२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

Nada
२०८२ साउन १६ गते १४:४७
Shares
अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भइ सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन् ।

ncell

काठमाडौंमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको बताए । सूचना प्रविधिको क्षेत्रमा भएको विकासले विभिन्न देश धेरै अगाडि पुगेका उनको भनाइ थियो ।

‘नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र सूचना प्रविधिको संरचनाको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको छ’, सञ्चारमन्त्री गुरुङले भने । सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर विस्तारै राज्यले निर्माण गर्ने उनले विश्वास दिलाए ।

‘यो वर्ष हामी सूचना प्रविधि सम्बन्धी संरचना निर्माण गर्नेदेखि फोर जी घर घर पुर्‍याउने र फाइभ जी लञ्च गर्ने भएका छौँ’, नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै हो ।’

कार्यक्रममा क्यानका अध्यक्ष सुनैना घिमिरेले युवाले सूचना प्रविधिका माध्यमबाट नवीन कार्य सुरु गरेर स्वदेशमै रोजगारका प्रशस्तै अवसर प्राप्त गरिरहेका उदाहरण दिए । ‘मेहनत गर्ने र सूचना प्रविधि सम्बन्धी ज्ञान राख्नेलाई आयआर्जन गर्न दुःख छैन’, उनले भने, ‘क्यानले यस्ता युवालाई सहयोग र प्रोत्साहनसमेत गर्दै आएको छ ।’ 
 

सम्बन्धित खबर