दोहा, कतार : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसीसी) कतारले हटलाइन नम्बर सार्वजनिक गरेको छ । एनसीसीको ११औं राष्ट्रिय एकता महाधिवेशनमार्फत अध्यक्षमा निर्वाचित भएसँगै आफ्ना प्रतिबद्धतामक भनाइ राख्ने क्रममा अध्यक्ष कृष्ण पन्थीले श्रमिकका लागि हटलाइन नम्बर सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अध्यक्षको प्रतिबद्धताअनुसार बिहीबार साँझबाट ७०००१३५३ को नम्बर सार्वजनिक गरिएको हो ।
कतारमा समस्यामा परेका श्रमिकले आफ्ना समस्या एनसीसी कतारसमक्ष सिधै फोन र ह्वाट्सएपमार्फत राख्न सक्नेछन् । श्रमिकका गुनासा र समस्या संघका द्वितीय उपाध्यक्ष सन्तोष पौडेलले टिपोट गरी आवश्यक समन्वय तथा सहयोग बढाइने भएको छ । श्रमिकको सहायताका लागि निःशुल्क फोटोकपी मेसिनसहित छिट्टै श्रमिक सहायता डेस्कको स्थापना गरिने अध्यक्ष पन्थीले प्रतिबद्धता व्यक्त गरेका छन् ।