२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

अर्को रेकर्डको आसमा विजय बराल

Nada
२०८२ साउन २७ गते १२:३९
Shares
अर्को रेकर्डको आसमा विजय बराल

काठमाडौं : नेपाली चलचित्र उद्योगमा ‘पूर्ण बहादुरको सारङ्गी’ मार्फत ऐतिहासिक सफलता पाएका अभिनेता विजय बराल अब नयाँ कथा र पात्रका साथ पुनः दर्शकसामु आउने भएका छन् । उनी मुख्य भूमिकामा रहेको बहुप्रतिक्षित चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।

ncell

यो चलचित्र बलियो कलाकार समूह, ग्रामीण परिवेशमा आधारित कथा र पारिवारिक भावनात्मक प्रस्तुतीका कारण निर्माण पक्षबाटै उच्च अपेक्षा गरिएको छ । निर्देशक हिमाल न्यौपानेका अनुसार, चलचित्र परिवारका सदस्यबीचको सम्बन्ध, गाउँको जीवनशैली र गरिबीको कथा वरिपरि घुम्छ । उनले विश्वास व्यक्त गरेका छन्, “दर्शकले यो चलचित्रमा आफ्नै जीवनका भावनात्मक धागाहरू महसुस गर्नेछन् ।”

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ विजय बरालको ‘पूर्ण बहादुरको सारङ्गी’ पछि पहिलो मुख्य भूमिका हो । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णबहादुर गन्दर्भको भूमिकामा देखिएका उनको अभिनयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको थियो । सो चलचित्रले नेपालभित्र र विदेशमा गरेर करिब पौने एक अर्ब रुपैयाँको व्यापार गर्दै अलटाइम ब्लकबस्टरको कीर्तिमान राखेको थियो ।

त्यसैले, नयाँ चलचित्रप्रति दर्शकमाझ विशेष चासो छ- के यसले पनि उस्तै रेकर्ड कायम गर्न सक्छ ? बराल भन्छन्, “गाउँको कथा र पारिवारिक भावनाले यसपटक पनि दर्शकको मन छुनेछ ।”

चलचित्रमा विजय बरालसँगै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायत कलाकारको अभिनय छ ।

निर्देशन हिमाल न्यौपानेले गरेका छन् भने असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउत रहेका छन् । यो उनको निर्देशन यात्रा सुरु गर्ने पहिलो परियोजना पनि हो ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् ।

चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत छ । नवीन गुरुङले डीओपीको जिम्मेवारी सम्हालेका छन् भने कृष्ण परियारले सिनेमेटोग्राफी गरेका छन् ।

कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक छन् भने तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशकका रूपमा छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।

गत वर्षको सर्वाधिक सफल चलचित्रमा मुख्य भूमिका निभाएका विजय बरालको यो वर्षको पहिलो प्रस्तुति भएकाले उद्योगभित्र र दर्शकमाझ उत्सुकता उच्च छ । ग्रामीण कथा, भावनात्मक धागाहरू र शक्तिशाली अभिनयको संयोजनले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ पनि नेपाली चलचित्र इतिहासमा अर्को चर्चा योग्य अध्याय बन्ने अपेक्षा राखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर