तेजबहादुर बन/मध्यान्ह
इटहरी : इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले सोमबार सञ्चारकर्मीहरूमाझ बिदा लिएका छन् । बिदाइ लिने क्रममा गरिएको सञ्चारकर्मीहरूसँगको भेटमा उनले इटहरी रहँदा स्थानीय सरकारदेखि राजनीतिक दल, व्यापारी व्यवसायी र नगरवासीहरूको साथ, सहयोग अतुलनीय रहेको प्रशंसा गरे । उनी इटहरीबाट बनेपास्थित प्रहरी प्रदेश कार्यालय सरूवा भएर जानेभएका छन् भने केसीको ठाउँमा इटहरीमा खगेन्द्र खड्का नयाँ डिएसपी आउने भएका छन् ।
जाँदा जाँदै डिएसपी केसीले सञ्चारकर्मीहरू माझ आफु इटहरी रहँदा अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम राख्ने सवालमा नसोचेको सफलता कायम राखेको दाबी गरे । पूरानो वर्षको तुलनामा गत वर्ष २०७७/०७८ र चालु आर्थिक वर्षको कात्तिक २५ सम्मको विवरण हेर्ने हो भने पनि अपराध तथ्यांक केहि घटेको देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा ५ सय बढी अपराधका मुद्धाहरू दर्ता भएका थिए भने गत वर्ष २०७७÷०७८ मा ४ सय १३ वटा अपराधका मुद्धा दर्ता भएका थिए ।
त्यस्तै चालु आर्थिक वर्षको साउन देखि कात्तिक २५ गते सम्ममा ५६ भन्दा बढी अपराध सम्बन्धि उजुरी परेको तथ्यांकले देखाएको छ । इटहरीमा सबैभन्दा बढी लागूऔषध कारोबार सम्बन्धिका मुद्धाहरू बढी रहेको र यो शहरकैलागि चूनौतिको विषय रहेको डिएसपी केसीले बताए ।
आफु इटहरी रहँदा उल्लेखनिय मात्रामा लागूऔषध बरामद गरेको र यसमा संलग्न अभियुक्तहरूलाई पनि कानूनी दायरामा ल्याउन सफल भएको उनले प्रष्ट पारे । इटहरी क्षेत्रमा सबैभन्दा बढी लागूऔषध कारोबार, ठगी, जबरजस्ती करणी, चोरी, बैंकिङ कसुर सम्बन्धिका मुद्धाहरू रहेको र त्यसमा पनि धेरै जसो फछ्र्यौट पनि भइसकेको डिएसपी केसीले बताए ।
त्यस्तै विगतको वर्षको तुलनामा यो चालु वर्षको तीन महिनामा साझेदारी समुदाय प्रहरी कार्यक्रम अन्तर्गत ९० वटा कार्यक्रम सफल भएको पनि उनले बताए । १६ महिना इटहरी रहँदा सुखद क्षणको अनुभव संगालेर बिदा हुन पाउँदा गर्व लागेको उनको भनाइ छ ।
अपराध विवरणहरू सुनाइरहँदा इटहरीबाट गएको आर्थिक वर्ष २०७७/०७८ र चालु आर्थिक वर्षको कात्तिक २५ सम्ममा एक सय अभियुक्तहरू अझैँ पनि फरारको सूचीमा रहेको भेटिएको छ ।
यस्तै डिएसपी केसीले इटहरीमा पछिल्लो समय सवारी दुर्घटना मुख्य चुनौतीपूर्ण बनेको बताए । विगतमा राजमार्ग साँघुरो हुँदा दुर्घटना हुन्थ्यो तर अहिले राजमार्ग फराकिलो भएपनि त्यो क्रम झन् बढेको प्रति उनले चिन्ता व्यक्त गरे ।
यसैबीच इटहरी उपमहानगरपालिका अन्तर्गत समुदाय –प्रहरी पालिका समितिले पनि डिएसपी केसीलाई एक कार्यक्रमकाबीच विदाई गरेको छ । पालिका समितिका अध्यक्ष द्वारिकलाल चौधरीले डिएसपी केसीलाई विदाई गरेका थिए । समुदाय –प्रहरी पालिका समितिका सह संयोजक समेत रहेका डिएसपी केसीले पनि इटहरी रहँदा स्थानीय सरकारको तर्फबाट पाएको साथ, सहयोग र सम्मानको सदैव कदर गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies