चरिकोट : चाडपर्वमा यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न दोलखामा सवारीसाधन चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले संयुक्त रूपमा सार्वजनिक सवारीसाधनमा अनुगमनलाई तीव्रता दिएका हुन् ।
चाडपर्वका समयमा यात्रुहरूको भीड बढ्ने र सवारीसाधनले बढी भाडा असुल्ने, क्षमता भन्दा बढी यात्रु राख्ने लगायतका समस्या देखिने भएकाले अनुगमन तीव्र पारिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा तोकिएको भन्दा बढी भाडा असुल्ने २० वटा सवारीसाधन कारबाहीमा परेका छन् ।
भट्टराईले भने, ‘यात्रुवाहक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने, भीडभाड गर्ने, बढी भाडा असुल्ने र सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही भइरहेको छ ।’
बीपी राजमार्ग पूर्ण रूपमा खुल्न अझै केही समय लाग्ने भएकाले हाल खुर्कोट–मन्थली–चरिकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग प्रयोग भइरहेको छ । यस मार्गमा पनि यात्रुवाहक बसहरूमा यात्रुको चाप अत्यधिक देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार चरिकोटबाट काठमाडौं जाने यात्रुवाहक बसहरूले तोकिएको भन्दा बढी १ हजार रुपैयाँसम्म भाडा असुल्ने गरेको पाइएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहाल आफैं यात्रु बनेर छड्के चेकजाँचमा निस्कँदा सहचालकहरूले बढी भाडा असुल्ने प्रयास गरेको पाइएको थियो ।
प्रजिअ दाहालले भने, ‘केही सवारीका सहचालकहरूले तोकिएको भन्दा बढी भाडा असुल्ने मात्र होइन, बार्गेनिङसमेत गरेका रहेछन् । यस्तो काम सह्य छैन, कानूनी कारबाही हुन्छ ।’ यातायात व्यवसायीहरूलाई भाडा तोकिएअनुसार मात्र लिन र यात्रु सुरक्षामा ध्यान दिन प्रशासनले निर्देशन दिएको छ । साथै यात्रुहरूलाई पनि बढी भाडा असुल्ने वा असुरक्षित यात्रु सेवाबारे १०० र ११४० नम्बरमा जानकारी दिन अनुरोध गरिएको छ ।