२०८२ असोज ३१ गते शुक्रवार / Oct 17 , 2025 , Friday
२०८२ असोज ३१ गते शुक्रवार
Ads

लगातारको झरीबाट प्रभावित जनजीवन सहज हुँदै

shivam cement
मध्यान्ह
२०८२ असोज २० गते १५:२४
लगातारको झरीबाट प्रभावित जनजीवन सहज हुँदै

काठमाडौँ : तीन दिनको लगातारको अविरल वर्षाका कारण प्रभावित जनजीवन सहज हुँदै गएको छ । मौसम सुधार भएसँगै सर्वसाधारणले राहत महसुस गरेका हुन् । यहाँ आइतबार रातिदेखि वर्षा रोकिएको र आज बिहानदेखि घाम लागेको छ ।

“निरन्तर वर्षा भइरहँदा बाहिरी कामकाज छाडेर घरमै बस्न बाध्य थियौँ”, क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरका तरकारी व्यवसायी जीवछ साहले भने, “बल्ल घाम लागेपछि राहत महसुस भएको छ ।”

निरन्तरको वर्षाका कारण ग्राहकको अभावमा २० हजार बराबरको फलफूल, सागसब्जी सडेको साहले दुखेसो सुनाए । वर्षा रोकिएर घाम लागेपछि अहिले बजारमा चहलपहलसमेत बढेको छ । क्षीरेश्वरनाथ नगरपालिका-५ की गृहिणी ज्योति गुप्ताले घाम लागेपछि बिस्कुन एवं लुगाफाटा सुकाउन सहज भएको बताए ।

मान्यजनकहाँ दसैँको टीका, जमरा ग्रहण गर्न जानु परे पनि लगातार झरी परिरहँदा सबै घरमै थुनिएका थिए । दसैँ मनाएर राजधानी काठमाडौँलगायत स्थानमा फर्किन समस्या भएको थियो । आज भने यात्रुहरू बस बिसौनीहरूमा गाडीको प्रतीक्षामा बसेका देखिएका छन् ।  

मौसमविद्हरूले अब मौसम सफा हुँदै जाने र तापक्रम पनि क्रमशः घट्दै गई प्रचण्ड गर्मीबाट उन्मुक्ति मिल्ने बताएका छन् । लामो झरीले कामकाज गर्न नपाएका यहाँका बासिन्दा काममा निस्कन थालेका छन् । 

“हेर्नोस् न, झरीले केही गर्न दिएको थिएन, सबै काम असरल्ल थियो”, क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयाकी किसान अनितादेवी यादवले भनिन्, “बल्ल कति दिनपछि राम्ररी घाम देख्न पाइयो, अब भने खेत गोडमेल, बस्तुभाउको चरण गर्न पाइने आस जाग्यो ।”  

मौसममा सुधार देखिएसँगै अब धान, तरकारी गोडमेल गर्न अनुकूल हुने यहाँका किसानहरू बताउँछन् । मौसममा आएको सुधारले तरकारीबारी गोडमेल गर्न सकिने रमदैयाका किसान उमेश यादवको भनाइ छ ।

पशुपालक किसानले गोठमै बाँधिएका घरपालुवा पशुवस्तु (गाई, भैँसी, बाख्रापाठा) फुकाउन, डुलाउन पाएका छन् । चरन क्षेत्र पानीले डुबाएको भए पनि पशुवस्तुलाई डुलाउन पाइएको पशुपालक किसानको भनाइ छ ।

दुई-तीन दिनपछि पारिलो घाम लागेपछि लुगा धुने व्यवसायका धोबीलाई पनि राहत भएको छ । “धेरै दिनदेखि ग्राहकले धुन दिएका लुगा पानी परिरहेर घरमै थुप्रिएको थियो”, क्षीरेश्वरनाथ नगरपालिका-५ का अमिन साफी धोबीले भनिन्, “अब भने काम गर्न पाइने भइयो ।”

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise