काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विचौलियाहरूको चलखेल समाप्त पारी वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन आफ्नो तर्फबाट उच्चतम प्रयास गर्ने बताएका छन् । सोमबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालको बधाई तथा कार्यकाल सफलताको शुभकामना ग्रहणपछि नवनियुक्त श्रममन्त्री श्रेष्ठले उक्त धारणा राखेका हुन् ।
वैदेशिक रोजगार गर्न लाइसेन्स नभएका अनधिकृत एजेन्ट, कन्सल्टेन्सी र ट्राभल एजेन्सीलगायतले विभिन्न प्रलोभन दिएर कामदार ठगेको तर त्यसको अपजस र दोषको भारी म्यानपावर कम्पनीको टाउकोमा आएको बारेमा आफुलाई जानकारी रहेको मन्त्री श्रेष्ठले बताए ।
उनले भने, ‘तपाईंहरूले कामदारलाई ठग्नु भएको छैन । भविष्यका दिनमा पनि नठग्नु होला, वैदेशिक रोजगारका क्षेत्रमा गर्नुपर्ने सुधार गर्न मैले अविभावकीय भूमिका खेल्ने छु । तपाईंहरूले सही अविभावक पाउनु भएको छ । तर बदमासी गरे छोड्ने छैन । विगतमा जस्तो पावर लगाएर, घुस खुवाएर फाइल तलमाथि गर्न खोज्नु भएको छ भने त्यस्तो केही हुने छैन ।’
मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीले उद्योगहरू धरासायी भएको उल्लेख गर्दै पछिल्लो तथ्यांक अनुसार नेपालमा १५ लाख युवायुवतीले रोजगारी गुमाएकाले उनीहरूलाई स्वदेशमा रोजगारी सिर्जना गर्ने चुनौती रहेको भन्दै त्यसमा व्यवसायीले सरकारसँग हातेमालो गर्नुपर्नेमा जोड दिए ।
संगठनका निवर्तमान इन्चार्ज श्रीप्रसाद साह, संगठनका अध्यक्ष सन्त कुमार लामा र महासचिव मधुकर रिजाल, सल्लाहकार तिला काप्रीलगायतले मन्त्री श्रेष्ठलाई बधाई दिँदै व्यवसायीका समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies