२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

दाहालको ‘बुद्धको देश नेपाल’ विमोचन

shivam cement
मध्यान्ह
२०८२ साउन २५ गते २०:२७
दाहालको ‘बुद्धको देश नेपाल’ विमोचन

काठमाडौं : महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा. कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो । 

कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको श्वेतपत्र महाकाव्यबाट साभार गरिएको हो । राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । 

मिलाप मासिकको आयोजना र चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले सहजीकरण गरेको कार्यक्रममा कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए ।

महाकाव्यकार दाहालले श्वेतपत्र महाकाव्यको चर्चा गर्दै आफूले विभिन्न ठाउँ र परिवेशमा कतै वाहीवाही पाएको र कतै गाली खाएको बताए । उनले भारतका केही ठाउँमा जादा यो कृतिका विषयमा अनावश्यक झन्झट व्यहोर्नु परेको पनि सुनाए ।

वरिष्ठ संगीतकार राजु सिंहले साहित्यलाई संगीतसँग जोड्नु एकदमै राम्रो काम भएको भन्दै स्रष्टा सर्जकलाई बधाई तथा शुभकामना दिए ।

श्वेतपत्रको परिचर्चा गर्दै साहित्यकार तथा पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा. अम्बिका अर्यालले कृतिले नेपाल, सिक्किम र भुटानलाई तीन दिदी बहिनीको संवादलाई प्रस्तुत गरेको बताउँदै यसको अझै चर्चा गर्नुपर्नेमा जोड दिइन् । उनले महाकाव्यले व्यक्त गर्न खोजेको सन्देश राम्रो रहेको बताउँदै केही सुझावसमेत प्रस्तुत गरिन् ।

यस्तै, साहित्यकार प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले आफूले धेरै पल्ट श्वेतपत्र महाकाव्य पढेको बताउँदै लेखक दाहालका अन्य धेरै कृति भएपनि यो अब्बल रहेको चर्चा गरे ।

गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले वरिष्ठ साहित्यकारका रूपमा आफूले दाहाललाई चिन्दै जान्दै आएको भए पनि आजदेखि गीतकारका रूपमा उनको परिचय थपिएकोमा बधाई दिए ।

गजलकार घनेन्द्र ओझाले नेपाली साहित्यमा गजलको चर्चा गर्दै गजल स्वर्णदशकका बारेमा आफ्ना भनाइ राखेका थिए । 

प्रमुख अतिथि प्रा.डा. कोइरालाले उनका अन्य कृति भन्दा महाकाव्य ‘श्वेतपत्र’ र उपन्यास ‘अहोरात्र’ विशेष भएको चर्चा गर्दै विद्रोही चेतनाको नवीन महाकाव्य कृतिका लागि साहित्यकार दाहाललाई शुभकामना दिए ।

कार्यक्रमका सभापति प्रा. पुरुषोत्तम दाहालले महाकाव्यकार खेमनाथसँग आफ्नो पुरानो सम्बन्ध रहेको चर्चा गर्दै नेपाली साहित्यमा उनको योगदानको प्रशंसा गरे । ‘श्वेतपत्र’ महाकाव्यबाट लिइएको गीत र यसको भिडियो राम्रो बनेको बताउँदै उनले सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा साहित्यकार पत्रकारलगायतका विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise