२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

जलजला, राधा र सन्तोषले गजलमा रचे इतिहास

Nada
२०८२ भदौ ६ गते १९:५५
Shares
जलजला, राधा र सन्तोषले गजलमा रचे इतिहास

त्यो दिल अरूको खातिर, खाली नहोस् सधैंभर
मेरो निमित्त मात्रै, बाँकी बचोस् सधैंभर
हाम्रो पियारदेखि, आगो बनोस् न पानी
इष्र्या गरोस् त त्यस्तो, पानी बलोस् सधैंभर ।

ncell

गजलकार राधा कणेलका यी प्रेमिल शब्दमा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको कर्णप्रिय धूनले मोहकता थपेकै थियो, त्यसमा सुमधुर स्वरकी धनी जलजला परियारको स्वरले सर्वनाम थिएटरमा जम्मा भएका श्रोता मन्त्रमुगध बने ।

शुक्रबार १६०औं मोतीजयन्तीका अवसरमा आयोजित ‘राधा कणेल सांगीतिक गजल साँझ, २०८२’मा जलजलाले राधाका ५ वटा गजल गाइन् । ५ वटै गजलमा सन्तोषको एकल संगीत थियो ।

तिमी रापिलो छौ, बलेको मकलझैं
यता दिल छ मेरो, सुकेको सिमलझैं

प्रायः शृंगारिक गजलमा प्रस्तुत भएकी जलजलाले उल्लिखित शेर गाइरहँदा हल खुबै गर्माएको थियो ।

समसामयिक विषयलाई पनि सुन्दर ढंगले गजलमा उन्न सिपालु राधाको लेखन परिष्कृत रहेको र परिष्कृत लयमै रचना गर्ने भएकाले राधाका गजल संगीतमैत्री रहेका संगीतकार सन्तोष श्रेष्ठले बताए ।

गायिका जलजला मञ्चमा ‘सागर सुकाइदिन्छु, ढुंगा गलाइदिन्छु÷कारण बताउँदा चैं, तिम्रै बताइदिन्छु’ भन्दै गुञ्जिँदा हल जुरुक्क बनेको थियो ।

गजल अभियन्ता, समालोचक घनेन्द्र ओझाले नेपाली गजल लेखनमा परिष्कारसँगै गायनमा पनि परिष्कृत हुन जरुरी रहेको भन्दै सन्तोष श्रेष्ठ र आफूले विक्रमको २०८०–२०९० लाई नेपाली गजल गायनको स्वर्ण दशक घोषणा गरेको र यही अभियानअन्तर्गत यो कार्यक्रम गरिएको सुनाए ।

ओझाले यो कार्यक्रम ऐतिहासिक भएको पनि बताए । ‘नेपाली गजल संगीतमा हालसम्म नारी स्रष्टाका गजल, नारीकै स्वरमा एकल गायन भएको देखिँदैन’, ओझाले भने, ‘यो सम्भवतः पहिलो यस्तो कार्यक्रम हो ।’

ओझाले जलजला, राधा र सन्तोष तीनै जनाले नेपाली गजल संगीतमा नयाँ इतिहास रचेको दाबी गरे ।

समालोचक प्रा.डा. देवी नेपालले नेपाली गजल लेखनसँगै संगीतमा पनि तीव्र र परिष्कृत बन्दै गएको भन्दै खुसी व्यक्त गरे ।

गजलकार तथा संगीत मर्मज्ञ रवि प्राञ्जलले नेपाली गजल गायनमा यो कार्यक्रम उत्साहप्रद र स्मर्णयोग्य भएको बताए । नेपाली गजललाई गायनमा ल्याउने प्रयासको प्राञ्जलले सराहना पनि गरे ।

वाद्यवादनमा तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए ।

अनाममण्डली, नेपाल गजल प्रतिष्ठान र गोल्डेन क्रियसनको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले सहकार्य गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर