भिन्न विषयवस्तुमा चलचित्र बनाउँदै आइरहेका निर्माता हुन् गुणराज राजभण्डारी । विगत डेढ दशकदेखि निरन्तर चलचित्र निर्माणमा सक्रिय गुणराज राजभण्डारीद्वारा निर्मित पछिल्लो चलचित्र ‘वीर योद्धा’ केही दिन पहिले डिजिटल प्लेटफर्ममार्फत प्रदर्शनमा आएको छ । ‘कालापानी’ र ‘आगो २’ निर्माण गरिसेकका गुणराज आगामी तिहार लगतै नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा संगठनका केन्द्रीय कोषाध्यक्षको रुपमा काम गरिसकेका छन् भने हाल युवा संगठनको केन्द्रीय कार्यकारिणी सदस्यको रुपमा सक्रिय भएर काम गरिरहेका छन् । आफुलाई देश र जनताको सिपाही सम्झी देशको स्वाधिनता र स्वाभिमानप्रति अत्यन्तै चिन्तित भएर जनताको कथामा चलचित्र बनाउँदै आइरहेका निर्माता गुणराज राजभण्डारीले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानी :
नयाँ के गर्दै हुनुहुन्छ ?
केही दिन पहिलेमात्र हामीले ‘वीर योद्धा’ भन्ने चलचित्र डिसहोमबाट रिलिज गरेका छौं, दर्शकहरुको सन्तोषजनक माया पाइरहेका छौं । गत साल दशैं राम्रोसँग मनाउन पाइएन । यतिबेला दशैंको माहोल भएकाले अरु काम थाँति राखेर दशैंको तयारीमा जुटेका छौं । तिहार पछाडिबाट नयाँ प्रोजेक्ट शुरु गरौं कि भनेर त्यसको गृहकार्यमा पनि सक्रिय छौं ।
‘वीर योद्धा’लाई सेन्सरले दुःख दिएको भन्ने सुनिएको थियो नि ?
हाम्रो टिमले निर्माण गर्ने चलचित्रहरु राष्ट्रवादी हुने गर्छ । यस्ता राष्ट्रवादी, जनताका आवाज बोल्ने चलचित्रहरुलाई सेन्सर बोर्डले दुःख नदिँदा राम्रो हुन्छ । यस्ता चलचित्रलाई राज्यले प्रोत्साहन पो गर्नुपर्छ ।
‘वीर योद्धा’मा के छ र त्यस्तो ?
यसमा २०६२ सालको आन्दोलनलाई मुख्य विषय बनाइएको छ । हामीले निर्माण गर्ने चलचित्रले आम जनताको आवाज प्रस्फुटन गर्ने गरेको छ । यस चलचित्रले पनि देश र जनताको प्रतिनिधित्व गरेको छ र नेताहरुले जनताप्रति गरेको ढाँट प्रवृत्तिको उठान ‘वीर योद्धा’ले गरेको कारण पनि एकथरिलाई आपच्य भएको हुन सक्छ ।
देशभक्ति चलचित्र ‘कालापानी’ले पनि व्यावसायिकरुपमा सफलता पाएन नि होइन ?
चलचित्रको निश्चित दायरा हुन्छ । मनोरञ्जनको लागि मात्र बन्ने चलचित्र र समाजको आवाज अनि देशको माटोलाई समेटेर बनेका चलचित्रका दर्शक नै सफर हुन्छन् । साढे दुई घण्टा हलमा चलचित्र हेरेर बाहिर निस्कनासाथ चलचित्रले के भन्न खोजेको हो भन्ने कुरा दर्शकले बिर्सन्छ भने त्यस्तो चलचित्र हेरेर समय खेरमात्र हुन्छ । त्यसैले चलचित्र मनोरञ्जनको साधनमात्र नभएर समाजमा परिवर्तन ल्याउन मद्दत हुने खालको बन्नुपर्छ । हामीले निर्माण गर्ने चलचित्रले समाजमा आवाज दबेकाहरुको आवाज बोल्ने खालको हुने गर्छ । सबै कुरा व्यापारिक दृष्टिकोणले मात्र गर्न थालियो भने त कुनै दिन आफ्नो अस्तित्व समाप्त भएको पनि पत्तो हुँदैन ।
राष्ट्रवादी चलचित्रलाई राज्यले हेर्ने दृष्टि फरक हो ?
हामी आयातित विषयवस्तुमा चलचित्र बनाउँदैनौं, आफ्नै माटोमा घटित वास्तविक घटनालाई उठान गर्छौं । यस्तो विषयवस्तुमा चलचित्र बनाउँदा राज्यले सहयोग गर्नुपर्ने ठाउँमा उल्टै विभिन्न अड्चन पैदा गरेर दुःख दिने अनुभव हामीले गरेका छौं । जस्तै आगो, दशगजा, कालापानी चलचित्रको प्रदर्शनलाई लिएर भएको विवादलाई उदाहरणको रुपमा लिन सकिन्छ । यसमा म के भन्छु भने सेन्सर बोर्डको अदुरदर्शिता र चलचित्रलाई हेर्ने परम्परागत दृष्टिकोणले राष्ट्रवादी धारका चलचित्र धेरैपटक सेन्सर बोर्डको सिकार हुन पुगेको छ ।
फरक विषयमा चलचित्र बनाउनुको कारण ?
माथि पनि भनिसकें, चलचित्र व्यापारमात्र होइन । हामी चलचित्रमार्फत देशमा भएको राजनैतिक भ्रष्टाचार, विकृती, विसंगतीलाई उजागर गर्ने र आम नागरिकहरुको पनि प्रतिनिधित्व हुने भएको हुनाले अलि फरक विषयवस्तु छान्ने गरेका छौं । अब निर्माण गरिने चलचित्रको विषयवस्तु पनि देशकाल सुहाउँदो नै हुनेछ ।
हलहरु खुल्ने अवस्थामा रहेको बेला चलचित्र डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गर्नुको कारण ?
सिनेमा हलहरु खुल्ने कुरा एकदमै राम्रो हो । हलमा चलचित्र हेर्न दर्शकहरु जानु हुन्छ कि हुन्न सवाल यो हो । समय अनुसार परिमार्जित हुँदै जानु पर्छ । अहिले डिजिटल प्लेटफर्ममा चलचित्र प्रदर्शन गर्दा राम्रा चलचित्रले व्यावसायिक सफलता पाएको हामीले बुझेका छौं, त्यसैले चलचित्र डिजिटल प्लेटफर्मबाट रिलिज गरेको हौं ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
नेपाली चलचित्र क्षेत्रको विकासमा राज्यले चासो नदिएको अवस्था छ । व्यक्तिको ठुलो लगानी यो क्षेत्रमा लागेको छ, एउटा निर्माताले स्पटव्वायदेखि हल मालिकसम्मलाई रोजगारी दिएको हुन्छ । राज्यलाई कर तिरेको हुन्छ । तर निर्माताको लगानीको कतैबाट सुरक्षित गर्ने निकाय छैन । उद्योग भनिएको छ तर बैंकिङ कारोबार सुन्य छ । उद्योग भएपछि त बैंकले चलचित्र निर्माणका लागि ऋण दिनुपर्ने हो नि, त्यो हुन सकिरहेको छैन । हामी जस्तो राष्ट्रवादी चलचित्र बनाउनेहरु सधैं संकटमा परिरहेका हुन्छौं । यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जान जरुरी छ । बडादशैंको सबैमा शुभकामना ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies