२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

कतारमा देवी घर्ती मगरको धमाकेदार प्रस्तुति, दर्शकको ओइरो

shivam cement
तिलु शर्मा पौडेल
२०८२ भदौ १ गते १९:२९
कतारमा देवी घर्ती मगरको धमाकेदार प्रस्तुति, दर्शकको ओइरो

दोहा, कतार : सांगीतिक प्रस्तुतिका लागि कतार आइपुगेकी लोक तथा दोहोरी गायिका देवी घर्ती मगरले कार्यक्रमको हलमा धमाकेदार प्रस्तुति दिइरहँदा सयौं दर्शक हल बाहिर रोकिएका छन् । अल दाना ब्युटी सैलुन र आयुषा ब्युटी सैलुनले आयोजना गरेको तिज विशेष कार्यक्रम–२०२५ मा शुक्रबार मगरले प्रस्तुतिमार्फत उधुम मच्चाइरहँदा हल क्षमताभन्दा बढी दर्शक आएपछि हलमा प्रवेश नै पाएनन् ।

गायिका मगरको प्रस्तुति हेर्न ३ सय ५० जना दर्शक सहभागी हुन पाउने कतारको प्रशासन र संस्कृति मन्त्रालयले अनुमति दिएको हलमा पाँच सयभन्दा बढी दर्शक आएपछि कतारको प्रशासनले मुख्य प्रवेश द्वारमा नै सयौं दर्शकलाई रोकेको हो ।

दोहाको क्राउन प्लाजाको मनार हलको स्टेजलाई ढोग्दै स्टेज चढेकी मगरले पछिल्लो समयको आफ्नो चर्चित गीत ‘खोली सलल’मार्फत प्रस्तुतिको शुभारम्भ गरिन् । नयाँ र पुराना गरेर करिब एक दर्जन गीत गएकी मगरले १२ वर्षपछि कतार आउन पाएकोमा खुसी व्यक्त गर्दै ‘मयाली’, ‘माया आउने बस’, ‘लौरी हरायो’, ‘कोही छैन’सहित ‘उही खोलीमा पानी’समेत गाइन् ।

तिजको दर र सांगीतिक माहोलको बीचमा कार्यक्रमकी सभाध्यक्ष तथा सैलुनकी सञ्चालिका आयुषा श्रेष्ठ खड्काकी छोरी अनुष्का खड्काले पेस गरेको आफ्नो जीवन गाथाले सबैका आँखा रसाएका थिए । उनले आफ्नो आमाले १६ वर्षमा विवाह गरेर सन्तानकै खुसीका लागि आफू सानै हुँदा प्रवास लागेपछि एउटा छोरीको मानसिकतामा के के बित्छ तथा प्रवासबाट नै आमाले देखाएको बाटो र निर्वाह गरेको जिम्मेवारीको गाथाले सबैलाई रुवाएको थियो । सोही कार्यक्रममा आफू सामान्य घरेलु श्रीमती मात्र बनेर कतार आए पनि आफ्नो क्षमता देखाउन नहिचकिचाएको बताउँदै क्युएस्टि ट्रेनिङ एन्ड कन्सल्टेन्सीकी सञ्चालिका यास्मिन नाजले आफूसँग भएको क्षमता अभिवृद्धि गर्न आग्रह गरिन् ।

कार्यक्रममा कतारमा रहेका गायक ईशान रेग्मी, रोशन अर्यालसहित गायिकाद्वय रेश्मी सेन्चुरी, किशोर लम्सालसहित अन्य दर्जनौं कलाकारले प्रस्तुति दिए । अग्रज पत्रकार तथा कुशल कार्यक्रम सञ्चालक विजयराज अधिकारी र अनु बस्नेत सुवेदीले मिलेर सहजीकरण गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसीले आयुषा आफैंमा उदाहरणीय र प्रेरणाले भरिएकी महिला भएको हुँदा उनीबाट धेरै कुरा सिक्न सकिने बताइन् ।

कार्यक्रम स्थल बाहिरको भिड र धेरै जना फर्केर जानु परेको अवस्थालाई सम्बोधन गर्दै सभाध्यक्ष खड्काले कतारमा कार्यरत नेपाली दिदीबहिनीहरूसँग भेटघाट होस् र सामूहिक रूपमा सांगीतिक माहोलमा तिज मनाउन सकियोस् भन्ने हेतुले तिज कार्यक्रमको आयोजना गरे पनि यस पटक सहभागीको संख्या उच्च भएको हुँदा आगामी सालदेखि ठुला हलमा कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले प्रवेश नपाउने सबैप्रति क्षमा याचना गरेकी थिइन् । कार्यक्रममा आयोजक टिमका तर्फबाट दर्जनौं कलाकारले विभिन्न गीतमा आकर्षक नृत्य पेस गरेका थिए । निःशुल्क प्रवेश रहेको कार्यक्रमका सहयोगी, सञ्चारमाध्यम, कलाकारहरू, प्रमुख अतिथिसहित कार्यक्रम सञ्चालकलाई पनि सम्मान गरिएको थियो ।

आइतबार बिहान नेपाल फर्किएकी गायिका मगरलाई शनिबार साँझ कतारमा रहेका तीन फरक संस्थाले सम्मान समेत गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय सचिवसमेत रहेकी मगरलाई प्रतिष्ठान कतार शाखा, नेपाल मगर संघ, शाखा कतार र बागलुङ सेवा समाज दोहा कतारले एकै हलमा एक साथ सम्मान गरेका हुन् ।

ADV

सम्बन्धित खबर

Advertise