२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

कतारमा कार्यरत जुनु ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि नजिक

Nada
तिलु शर्मा पौडेल
२०८२ भदौ ३ गते २०:०४
Shares
कतारमा कार्यरत जुनु ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि नजिक

दोहा, कतार : सर्वाधिक धनराशि एक–एक करोड रुपैयाँ पुरस्कार भएको विश्वस्तरीय नेपाली गायन र नृत्यको रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ मा जुनु प्रसाईं फाइनलमा प्रवेश गरेकी छन् । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकी प्रसाईं फाइनलमा पुगेसँगै गायन विधाबाट महिला प्रतिस्पर्धी फाइनलमा पुग्ने पहिलो प्रतियोगीसमेत बनेकी छन् ।

ncell

गत फेब्रुअरी २१ मा कतारमा सम्पन्न अडिसनमार्फत छनोट भएकी प्रसाईं ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी हुन् भने हाल झापाको स्थायी बासिन्दा हुन् । रोजगारीका लागि कतारमा रहे पनि उनले आफ्नो सांगीतिक यात्रालाई जारी राखेकी थिइन् । २३ देशका नेपाली मूलका प्रतिभाशाली गायक–गायिकाको सहभागिता रहेको यो रियालिटी सोमा जुनुले कतार अडिसनबाट छनोट भएर फाइनलसम्मको यात्रा तय गरेकी हुन्  ।

फाइनलमा प्रवेश गरेपछि गायिका प्रसाईंले दर्शक र शुभेच्छुकलाई धन्यवाद दिँदै आफूलाई थप सहयोग गर्न अपिल गरेकी छन् । ‘तपाईंहरूको माया, साथ, सहयोग र हौसलाले मेरो भ्वाइस युनिभर्स सिजन २को फाइनलमा पुगेकी छु,’ उनले भनिन्, ‘अझै केही सिँढी चढ्न बाँकी छ । फाइनलसम्मको यात्रामा तपाईंहरूको अझ धेरै साथ, सहयोग र मायाको अपेक्षा गर्दछु ।’

जुनुलाई विजयी बनाउन मोबाइलको म्यासेज बक्समा एमभियु ०६ टाइप गरी ३७००० मा पठाउन सकिन्छ वा माइ इन्ट्रा एप डाउनलोड गरेर उनको प्रोफाइलमा क्लिक गरी भोट दिन सकिन्छ ।

नेपाल टेलिभिजनमार्फत प्रसारण भइरहेको प्रतियोगिता कार्यक्रम इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनद्वारा आयोजना गरिएको हो । विश्वभर छरिएर रहेका नेपाली समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरूको पहिचान गर्न र नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने अभियानका साथ विश्वस्तरीय अन्तर्राष्ट्रिय रियालिटी सोको आयोजना गरिएको फाउन्डेसनले जनाएको छ । यसअघि फाउन्डेसनले सन् २०२३ मा दुवै रियालिटी सोको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर