– जनक बराल, पोर्चुगल
केही दिन अगाडि लिसबनमा एक जना नेपाली बहिनीसँग भेट भयो । सामान्य कुराकानीपश्चात ती बहिनीले भनिन्, “दाई तपाईंलाई फोन गर्छु भन्ने सोँच्दै थिए, प्रत्यक्ष भेट भयो, यो परदेशमा मेरा आफन्त, अनि मनले खाने साथीभाई कोही छैनन्, दशैँ जस्तो चाड कसरी एक्लै मनाउनु, म दशैँ मनाउन तपाईंको घरमा आउँछु है ।” मैले सहजताका साथ हुन्छ भनिदिए ।
एक जना डेनमार्कमा बस्ने नेपाली चेलिका बुवा आमा दशैँको अवसरमा उहाँहरुलाई भेट्न भनेर आउनु भएको रहेछ । उहाँहरुले नेपालबाट आउँदा खेरि नै जमरा जमाउन चाहिने जौ, मकैलगायतका सामान धेरै जनालाई पुग्ने गरी लिएर आउनु भएको रहेछ । ती चेलीले फेसबुक गु्रपमा पोस्टमार्फत जमरा राख्न चाहने हर कोहीले निःशुल्क रुपमा ती सामान लिन सक्ने भनेर विज्ञापन गर्नु भएको छ । यी अनि यस्तै घटनाले पनि महसुस हुँदै छ, नेपालीहरुको महान चाड दशैँ अब सम्मुख छ ।
करिब ४० हजारको आसपास नेपाली बसोबास गर्ने देश पोर्चुगलमा पनि बिस्तारै दशैँ प्रवेश गरेको आभाष हुँदै छ । प्रवासमा दशैँ त्यतिबेला महसुस हुँदो रहेछ जब आफँु जस्तै नेपाली साथीभाई दशैँ मनाउन अनि परिवार भेटघाट गर्ने उत्साह बोकेर मुलुक फर्किने तयारी गर्दछन् । आफुँ जान नपाए पनि साथीभाई स्वदेश फिर्न लागेको देख्दा मन चङ्गा हुँदो रहेछ । जब साथीभाई अन्तिम तयारीमा लाग्दछन् अनि सोध्ने गर्छन्, “घरमा केही सामान पठाउनु छ भने भन है, धेरै त सक्दिन केही सानो सम्झना लगिदिउँला ।” त्यो सुन्दा खेरि आफ्नो मन त्यो साथी उडेर जाने हवाई जहाज नउड्दै पहिल्यै उडेर घर पुग्दछ ।
युरोपमा बेलायत पछाडि धेरै नेपाली बसोबास गर्ने देश हो पोर्चुगल । यकिन तथ्यांक नभए पनि करिब चालिस हजार आसपास नेपाली समुदाय रहेको अनुमान गर्ने गरिन्छ भने यो आँकडा आउँदा वर्षमा धेरै बढ्ने देखिन्छ । विदेश जाने, धेरै धन कमाउने अनि मिल्यो भने उतैको नागरिकता लिएर सुखी जिन्दगी जिउने आशा बोकेर धेरै नेपालीहरु विदेश पलायन हुने गर्दछन् । ती अनि त्यस्तै सपनाहरुलाई सार्थक रुप दिन सघाउने एउटा साझा चौतारी हो पोर्चुगल ।
सन् २०१७ को मध्येबाट पोर्चुगलले आप्रवासी कामदारहरुलाई काम र कागजको लागि सहज बनाइदिए पछि दक्षिण एसियाली मुलुक र अफ्रिकालगायत धेरै मुलुकका व्यक्तिहरुका लागि पोर्चुगल आकर्षक गन्तव्य बनेको छ । कोरोना कहर अघिसम्म पोर्चुगलमा कागजी प्रक्रिया धेरै सहज र द्रुत थियो । त्यसकारण पनि धेरै नेपालीहरु कानूनी र गैरकानूनी बाटो हुँदै पोर्चुगल प्रवेश गर्न थाले र एकैपटकमा ठुलो संख्यामा पोर्चुगल आउन सफल भए ।
जब सन् २०२० को मार्च महिनाबाट संसारभर कोरोनो भाईरस तिब्र गतिमा फैलिन थाल्यो, त्यसबाट पोर्चुगल पनि अछुतो रहन सकेन । होटेल रेष्टुरेन्टलगायत पर्यटन व्यवसाय सबै ठप्प प्रायः बन्न पुगे भने सरकारीलगायत अन्य कार्यालय पनि बन्द हुन पुगे । करिब एक वर्ष त्रासकै बिचमा बित्यो । पुराना धेरैले रोजगारी गुमाए भने जो नयाँ आएका थिए तिनले रोजगारी पाउनु त परको कुरा बाँच्न पनि गार्हो हुन थाल्यो । लिसबनलगायतका शहरमा रेष्टुरेन्टमा काम गरिरहेका धेरै जना बेरोजगार हुनुभन्दा खेतीमा काम गर्न जान थाले । पहिला लिसबनमा कोठा भाडामा पाउन असम्भव जस्तै थियो । धेरै नेपालीहरुले घर भाडामा लिएर अरु साथीभाइहरुसँग बाँडेर बस्ने गर्दथे । जब सबै गाउँ तर्फ लाग्न थाले लिसबनमा एकैपटक सयौं कोठा खाली भए, जो नेपालीहरुले आफ्नो नाममा घर लिएका थिए उनीहरुलाई कोरोना भाईरसले ठुलो धक्का दियो ।
पोर्चुगलमा छिर्न धेरै सजिलो, सहज कानूनी प्रक्रिया, थोरै मुल्यमा पनि सानो तिनो व्यवसाय सुरु गर्न सकिने अनि अन्त काम गर्नुभन्दा आफैँले केही गर्न सकेमा आम्दानी पनि राम्रै हुने हुनाले सयौं नेपालीहरुले सामान्य किराना पसलदेखि लिएर ठुला रेष्टुुरेन्ट व्यवसाय पनि सन्चालन गरिरहेका छन् । जसले पर्यटक केन्द्रित व्यवसाय गरेका थिए, कोरोनाका कारण केही त झन्डै व्यवसायबाटै पलायन हुने अवस्थामा समेत पुगे ।
जो कोरोना कहर आसपास पोर्चुगल सुन्दर सपना बोकेर छिरे उनीहरुलाई कोरोनाका कारणले ‘पहिलो गाँसमै ढुङ्गा’ लागे जस्तो भएको छ । न काम, न कमाई, नयाँ देश, नयाँ ठाउँ, न कागज बन्ने प्रक्रियाको सुरुवात न घर बाहिर निस्केर हिँड्न् पाउनु । नयाँ देशमा आउन बित्तिकै लकडाउनले नजर बन्दमै पारिदियो । सामान्य अवस्थामा १५ महिनामा बन्ने अस्थायी बसोबास अनुमती–पत्र बन्न कमसेकम २ वर्ष लाग्ने र त्यो पनि कहिले बन्ने कुनै टुङ्गो नहुँदा धेरै जना अन्योलमा परेका छन् । सुरुका अवस्थामा केही संघसस्थाले चन्दा उठाएर राहत पनि दिएका थिए तर, सधैं त्यो सम्भव हुने कुरा पनि भएन । विदेश पैसा कमाउन आएका व्यक्तिले उल्टो घर परिवारसँग पैसा मगाएर बाँच्नु पर्ने पीडादायक स्थिति आईपर्न गयो ।
यतिबेला हजारौँ जनाको पारिवारिक पुनर्मिलन प्रक्रिया एक वर्षदेखि नयाँ दिल्लीस्थित पोर्तुगिस एम्बेसीमा अड्किएको अवस्थामा छ । कहिले नेपालमा लकडाउन, कहिले भारतमा लकडाउनले गर्दा दुई महिनामा हुने काम अठार महिनादेखि अड्किरहेका छन् । यो अबधिमा केही यस्ता दुःखद घटना घटेकी नयाँ दिल्ली स्थित एम्बेसीबाट परिवारको भिसा लाग्यो । लकडाउनले गर्दा परिवार पोर्चुगल आउन पाएनन्, भिसाको समय अवधी सकियो भने यता सम्बन्धित व्यक्तिको अप्रत्यासित निधन भयो । केहीले पोर्चुगलमै आत्महत्या गरे । केहीले विभिन्न रोगका कारण अकालमा मृत्युवरण गर्न पुगे भने केही सोंचेभन्दा फरक परिस्थिती बनेका कारण डिप्रेसनको सिकारसमेत हुन पुगे ।
जहाँ नेपाली पुगेका छन् त्यहाँ नेपाली समुदायकै बिचमा जुङ्गाको लडाईं हुनु सामान्य कुरा नै हो तर पनि यो कोरोना कहरमा पोर्चुगलमा रहेका नेपाली समुदायबिच सधैं खिचातानी र गाइजात्रा भने चलिरह्यो । कोही पोर्चुगलमा कमाई नभएर, खान लाउन नपाएर बिचल्ली परियो भन्दै मुलधारका मिडियामा रुँदै आए भने धेरै जनाले विभिन्न कारणबश ज्यानसमेत गुमाउन पुगे । कहिले विदेशमा रगत पसिना बगाएर कमाएको पैसा नेपाल पठाउँदा ठगिएका नेपाली हुन वा ट्राभल एजेन्सीले नक्कली टिकेट बेचेर एयरपोर्टमा बिचल्ली परेका नेपाली हुन, एन.आर.एन.को चुनावमा धाँदली भएको भनेर समानान्तर कमिटी गठन गरेर होस् वा सार्वजनिक ठाउँमा दुई नेपाली समूह लडाईं गरेर होस्, पोर्चुगलको नेपाली समुदाय सदैब चर्चा र विवादको घेरामा आइरहन्छ ।
पोर्चुगलमा अहिले ८० प्रतिशत बढी जनसंख्याले कोरोना भाईरसको दोस्रो डोजको खोप पनि लगाइसके पछि अहिले स्थिति सुधारोन्मुख देखिएको छ । बिस्तारै बजार खुल्ने, बन्द व्यवसाय होटेल रेष्टुरेन्टहरु खुलेर कोरोनाले सिथिल गराएको सहर बिस्तारै पुरानै लयमा फर्कन्छ कि भन्ने केही आशाका किरणहरु देखिन थालेका छन् । नयाँ मान्छेहरुलाई पनि बिस्तारै नयाँ रोजगारीका अवसरहरु सिर्जना हुँदै छन् ।
धेरै लामो समयदेखि अड्किएका पारिवारिक पुनर्मिलनका भिसाहरु पनि सुरु भएका छन् । लामो समयदेखि अन्योलमा रहेको आप्रवासीसम्बन्धी निकायले गर्ने कामहरु पुन द्रुत गतिमा सुरु हुन लागेका छन् । अघिल्लो वर्षको दशैँ सुखद नरहे पनि यो वर्षको दशैँ केही आशाका किरणहरु लिएर झुल्किदै गरेको अनुभूती हुँदै छ ।
स्वदेशमा दशैँको जुन रौनक र माहोल हुन्छ विदेशमा त्यो कत्ति पनि हुँदो रहेनछ । नेपालमा दशैँको बेलाको घाम नै बेग्लै हुन्छ, मौसम नै बेग्लै हुन्छ, दशैँको दिन नै बेग्लै हुन्छ, मन नै बेग्लै हुन्छ र पो दशैँ दशैँ लाग्दो रहेछ । विदेशमा जब चाड पर्व आउँदछन् मन खल्लो हुन्छ, कता–कता शुन्य अनि नरमाइलो महसुस भएर आउने गर्दछ । नेपालमा बस्नेलाई विदेशको जिन्दगी रमाइलो लाग्नु स्वभाविक हो । होला नेपालमा भन्दा कमाइ र भौतिक सुख सुविधा धेरै गुणा बढी होलान् तर, पनि आफुुँ जन्मे हुर्केको परिवेश, आफुलाई जन्मदिने माता–पिता र आफ्नो देशको अभाव दिनमै सयौं पटक खड्किदो रहेछ । जीवनमा जति कमाय पनि जति भौतिक उन्नति प्रगति गरे पनि जब आफ्नोपन र आफ्ना वरिपरि हुँदैनन् सबथोक अधुरो अपुरो अनि फिक्का लाग्दो रहेछ ।
लाग्दछ अब दशैँ गाउँ घरमा भित्रि सक्यो होला । दशैँ आउनु पूर्वको माहोलनै यती रमाइलो लाग्छ कि मन त्यसै प्रफुल्ल हुन पुग्दछ । घर–घरमा रातो माटो र कमेरोले रंग्याउने काम सुरु भयो होला, टोल सरसफाईदेखि लिएर लिङ्गे पिङ हाल्ने तयारी हुँदै होलान् । वर्षौ पछि विदेशबाट दशैँ मनाउन स्वदेश फर्किएका परदेशिका परिवारमा खुसीको सीमा छैन होला ।
गाउँ छाडेर शहर झरेका र बिभिन्न कारणले अन्यत्र गएकाहरु एकै साथ घर फर्किदाको त्यो रमाइलो विदेशमा बसेर केबल महसुस मात्रै गर्न सकिएला भोग्न पाईँदैन । विदेशका सहरमा पनि दशैँको दिन त आउँदछ तर, दशैँ आउँदैन । विधि पु¥याउनको लागि चामलको अक्षता र जमरा लगाएको फोटो फेसबुकमा पोस्ट गर्न त सकिएला तर, मनलाई दशैँ आउँदैन । अहँ, मनलाई कहिल्यै दशैँ आउँदैन । बिरानो देश, अन्जान सहर अनि फरक भाषा अनि संस्कृति । न देश मिल्दो, न रहनसहन, न संस्कार, न संस्कृति अनि कसरी आओस् दशैँ, कसरी छाओस् नेपाली पन, कसरी खुसी होस् भित्रैदेखि मन ?
परदेशमै भए पनि जो जहाँ छौँ, जसरी छौँ, जति छौँ, सबै मिलेर दशैँ मनाऔँ । आपसमा सुख दुःख साटौँ । हाम्रो मौलिक संस्कृतिको रक्षा गर्दै प्रवासमा जन्मेका हाम्रो दोस्रो पुस्तालाई पनि हाम्रो संस्कार र चाडपर्वसँग परिचित गराँउदै हर्षोल्लासका साथ दशैँ मनाउँ । कोरोना कहरलाई विस्तारै बिर्सदै फेरि नयाँ यात्रा तर्फ लम्किन सकौँ । सबैलाई आउँदै गरेको विजया दशमीको हार्दिक मंगलमय शुभकामना !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies