२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

१३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला चैत ५ देखि, २६० बढी विदेशी कलाकार सहभागी हुने

shivam cement
२०८२ चैत ३ गते १६:५९
Shares
१३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला चैत ५ देखि, २६० बढी विदेशी कलाकार सहभागी हुने

काठमाडौं : नेपाली लोक संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित '१३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२' आगामी चैत ५ गतेदेखि आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मेला नेपाल पुलिस क्लबमा समुद्घाटन गरिनेछ ।

ग्रुपका अध्यक्ष आरसी कोइरालाका अनुसार फागुन १५ देखि २४ गतेसम्म गर्ने तय गरिएको मेला निर्वाचन कार्यतालिकासँग जुधेपछि सारेर चैत ५ देखि १४ गतेसम्म सञ्चालन गर्न लागिएको हो । 'पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार' भन्ने मूल नारासहित आयोजना गरिने मेलामा विभिन्न देशका कलाकारहरूको सहभागिता रहनेछ ।

आयोजकका अनुसार यसपटकको मेलामा बोत्सवाना, इस्टोनिया, इजरायल, जर्मनी, भारत, ताइवान, टर्की, पोल्यान्ड, दक्षिण अफ्रिका लगायतका देशबाट २६० भन्दा बढी कलाकार सहभागी हुने तय भइसकेको छ। यद्यपि अन्तर्राष्ट्रिय उडान र यात्रासम्बन्धी केही समस्याका कारण केही देशको सहभागिता घट्न सक्ने जनाइएको छ ।

संस्थाले विगत दुई दशकदेखि नेपाली सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गर्दै आएको जनाएको छ । हालसम्म १२ संस्करण सम्पन्न भइसकेका मेलामा ८६ भन्दा बढी देशका ९ हजारभन्दा बढी कलाकारले सहभागिता जनाइसकेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै संस्थाले ७८ भन्दा बढी देशमा पुगेर नेपाली लोक संस्कृति प्रवर्द्धन गर्दै आएको पनि बताइएको छ ।

नेपाल जस्तो बहुजातीय र बहुभाषिक मुलुकमा प्रत्येक समुदायका आ–आफ्नै मौलिक भाषा र संस्कृतिहरू रहेको उल्लेख गर्दै आयोजकले पछिल्लो समय युवापुस्तामा बढ्दो पाश्चात्य प्रभावका कारण मौलिक संस्कृतिप्रति चासो घट्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ । यस्तो अवस्थामा सांस्कृतिक संरक्षण र पुस्तान्तरणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको ग्रुपको भनाइ छ ।

मेलाअवधिभर सहभागी कलाकारहरूले आ-आफ्नो देशको पहिचान झल्कने भेषभूषासहित लोक नृत्य, गीत तथा सांस्कृतिक झाँकी प्रस्तुत गर्नेछन् । साथै काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरूमा पुगेर विदेशी कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिने र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

यस वर्षको मेला काठमाडौंसँगै पोखरा, ललितपुर, काभ्रेको पाँचखाल र बुढानीलकण्ठ क्षेत्रमा समेत विस्तार गरिने जनाइएको छ । विशेषगरी पाटन दरबार र हनुमानढोका दरबार जस्ता ऐतिहासिक तथा विश्व सम्पदा क्षेत्रमा कार्यक्रम आयोजना गरिनेछ, जसबाट सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर