२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

प्रसुनालाई मिस ब्युटिफुल, प्रियालाई मिसेस ब्युटिफुलको उपाधि

shivam cement
मध्यान्ह
२०८२ साउन १६ गते २०:२०
प्रसुनालाई मिस ब्युटिफुल, प्रियालाई मिसेस ब्युटिफुलको उपाधि

काठमाडौं : सौन्दर्य, व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिमा केन्द्रित प्रतियोगिता ‘मिस ब्युटिफुल नेपाल’को १०औं तथा ‘मिसेस ब्युटिफुल नेपाल’को नवौं संस्करण सम्पन्न भएको छ । दक्ष इन्टरनेसनल प्रालिको आयोजनामा नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियन हलमा आयोजित ग्राण्ड फिनालेमा ‘मिसेस ब्युटिफुल नेपाल–२०२५’को उपाधि प्रिया कार्कीले जितिन् भने ‘मिस ब्युटिफुल नेपाल–२०२५’को उपाधि प्रसुना सेन्चुरीले हात पारिन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली चलचित्र, संगीत र फेसन क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । निर्णायक मण्डलको नेतृत्व वरिष्ठ अभिनेता तथा निर्देशक रमेश बुढाथोकीले गरेका थिए । साथमा अभिनेत्री सनी रौनियार, अभिनेता रमेश उप्रेती, गायक बुद्ध लामा, डान्स कोरियोग्राफर केशव थापा, अभिनेत्री शिल्पा पोखरेल र शिक्षाविद मन कुमारी पोखरेल निर्णायकका रूपमा सहभागी थिए ।

‘मिसेस’ वर्गतर्फ प्रमुख उपाधिसँगै प्रिया कार्कीले ‘भ्युअर्स च्वाइस’, ‘बेस्ट फोटोजेनिक’ र ‘उत्कृष्ट व्यक्तित्व’ उपाधिसमेत हात पारिन् । प्रतियोगितामा पारु खड्का प्रथम उपविजेता घोषित भइन् भने उनले ‘मस्ट पपुलर’, ‘बेस्ट स्माइल’ र ‘उत्कृष्ट नृत्य’ उपाधिसमेत प्राप्त गरिन् । द्वितीय उपविजेता मोनिका शर्माले ‘उत्कृष्ट र्‍याम्प वाक’को उपाधि जितिन् । यस्तै, ‘उत्कृष्ट अनुशासित’ उपाधि मनिषा गुरागाईंले, ‘उत्कृष्ट पंकच्युअल’ र ‘उत्कृष्ट प्रतिभा’का उपाधि अनिता राज भण्डारीले प्राप्त गरिन् ।

‘मिस’ वर्गतर्फ प्रसुना सेन्चुरीले मुख्य उपाधिसँगै ‘मस्ट एक्टिभ’को उपाधि पनि जितिन् । श्रेया वाग्ले प्रथम उपविजेता घोषित भइन् भने उनले ‘उत्कृष्ट शारीरिक बनोट’ र ‘उत्कृष्ट पंकच्युअल’ उपाधिसमेत प्राप्त गरिन् । द्वितीय उपविजेता विपना भट्टराई ‘फेशन आइकन’ र ‘उत्कृष्ट नृत्य’ विजेता पनि बनिन् । तृतीय उपविजेता सोनिया रञ्जितले ‘भ्युअर्स च्वाइस’ र ‘मस्ट फ्रेन्ड्ली’ उपाधि जितिन् ।

अन्य उपाधिहरूमध्ये ‘मस्ट पपुलर’ र ‘उत्कृष्ट फोटोजेनिक’ एलिना कार्की, ‘उत्कृष्ट प्रतिभा’ र ‘उत्कृष्ट र्‍याम्प वाक’ अनुग्रह घिमिरे, ‘उत्कृष्ट अनुशासित’ सपना कुमारी शहनी र ‘उत्कृष्ट मुस्कान’ प्रमिला न्यौपानेले जिते ।

आयोजकका अनुसार प्रतियोगिता केबल सौन्दर्य प्रदर्शनमा सीमित नरही आत्मविश्वास, नेतृत्व, सार्वजनिक प्रस्तुति र सामाजिक उत्तरदायित्व विकासमा केन्द्रित थियो । प्रतियोगीहरूलाई कार्यक्रम पूर्व गुरुकुल शैलीको विशेष प्रशिक्षण, सञ्चार कला, फेसन डिजाइन, व्यक्तित्व विकास र स्टेज प्रस्तुतिसम्बन्धी सत्रहरू प्रदान गरिएको थियो ।

प्रतियोगिताको कोरियोग्राफी र सञ्चालन आश्विनी झाले गरेकी थिइन् भने इभेन्ट डाइरेक्टरको भूमिकामा गीता उप्रेती रहेकी थिइन् । विजेताहरूले गौरवपूर्ण उपाधिसँगै ताज, ट्रफी, गिफ्ट ह्याम्पर, मिडिया प्रोफाइलिङ, फोटोसुट र दुबई भ्रमणको अवसरसमेत प्राप्त गरेका छन् ।

कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बासकोटा, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेता राजाराम पौडेल, निर्माता उत्तम केसीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।

दक्ष इन्टरनेसनल प्रालिका अध्यक्ष टेकराज पाण्डेले प्रतियोगिता नेपाली महिलालाई आत्मनिर्भर, सक्षम र अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सक्ने व्यक्तित्व निर्माणमा केन्द्रित रहेको जानकारी दिए । उनका अनुसार सौन्दर्यभन्दा पनि सामाजिक चेतना, सभ्य व्यवहार र सशक्त सोचको प्रवर्धन गर्नु यस कार्यक्रमको मूल उद्देश्य हो, जसले गर्दा यो प्रतियोगिता नेपाली सौन्दर्य क्षेत्रमै प्रेरणादायी बन्न पुगेको छ ।

ADV

सम्बन्धित खबर

Advertise