन्धान अधिकारीलाई ढाँट्यौं । घरपरिवारलाई ढाट्यौं । साथीभाइलाई ढाट्यौं । मिडियालाई ढाट्यौं ।’
वकिलको यो कडा टिप्पणीपछि नरेशसँग भएका प्रश्नोत्तर थप तीखा हुँदै गए । ममता काफ्लेसँगको सम्बन्ध, उनीहरूको वैवाहिक जीवनमा आएको दरार र त्यसपछि भएका घटनाबारे वकिलले प्रश्न उठाए ।
फेब्रुअरी १६ का म्यासेजहरूलाई आधार बनाउँदै उनले नरेशलाई सोधे, ‘ममतासँग विवाद हुँदा तिमीहरूबीच नियमित रूपमा सम्बन्धविच्छेदको कुरा हुन्थ्यो, होइन ?
नरेशले स्वीकार गरे ।
नरेशले सन् २०२४ जुलाई ३० को मध्यरातमा घरको शयनकक्षमा ममता अचेत अवस्थामा भेटिएको बयान दिएका छन् । उनका अनुसार ममताको शरीर र भुइँमा बान्ता थियो भने नजिकै औषधि र विषादी पनि देखिएका थिए । नरेशले ममताको अवस्था देखेपछि आफूले बचाउने प्रयास गरेको दाबी गरे पनि प्रहरीलाई खबर गर्नुको सट्टा शव लुकाउने निर्णय गरेको स्वीकारेका छन् ।
अदालतमा वकिलले त्यसपछि के गर्नुभयो भनेर सोध्दा उनले शव बाहिरको फोहोर फाल्ने कन्टेनरमा राख्ने प्रयास गरेको जवाफ दिएका थिए । उनले शवलाई पोटोम्याक नदीतर्फ लैजाने र आराले टुक्र्याउने काम गरेको पनि स्वीकारेका छन् । ममताको शव अहिलेसम्म फेला परेको छैन ।
विवादका क्रममा दुवैजनाले आत्महत्यासम्बन्धी धम्की वा संकेत दिएका थिए भन्ने प्रश्नमा पनि उनले सहमति जनाए । ममताबाट आफू मानसिक र भावनात्मक रूपमा टाढिँदै गएको कुरा पनि उनले स्वीकार गरे । तर ममतालाई पूर्ण रूपमा अलपत्र छाडेको भने अस्वीकार गरे ।
वकिलले अब सम्बन्धको प्रसंग छाडेर घटनाको सबैभन्दा गम्भीर पाटोतर्फ प्रश्न सोझ्याए ।
‘यही हो तिमीले गर्ने माया ?’
वकिलले नरेशलाई ममताप्रतिको प्रेम र उनले गरेको व्यवहारबीचको विरोधाभास सम्झाए ।
ममता उनलाई माया गर्थिन् । तर नरेशले उनको शवसँग गरेको व्यवहार भने त्यसको ठीक विपरीत थियो ।
वकिलले प्रश्न गरे, ‘तपाईंले ममतालाई माया गर्नुहुन्थ्यो ? उनले पनि तपाईंलाई माया गर्थिन्, होइन ?’
नरेशले ‘हो’ भने ।
‘त्यसो भए तपाईंले उनलाई टुक्राटुक्रा पार्नुभयो ? यही हो तपाईंले गर्ने माया ?’ वकिलको प्रश्न थियो ।
नरेशले भने, ‘मलाई थाहा छ, त्यो माया होइन।’
वकिलले नरेशको जवाफमै अर्को प्रश्न थपे । उनले ममताको शव टुक्र्याएको मात्र नभई फोहोरको कन्टेनरमा कोचेर फालेको प्रसंग उठाए ।
वकिलले सोधे, ‘तपाईंले उनको शव फोहोरको कन्टेनरमा राख्नुभयो, होइन ?’
‘हो ।’ उनले भने ।
वकिलले अझ स्पष्ट जवाफ खोज्दै सोधे, ‘स्पष्ट भन्नुस् । तपाईंले उनको शव कन्टेनरमा फाल्नुभयो ?’
नरेश ‘एस’ भन्छन् ।
तर जिरह त्यतिमै रोकिएन । वकिलले शव टुक्र्याउनुको कारणबारे पनि प्रश्न गरेका छन् ।
‘कन्टेनरमा अटाउनकै लागि टुक्र्याउनुभयो ?’
यही प्रश्न नरेशका लागि सबैभन्दा असहज बन्यो ।
नरेशले शव फोहोरको कन्टेनरमा अटाउन नसकेपछि त्यसलाई टुक्र्याउने निर्णय गरेको बताएका छन् ।
वकिलले त्यसपछि आराको प्रयोगबारे प्रश्न गरे । नरेशले शवका तल्लो अंग छुट्याउन आरा प्रयोग गरेको स्वीकार गरेका छन् ।
उनले त्यसबेला आफ्नो मानसिक अवस्था ठीक नभएको र हातसमेत राम्ररी नचलेको बताएका थिए । तर आफूले शव टुक्र्याएको तथ्य भने अस्वीकार गरेनन् ।
वकिलले फेरि ममताप्रतिको प्रेमको प्रसंग जोडेर सोधे, ‘त्यो माया थिएन, होइन ?’
‘एस’ नरेशको जवाफ थियो ।
‘त्यो आफ्नी पत्नीमाथि गर्न सकिने अत्यन्तै भयानक व्यवहार थियो, होइन ?’ उनले फेरि सोधे ।
नरेशले स्वीकारे, ‘हो ।’
यसरी नरेशले ममताको शव टुक्र्याएको, त्यसलाई कन्टेनरमा अटाउने गरी व्यवस्थापन गरेको र शव लुकाउन खोजेको स्वीकार गरेका छन् । वकिलले त्यसपछि शव लुकाउने उद्देश्यबारे प्रश्न गरेका थिए । कसैले फेला नपारोस् भनेर शरीरका भागहरू झोलामा राखेर फोहोरमा फालेको हो भन्ने प्रश्नमा पनि नरेशले स्वीकारोक्ति जनाएका छन् ।
नरेशको बयानअनुसार ममता मृत अवस्थामा भेटिएपछि आफूले शव व्यवस्थापन गरेको उनको दाबी छ । उनले ममताको मृत्यु आत्महत्याका कारण भएको हुन सक्ने बताउँदै आएका छन् । तर अभियोजन पक्षको दाबी भने फरक छ । ममताको हत्या नरेशले नै गरेको अभियोजन पक्षको आरोप छ ।