२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सहकारी संसदीय छानबिन समिति : प्रतिवेदन लेखन शुरु

ADV
मुकुन्द लामिछाने
२०८१ साउन ३ गते ०६:५५
सहकारी संसदीय छानबिन समिति : प्रतिवेदन लेखन शुरु

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन लेखन कार्यको शुरुवात गरेको छ । समिति सदस्यहरुका अनुसार गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट रकम गएको र त्यसको सदुपयोग भए नभएको सम्बन्धित अनुसन्धान गर्ने निकायबाट हुनुपर्ने निचोडका साथ प्रतिवेदन लेखन कार्यमा जुटेको हो ।

गोर्खा मिडिया नेटवर्क सहितका सहकारी संचालकहरुसँग भने समितिले छलफल गर्न नै बाँकी छ । उनीहरुसँगको छलफलपछि व्यक्त बिचार थप गर्ने गरी प्रतिवेदन लेख्न थालिएको हो । रकम ट्रान्सफर भएको तथ्यले देखेपछि उनीहरुको स्पष्टिकरण समावेश गर्ने काम मात्रै हुन्छ । यसका लागि समय मिलाएर छलफल गर्ने तय भएको छ । 

यस सम्बन्धमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले मंगलबार नै निर्णय लिएको छ । उक्त समितिले अब सहकारी सञ्चालकहरुसँग छलफल गर्ने निर्णय गरेको हो । 

समिति सभापति सूर्यबहादुर थापाका अनुसार अब देशभरि राम्रो सञ्चालन भइरहेका सहकारीहरूसँग प्रतिनिधिमुलक छलफल गरिनेछ । ‘राम्रा सहकारीहरु पनि छन् । उनीहरुसँग प्रतिनिधिमुलक रुपमा छलफल गर्न लागिएको छ’ सभापति थापाले भने । उनका अनुसार देशभरीबाट राम्रो सहकारी संचालन गरिरहेकाहरुलाई बोलाउने तय भएको छ । यसका लागि समिति सचिवालयले गृहकार्य अगाडि बढाएको छ ।

समितिको बैठकले आवश्यक कागजात मागिएका निकायहरूसँग सम्पर्क व्यक्तिसहित फलोअप गर्ने निर्णय पनि गरेको छ । 

समितिले विभिन्न व्यक्तिहरूसँग गरिने सोधपुछको प्राविधिक तयारी र व्यवस्थापन गर्ने तयारी गरेको छ । यो निर्णयका आधारमा गोर्खा मिडिया नेटवर्कका संचालकलाई बोलाउने तयारी छ । गोर्खा मिडिया नेटवर्कमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रवन्ध निर्देशक रहेका बेला बिभिन्न सहकारीबाट रकम गएको भनेर प्रश्न उठेको छ । 

नेपाली कांग्रेसले लामिछानेको सहकारीको रकम अपचलनमा संलग्नता रहेको भन्दै प्रश्न उठाएपछि गत जेठ १५ गते प्रतिनिधि सभाले एमालेका थापाको नेतृत्वमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति गठन गरेको हो । 

समितिमा एमालेबाट सभापति थापा र सरिता भुसाल, कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्री पाण्डे, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिका सदस्य बद्री पाण्डे सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भए । यो सँगै समितिमा एक सदस्य रिक्त भएको छ । यसमा अर्को सांसदलाई पठाउने कांग्रेसको तयारी छ ।

ADVADV

सम्बन्धित खबर

Advertise