२०८३ कार्तिक २१ गते शनिवार / Nov 07 , 2026 , Saturday
२०८३ कार्तिक २१ गते शनिवार

घोडा बहुलायो

Nada
डा. राजन केसी
२०८३ कार्तिक २१ गते ०६:००
Shares
घोडा बहुलायो

घोडा बहुलायो
धेरै सेवा गर्‍यो मेरो,
बाल्यकालदेखि नै
मेरो छायाजस्तै
सँगै हिँडिरह्यो ।
मैले सेवा गरेँ कि उसले गर्‍यो
समयले छुट्याउनै सकेन ।
मैले उसलाई
यथेष्ट दानापानी खुवाएँ,
ऊ बलियो हुँदै गयो,
बिस्तारै
अझ जवान र बलवान् हुँदै गयो ।
उसको बेलगाम सेवाले
म नतमस्तक भएँ ।
मलाई पुग्नुपर्ने ठाउँमा
समयमै पुर्‍याउँथ्यो,
मलाई देखेपछि
आफ्नै आवाजमा बोलाउँथ्यो ।
घोडा
मेरो उमेरभन्दा पनि ठुलो थियो,
तर ऊ
मेरो लगामको इसारामा हिँड्थ्यो ।
मायाले, विश्वासले
मैले लगाम खुकुलो पारिदिएँ,
बाको पालादेखिको तबेला
उसकै लागि खुला गरिदिएँ ।
ऊ समयमा घर आउँथ्यो,
नियममा बस्थ्यो,
आदेश मान्थ्यो,
आफ्नै सीमाभित्र हिँड्थ्यो ।
तर एकदिन—
अचानक घोडा बिरामी पर्‍यो ।
उसको हाउभाउ फेरियो,
चाल फेरियो,
आँखामा अहंकार पलायो ।
गाउँलेहरू जम्मा भए,
कसैले भन्यो–
‘घोडा बहुलायो ।’
कसैले भन्यो–
‘यसलाई नियन्त्रण गर्नुपर्छ ।’
तर मेरो चिन्ता
घोडाभन्दा पनि
बाको पालादेखिको
त्यो पुरानो लगाममा थियो ।
मैले लगाम समात्न खोजेँ,
उसले हातै झट्कारिदियो ।
मैले आदेश दिएँ,
उसले सुन्नै मानेन ।
अब ऊ
मेरो इसारामा होइन,
आफ्नै इच्छामा दौडिन थाल्यो ।
त्यसपछि गाउँलेहरू फेरि कराए–
‘घोडा बहुलायो !’
तर मैले मनमनै सोचेँ–
घोडा त आज बहुलायो,
तर यसको बीउ
हिजै रोपिएको थियो ।
शक्ति दिँदा
कर्तव्य बिर्सियो भने,
विश्वास दिँदा
सीमा बिर्सियो भने,
लगाम छोड्दा
स्वेच्छाचारिता जन्मिन्छ ।
त्यसैले प्रश्न
‘घोडा बहुलायो कि बहुलाएन ?’
भन्ने मात्र होइन ।
प्रश्न त यो हो–
लगाम कसले छोड्यो ?
त्यो लगाम कसले खोल्यो ?
र घोडालाई
यति बलवान् कसले बनायो ?
किनकि
घोडा बहुलाउँदा
एउटा घोडा मात्र दौडिँदैन–
कहिलेकाहीँ
सम्पूर्ण गाउँको शान्ति
दौडिन थाल्छ ।
घोडा बहुलायो...
अब लगाम कसले समाउने ?

laxmi recruitement

सम्बन्धित खबर