काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि गरिएको मूल्यांकनमा देशको आर्थिक वृद्धिदर, मानव विकास सूचकांक र शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार निर्णायक भएको बताएका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा एलडिसी ग्रेजुएसनसम्बन्धी अध्ययन प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले कोरोना महामारीको असरका बाबजुद नेपालको अर्थतन्त्र नकारात्मक दिशामा नजानु एक महत्वपूर्ण उपलब्धि भएको बताए । उनले कोरोना महामारीपछिको सरकारको मिहिनेत र कदमले पुनःस्थापना क्षमताले नेपाललाई एलडिसीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि उपयुक्त देश बनाएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले सन् २०२६ मा विकासशील राष्ट्रमा उस्तरोन्नति हुँदासम्म कुनैपनि मापदण्डहरु बाँकी नराख्ने समेत बताए । उनले अध्ययन प्रतिवेदनले सुझावका आधारमा सरकार अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
नेपालले सन् २०१० देखि नै आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएको भए अहिलेसम्म अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन सकेको छैन ।
प्रतिव्यक्ति कूल राष्ट्रिय आय, मानव सम्पती सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकका शर्तहरू पूरा गरेपछि स्तरोन्नति हुने विश्वव्यापी मान्यता छ । यी शर्तहरूमध्ये संयुक्त राष्ट्र संघले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्यांकनमा नेपालको मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांक पूरा गरेको भए पनि अहिलेसम्म विभिन्न कारणले स्तरोन्नति हुन सकेको छैन ।