काठमाडौंः अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले श्रमिकका अधिकारहरु कटौति हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेकाा छन् ।
काठमाडौंमा ट्रेड युनियन महासंघहरुले आयोजना गरेको जलवायु परिवर्तनले देशमा पारेको असरबारे सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको श्रम क्षेत्रमा जुरेको जस्तै पहिरो आएको टिप्पणी गरे । श्रमिकका अधिकारहरु बढारेर लगिएको जिकिर गरे । उनले श्रमिकले आफ्ना अधिकारहरु देख्न र भोग्न नपाउने जस्तो स्थिति बनेको बताए । श्रमिकहरुले अहिले धेरै दुःख र पीडा महसुस गरिरहेको उनको भनाइ छ ।
उनले भने, ‘अब अहिले कस्तो छ भने कहिले श्रम क्षेत्रमा जुरेको पहिरो आएको छ भएको छ । हाम्रो अधिकारको निम्ति बढारेर लिएर गएको छ । कहिले रसुवामा आएको बाढी जस्तो छ । अधिकार भन्नेकुरा हामीले भोग्न, देख्न नपाउने स्थिति पनि छ । सामाजिक संवादको विषय न्यायिक रुपान्तरणको सवालमा अहिले नेपालको सन्दर्भमा एउटा ठूलै उथलपुथल भयो भने त्यो सामाजिक संवाद, ऐन, कानुन संविधानले दिएको अधिकार हामीले पाउने र रक्षा हुने स्थिति होला । तर आजको दिनमा एकदम पीडा र दुःखको अवस्थामा भएका अधिकार कटौति हुँदै जाने स्थिति सिर्जना भएको छ ।’
कार्यक्रममा बोल्दै ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनको असर नेपालमा पछिल्लो समय अत्याधिक बढिरहेको बताए । यसले श्रमिकहरुलाई सबैभन्दा बढी समस्यामा पारेको उनको भनाइ छ । वातावरणीय प्रकोपबाट सबैभन्दा ठूलो असर श्रमिक वर्गमा परेको र उनीहरु रोजगारीबाट विमुख भइरहेको बताए ।
उनले भने, ‘वातावरणीय प्रभाव पछिल्लो समय अत्याधिक मात्रामा देखिन थालेको छ । हाम्रो कन्टिब्युसन अत्यन्त न्युन छ । छँदै छैन भन्दा पनि हुन्छ । तर सबैभन्दा बढी भार बोक्नुपर्ने स्थिति बनिरहेको छ । वातावरणीय प्रकोपबाट सबैभन्दा ठूलो असर श्रमिक वर्गमा परिरहेको छ । उनीहरु रोजगारीबाट विमुख भइरहेका छन् । उनीहरुले क्षतिपूर्ति पाउने स्थिति बनिरहेको छैन । फण्डहरुसँग लक्षित वर्गमा जोड्न सकेका छैनौँ ।’