२०८३ कार्तिक २१ गते शनिवार / Nov 07 , 2026 , Saturday
२०८३ कार्तिक २१ गते शनिवार

यात्राको सुरुआत : पारिवारिक आत्मीयता र नयाँ अनुभूति

Nada
प्रा.डा. महानन्द चालिसे/डा. दिवाकर वशिष्ठ
२०८३ कार्तिक २१ गते ०६:०५
Shares
यात्राको सुरुआत : पारिवारिक आत्मीयता र नयाँ अनुभूति

विजया दशमीको अवसर पारेर हामी सपरिवार काठमाडौंबाट पोखरा, स्याङ्जा वालिङ, पाल्पा, बुटवल र भैरहवा हुँदै नवलपुर जिल्लास्थित पवित्र तीर्थस्थल त्रिवेणीधामसम्मको यात्रामा निस्कियौं । यात्रा केबल एक स्थानबाट अर्को स्थानसम्म पुग्नु मात्र होइन । यो नयाँ भूगोलसँग परिचित हुने, इतिहासका पाना पल्टाउने अवसर पनि हो । यात्राका क्रममा देखिएका दृश्य, भेटिएका मानिस, सुनिएका कथा र अनुभव गरिएका घटनाले मानिसको सोचाइ र जीवनप्रतिको दृष्टिकोणलाई समृद्ध बनाउँछन् । धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमणले आध्यात्मिक शान्ति प्रदान गर्नुका साथै आफ्नो समाजको मौलिक्ता बुझ्ने अवसर दिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखराको विन्ध्यवासिनी भगवती मन्दिरबाट सुरु भएको हाम्रो यात्रा स्याङ्जा, वालिङ, पाल्पाको भैरवस्थान, बुटवल, भैरहवा र देवदह हुँदै त्रिवेणीधामसम्म पुगेर सम्पन्न भयो । यस यात्राले नेपालको भौगोलिक विविधता, धार्मिक आस्था, ऐतिहासिक सम्पदा र सांस्कृतिक वैभवलाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्‍यो । यस यात्राको विशेषता धार्मिक दर्शनमा मात्र सीमित थिएन । यसले नेपालको प्राकृतिक सुन्दरता, ऐतिहासिक गौरव र सांस्कृति पहिचानलाई नजिकबाट बुझ्ने अवसर पनि प्रदान गर्‍यो । 

विन्ध्यवासिनी भगवती : आस्था र भक्तिको केन्द्र  

पोखराको कास्की जिल्ला अवस्थित विन्ध्यवासिनी भगवती मन्दिरको स्थापना वि.स. १८४२ तिर भएको मानिन्छ । केही पर्यटनसम्बन्धी स्रोतहरूमा भने वि.स. १८४५ उल्लेख गरिएको पाइन्छ । नेपाल पर्यटन बोर्डका अनुसार, कास्कीका राजा सिद्धिनारायण शाहले नेपालको एकीकरण हुनुअघि भारतको विन्ध्याचलबाट देवीको मूर्ति पोखरा ल्याएको धार्मिक जनविश्वास रहेको छ । पोखराको पुरानो बजार क्षेत्रनजिक अवस्थित यस मन्दिरलाई हिन्दु धर्मावलम्बीले श्रद्धा र भक्तिको महत्त्वपूर्ण केन्द्रको रूपमा लिने गर्दछन् । विन्ध्यवासिनी भगवतीप्रतिको श्रद्धाले नेपाली समाजमा विद्यमान धार्मिक परम्परा, पारिवारिक संस्कार र सांस्कृतिक निरन्तरताको झलक दिन्छ । नेपालका मठमन्दिर केवल पूजाआजाका स्थल मात्र होइनन्, ती सामाजिक भेटघाट, पुस्तान्तरण हुँदै आएका परम्परा, स्थानीय कला र सामुदायिक जीवनका केन्द्रसमेत हुन् । यात्राका क्रममा भगवतीको दर्शन गर्नु र बेलुकी मन्त्रोच्चारणसहितको आरतीमा सहभागी हुनु मनमा नयाँ ऊर्जा, उत्साह र सकारात्मक भाव उत्पन्न गर्ने  अनुभव हो ।

स्याङ्जा र वालिङ यात्रा : प्रकृति, संस्कृति र ग्रामीण जीवनको झलक

पोखराबाट स्याङ्जा हुँदै वालिङतर्फ अघि बढ्दा नेपालको पहाडी भूगोलको वास्तविक सुन्दरता अनुभव गर्न सकिन्छ । घुमाउरा सडक, हरियालीले ढाकिएका डाँडाकाँडा, ग्रामीण बस्ती, खेतबारी र नदीका मनमोहक दृश्यले यात्रालाई रमणीय बनाउँछन् । स्याङ्जा कृषि, ग्रामीण जीवनशैली र प्राकृतिक सौन्दर्यका दृष्टिले परिचित जिल्ला हो । यहाँका बस्तीमा परम्परागत नेपाली जीवनशैली, सामाजिक सद्भाव र स्थानीय संस्कृतिको झलक देख्न पाइन्छ । वालिङ स्याङ्जाको प्रमुख व्यापारिक केन्द्रमध्ये एक हो । यहाँको बजारले ग्रामीण उत्पादन, कृषि, व्यापार र सेवामूलक गतिविधिबीचको सम्बन्धलाई उजागर गर्दछ । बजारमा देखिने चहलपहल, स्थानीय पसल र किनमेलमा व्यस्त मानिसहरूले ग्रामीण अर्थतन्त्रको गतिशीलता झल्काउँछन । पहाडी यात्राको अर्को विशेषता प्रकृतिसँगको निकटता हो । सडकका प्र्रत्येक घुम्तीबाट देखिने फरकफरक दृश्यले पहाडी भूभागको विविधता र सौन्दर्यलाई अनुभूत गराउँछन् । तथापि सडकको खाल्डाखुल्डी, अपूरो सडक विस्तार, अव्यवस्थित निर्माण तथा वन विनाशजस्ता समस्याप्रति सम्बन्धित निकाय र स्थानीय समुदाय सचेत हुन आवश्यक छ । विकास निर्माणका कामले यातयात र आर्थिक गतिविधिमा सहजता ल्याउनुपर्दछ, तर त्यसक्रममा प्राकृतिक वातावरण र स्थानीय बस्तीको संरक्षणलाई पनि उत्तिकै महत्त्व दिनुपर्दछ ।

पाल्पा भैरवस्थान : धार्मिक आस्था र ऐतिहासिक गौरव

पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका ४ मा अवस्थित भैरवस्थान मन्दिर यस क्षेत्रको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित छ । स्थानीय जनश्रुतिअनुसार, पाल्पाका राजा मुकुन्दसेन प्रथमले काठमाडौंबाट भैरवको मूर्ति ल्याई वि.स. १५७५ तिर यस मन्दिरको स्थापना गरेका थिए भन्ने विश्वास पाइन्छ । मन्दिरले पाल्पाको धार्मिक आस्था, ऐतिहासिक पहिचान र सांस्कृतिक परम्परामा महत्त्वपूर्ण स्थान ओगटेको देखिन्छ । भैरवस्थान मन्दिरको धार्मिक वातावरण, स्थानीय जनविश्वास र पुस्तादेखि चलिआएको परम्पराले यस स्थललाई विशिष्ट पहिचान प्रदान गरेका छन् । पाल्पा ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण जिल्ला हो । तानसेनको पुरानो बजार, परम्परागत वास्तुकला, रानीमहललगायत सम्पदाले यस क्षेत्रको ऐतिहासिक पहिचानलाई समृद्ध बनाएको छ । पाल्पाका यस्ता सम्पदाको अवलोकनले यात्रालाई थप अर्थपूर्ण बनाउनुका साथै नेपालको इतिहास, कला, वास्तुकला र स्थानीय संस्कृतिबारे बुझ्ने अवसर प्रदान गरेको छ । यसका लागि मन्दिरसम्म पुग्ने सडकलाई मर्मत सम्भार गरी सुरक्षित र व्यवस्थित बनाउन जरुरी देखिन्छ । साथै मन्दिरको मौलिक स्वरूप, धार्मिक परम्परा, ऐतिहासिक महत्त्व र वरपरको प्राकृतिक वातावरणको संरक्षणमा त्यत्तिकै ध्यान दिन जरुरी छ ।   

बुटवल र भैरहवा : पहाड, तराईको संगम र आर्थिक गतिशीलता

पाल्पाबाट बुटवल हुँदै भैरहवातर्फ अगाडि बढ्दा नेपालको भौगोलिक स्वरूपमा आउने परिवर्तन प्रत्यक्ष अनुभव गर्न सकिन्छ । यस यात्राले नेपालको भौगोलिक विविधता मात्र होइन, पहाड र तराई क्षेत्रबीचको सामाजिक तथा आर्थिक सम्बन्धलाई पनि नजिकबाट बुझ्ने अवसर प्रदान गर्‍यो । बुटवल लम्बिनी प्रदेशको प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्रमध्ये एक हो । यहाँको बजार, उधोग, यातयात र सेवामूलक गतिविधिले यस क्षेत्रको आर्थिक जीवन्ततालाई झल्काउँछन् । बुटवलले पहाडी क्षेत्रबाट आउने कृषि उपज तथा अन्य वस्तुको व्यापार र तराईका विभिन्न बजारसँगको आर्थिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । बुटवलबाट भैरहवातर्फ अगाडि बढ्दा तराईको फराकिलो भूभाग, कृषि क्षेत्र र विकसित बस्तीहरू देखिन्छन् । भैरहवा नेपालको महत्त्वपूर्ण सीमावर्ती व्यपारिक केन्द्र हो । भारतसँगको सीमापार अवागमन, व्यापारिक गतिविधि र गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका कारण यस क्षेत्रको आर्थिक तथा पर्यटकीय महत्त्व बढेको छ । यहाँको बजार र यातयात गतिविधिले सीमावर्ती क्षेत्रको अर्थतन्त्रमा व्यापार तथा सेवा क्षेत्रको भूमिका स्पष्ट पार्दछन् । भैरहवाको अर्को महत्त्वपूर्ण पक्ष लुम्बिनीसँगको निकट सम्बन्ध हो । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बी तथा अन्य पर्यटकका लागि महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक गन्तव्य हो । भैरहवा र लुम्बिनीलाई व्यवस्थित यातायात, गुणस्तरीय पर्यटकीय सेवा र प्रभावकारी प्र्रचारप्रसारमार्फत अझ सशक्त रूपमा जोड्न आवश्यक देखिन्छ । यसबाट धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास हुनुका साथै स्थानीय व्यवसाय र रोजगारीका अवसर विस्तार हुन सक्छ । यसक्षेत्रमा व्यवस्थित सडक सञ्जाल, सुरक्षित यातयात, स्वच्छ वातावरण, प्रभावकारी फोहोर व्यवस्थापन र पर्यटकमैत्री सेवाको विकासमा ध्यान दिन जरुरी छ ।

गौलोचन वा गोरचन : जनविश्वास, परम्परा र वैज्ञानिक खोज

रुपन्देही जिल्लाको देवदह नगरपालिका ८, पाकरी गाउँमा पाकरी वृक्षको अवलोकन भ्रमणका क्रममा स्थानीय व्यक्तिहरू खेमानन्द ज्ञवाली र विष्णु ज्ञवालीबाट गौलोचन (गोरचन)सम्बन्धी एउटा रोचक जनश्रुति सुनियो । उहाँहरूका अनुसार करिब २० वर्षअघि चारवटा गाईको मुखबाट क्रमशः साना डल्लाजस्ता पदार्थ निस्किएको घटना थियो । हालसम्म पनि उक्त पदार्थलाई दूधमा डुबाएर राख्ने गरिएको रहेछ । त्यसबाट रौं उम्रिने वा चलायमान हुनेजस्ता असामान्य विशेषता देखिएको भन्ने सुनियो । स्थानीय समुदायमा उक्त पदार्थलाई विशेष महत्त्वका साथ हेर्ने गरिएको र यसलाई शुभ मानिने विश्वास रहेको जानकारी प्राप्त भयो । गौमणि वा गौलोचन नामकरण गरिएको यी पदार्थसम्बन्धी जनश्रुति स्थानीय धार्मिक तथा सांस्कृतिक विश्वासको रोचक पक्ष हो । हिन्दु परम्परामा गाईलाई पवित्रता, ममता र समृृद्धिको प्रतीक मानिने भएकाले गाईसँग सम्बन्धित असामान्य घटनाले स्थानीय समुदायमा विशेष चासो र धार्मिक आस्था उत्पन्न गर्नु स्वभाविक हो । यस्ता घटनाले स्थानीय समाजमा प्रचलित धार्मिक मान्यता, लोकविश्वास र सांस्कृतिक परम्पराबारे बुझ्न सहयोग पुग्दछ । परम्परागत हिन्दु मान्यतामा गोरचनलाई धार्मिक महत्त्व भएको सौभाग्य र समृृद्धिको प्रतीकका रूपमा उल्लेख गरिएको पाइन्छ । केही परम्परामा यसलाई शुभताको प्रतीक मानिन्छ र धार्मिक अनुष्ठानमा यसको प्रयोगसम्बन्धी विश्वास पनि प्रचलित छ । स्थानीय जनविश्वासको सम्मान गर्दै यस घटनासँग सम्बन्धित विवरण र गोरचन वा गौलोचनलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्दै वास्तविक अवस्था पहिचानबारे वैज्ञानिक अध्ययन र अनुसन्धान र यसको प्रवर्धन गर्नेतर्फ सम्बन्धित निकायले बेलैमा चासो दिन जरुरी देखिन्छ ।  

पाकरी वृक्ष : प्राकृतिक सम्पदा, जनविश्वास र सांस्कृतिक पहिचान 

यो वृक्ष नेपालको लम्बिनी प्रदेश, रुपन्देही जिल्लाको देवदह नगरपालिका ८, पाकरी गाउँमा अवस्थित छ । स्थानीय जनविश्वासअनुसार यो वृक्ष गौतम बुद्धको समयसँग सम्बन्धित देखिन्छ । यो करिब २५०० वर्षभन्दा पुरानो मानिन्छ । विशाल अद्भूत पाकरी वृक्षलाई एसियाकै सबैभन्दा ठुलो र पुरानो रुखमध्ये चिनिन्छ । सदावहार यस वृक्षको गिँड (ट्रंक) करिब ८२ फिट उचाइ ९६ फिट पराकिलो रूपमा फैलिएका हाँगाहरूको परिधि करिब ५०० फिट रहेको छ । पाकरी वृक्षलाई शुभ र पवित्र मानिएको छ । यस वृक्षसँग सम्बन्धित आश्चर्यजनक रहेका केही अद्वितीय तथ्यहरू, पौराणिक तथा धार्मिक विश्वास कायम भएको देखिन्छ । पुरातत्त्व विभागले गरेको सर्वेक्षणअनुसार विशाल पाकरी वृक्ष शाक्य वंशको पालादेखि रहेको अनुमान गरिएको छ । प्राचीन कोलिया राज्यमा होम यज्ञ गर्नका लागि प्रयोग गरिएको पावन स्थानबाट पाकरी वृक्षको उत्पत्ति भएको मानिएको छ । यो ठाउँ आफ्नो मातारानी मायादेवीको जन्मस्थलबाट निकै नजिक भएकाले भगवान् गौतम बुद्धले यस वृक्षमुनि योगसाधना गरेको हुन सक्ने दृढ विश्वासका कारण यस वृक्षको भगवान् बुद्धसँग ऐतिहासिक सम्बन्ध रहेको बुझिन्छ । पाकरी वृक्ष वर्षभर सदावहार रहन्छ र यसको नामबाट वरिपरिको क्षेत्र पाकरी गाउँ भनेर चिनिन्छ । वृक्षमा केही गोमन सर्पहरू (नागहरू) बस्ने गरेको र बर्सांैदेखि यस वृक्षको रक्षा गर्दै आइरहेको जनविश्वास छ । गिद्ध, चिल आदिजस्ता चराहरूले यस वृक्षमा गुँड बनाउँदैनन् । न त विश्राम नै गर्दछन् । हाँगाहरू जमिन सतहबाट निकै नजिक रहे तापनि हात्ती कहिल्यै पनि वृक्षको वरिपरि आउँदैनन् । हिन्दु देवीदेवतालाई झल्काउने वृक्षका भव्य हाँगा र जराहरूमा देखिने विभिन्न मूर्तिरूपी आकारलाई स्थानीय बासिन्दाले पूजा गर्दै आएको देखिन्छ र वृक्षलाई हानि पुर्‍याउन खोजे केही अशुभ वा खतरा निम्तिन सक्ने भय सबैमा छ । यसको संरक्षणका लागि वरपरको क्षेत्र सफा राख्ने, जरामा असर पर्ने गरी निर्माण नगर्ने, हाँगाबिँगा अनावश्यक रूपमा नकाट्ने र आगलागी तथा प्रदूषणबाट जोगाउने काम आवश्यक देखिन्छ । पाकरी वृक्षलाई केवल हेर्ने पर्यटकीय वस्तुका रूपमा नभई प्राकृतिक र सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ । 

त्रिवेणी मोक्षधाम : धार्मिक आस्था, नदी सभ्यता र प्रकृति संरक्षण

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका ६ मा अवस्थित त्रिवेणाीधामको धार्मिक इतिहास प्राचीन धार्मिक ग्रन्थ तथा जनविश्वाससँग जोडिएको छ । यहाँस्थित गजेन्द्रमोक्ष नारायण मन्दिरको स्थापना वि.स २०७५ फागुन १९ मा भएको हो । देवदहको ऐतिहासिक क्षेत्रको अवलोकनपछि यात्राको अन्तिम गन्तव्य त्रिवेणी मोक्षधामतर्फ अगाडि बढ्दा यात्राको स्वरूप फेरि धार्मिक तथा आध्यात्मिक अनुभूतितर्फ केन्द्रित हुन्छ । त्रिवेणीधाम धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको तीर्थस्थल हो । यसलाई गजेन्द्रमोक्ष धामका रूपमा पनि चिनिन्छ । धार्मिक मान्यताअनुसार यहाँको नदी संगममा स्नान तथा पूजाआजा गर्दा पुण्य प्राप्त हुने विश्वास छ । त्रिवेणीलाई नेपालको महत्त्वपूर्ण तीर्थस्थलमध्ये एक भनिन्छ । नारायणी नदीले खानेपानी, सिँचाइ, जैविक विविधता र स्थानीय जीविकोपार्जनमा योगदान पुर्‍याएको देखिन्छ । नदीमा फोहोर फाल्ने, प्लास्टिकजन्य सामग्री छाड्ने, पानीको प्राकृतिक बहाव अवरुद्ध गर्ने र नदी किनारमा अव्यवस्थित निर्माण गर्ने कार्यले धार्मिक तथा पर्यावरणीय दुवै महत्त्वमा असर पार्ने हुँदा यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी देखिन्छ । त्रिवेणी मोक्षधामको विकास गर्दा स्वच्छता, नदी संरक्षण, सुरक्षित यातयात, पर्यटनसँगै प्रकृति अवलोकन र सांस्कृतिक अध्ययनको गन्तव्यका रूपमा विकास गर्न जरुरी छ । 

धार्मिक पर्यटन : स्थानीय समृद्धि र दिगो विकासको बाटो

काठमाडौं हुँदै पोखरा र त्रिवेणीधामसम्मको यात्राले नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटनको व्यापक सम्भावना उजागर गर्दछ । एउटै यात्रामा हिन्दु तथा बौद्ध सम्पदा, प्राचीन सभ्यताका अवशेष, ऐतिहासिक मन्दिर, विशाल वृक्ष र नदीको संगमजस्ता विविध आकर्षणको अवलोकन गर्ने अवसर मिल्यो । यस्ता गन्तव्यलाई एकीकृत पर्यटकीय मार्गका रूपमा विकास गर्न सके स्थानीय रोजगारी सिर्जना, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण र राष्ट्रिय आय वृद्धिमा योगदान पुग्न सक्छ । यस्ता धार्मिक पर्यटनको विकासले होटल, यातयात, भोजनालय, हस्तकला, कृषि उत्पादन तथा अन्य सेवामूलक व्यवसायलाई प्रोत्साहन गर्न सक्छ । विशेषगरी स्थानीय युवालाई आफ्नै क्षेत्रमा रोजगारी र उद्यमशीलताको अवसर प्रदान गर्दै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउनसमेत सहयोग पुग्न सक्छ । तर यस्ता सम्भावनालाई वास्तविक आर्थिक उपलब्धिमा रूपान्तरण गर्न पर्यटनस्थलसम्मको सहज पहुँच, स्पष्ट दिशासूचक, स्वच्छ शौचालय, खानेपानी, फोहोर व्यवस्थापन, सुरक्षित पार्किङ र भरपर्दो सूचना सेवाजस्ता आधारभूत पूर्वाधारको विकास आवश्यक छ । त्यस्तै, धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय तह, पर्यटनसम्बन्धी निकाय, पुरातत्त्वविद्, धार्मिक संस्था र स्थानीय समुदायबीच प्रभावकारी समन्वयको जरुरी पर्दछ । पर्यटन विकासको उद्देश्य पर्यटक भित्र्याउनु मात्र नभई स्थानीय समुदायको जीवनस्तर सुधार्नु, प्राकृतिक स्रोतको संरक्षण गर्नु र सांस्कृतिक पहिचानलाई जीवन्त राख्नु पनि हो । यात्राको वास्तविक उपलब्धि गन्तव्यमा पुग्नु मात्र होइन, त्यस यात्राबाट इतिहासको सम्मान गर्न, प्रकृतिको संरक्षण गर्न, संस्कृतिप्रति गौरव गर्न र सामाजिक सद्भाव बढाउन सिक्नु हो । तसर्थ आस्था हाम्रो मानसिक शक्ति हो, इतिहास हाम्रो पहिचान हो र प्रकृति हाम्रो जीवनको आधार हो । यी तिनै पक्षको संरक्षण गर्न सके धार्मिक तथा सांस्कृतिक पर्यटन नेपालको स्थानीय अर्थतन्त्र, मौलिक पहिचान र दिगो समृद्धिको महत्त्वपूर्ण आधार बन्न सक्छ भन्नुमा कसैको विमति नरहला ।

(लेखक प्रा.डा. चालिसे त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन हुन् भने डा. वशिष्ठ बैंक तथा वित्तीय संस्थाविज्ञ हुन् ।)

laxmi recruitement

सम्बन्धित खबर