काठमाडौँ : बागमती प्रदेशका नवनियुक्त ३ मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ । दिउँसो १ बजेका लागि कांग्रेसका नवनियुक्त ३ मन्त्रीहरू शपथ ग्रहण कार्यक्रम हुने भएको हो ।
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्त गरेका मन्त्रीहरू गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठले आज शपथ ग्रहण गर्नेछन् ।
बुधबार सत्ता साझेदार दल एमालेले ध्यानाकर्षण भएको जनाएपछि मन्त्रीहरूको शपथ ग्रहण रोकिएको थियो । कांग्रेसको आन्तरिक विवाद उच्च भइरहेको र संसदीय दलको नेताका लागि मतदान प्रक्रिया जारी रहेकाले एमालेले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो ।
मुख्यमन्त्री लामाले रिक्त ५ मन्त्रालय मध्ये ३ वटामा मन्त्री नियुक्त गरेर बुधबार बिहान शपथका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । उनले चितवनकी माया श्रेष्ठ, गीता गुरुङ र धादिङका गोविन्द लम्साललाई मन्त्री बनाएका हुन् ।
मुख्यमन्त्री लामाले मन्त्री नियुक्त गरेका लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णय सहित प्रदेश प्रमुखसमक्ष पत्राचार गरेका छन् ।