काठमाडौं : हिन्दु महिलाको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दै चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘नाचम बरिलै’ सार्वजनिक भएको छ । गीतमा नेपाली महिलाको दुःख, संघर्ष र भावनालाई मौलिक भाका र सांस्कृतिक स्वादसहित प्रस्तुत गरिएको छ ।
गीतका शब्द सर्जक तथा गीतकार प्रेम संगमले लेखेका हुन् । राजकुमार बगरको लय सिर्जना र रमेश सेन्चुरीको संगीत संयोजन रहेको यो गीत गत शुक्रबार प्रतिक्षा सिजापती युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
हालका वर्षहरूमा तिज गीतहरूमा मौलिकता भन्दा भड्किलोपन बढेको आलोचनाबीच ‘नाचम बरिलै’ ले जीवन्त सन्देश र कलात्मक प्रस्तुति दिएको निर्माण पक्षको दाबी छ ।
भिडियोमा वरिष्ठ कलाकार प्रेमदेब गिरी, राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्ष हरिमाया कार्की, कलाकार लक्ष्मण लामिछाने र मोडेल लक्ष्मी गिरीको अभिनय तथा नृत्य समावेश छ । निर्देशन चन्द्र ब. मन्दिरले गरेका हुन् भने छायांकन, सम्पादन र रंग संयोजन निर्मल प्याकुरेलले सम्भालेका छन् ।
पोस्ट–प्रोडक्सन कृपा एण्ड कृति प्रोडक्सन र श्रीनाथ फिल्म्स सुर्खेतले गरेका छन् । गीतकार प्रेम संगमका अनुसार, यो गीत तिजको मनोरञ्जन मात्र नभई नेपाली हिन्दु महिलाको भोगाइ र संस्कृतिको अभिलेख पनि हो ।
निर्माण पक्षले उत्कृष्ट शब्द, संगीत र प्रस्तुतीकरणका कारण यसलाई यस वर्षको अब्बल तिज कोशेलीका रूपमा दर्शक–स्रोताले मन पर्ने विश्वास व्यक्त गरेको छ ।