–खेमलाल पहारी
गएको दसैँ–तिहारको बीचमा मलाई काठमाडौंदेखि नेपालगञ्जसम्मको हवाई यात्रा तय गर्नु थियो । लामो यात्रामा चिनेका मान्छे साथमा नभएको खण्डमा यात्राको आनन्द प्राप्त हुँदैन भन्ने मलाई पूर्ण ज्ञान थियो । मैँले मनमनै कामना गरें, कोही चिनेजानेको मानिस वा कोही मिठो बोल्ने वा मलाई सुनिदिने मान्छे मेरो सिटको छेवैमा परोस् । बुद्ध एयरको नियमित उडानबाट नेपालगन्ज प्रस्थान गर्नको लागि जसै म जहाजभित्र छिरें, मलाई याद भयो दसैं–तिहारको बेलामा काठमाडौंतर्फ जाने फ्लाइट खचाखच हुन्छ तर, काठमाडौंबाट बाहिर जाने उडानमा खासै यात्रु हुँदैनन् । नेपालको लागि लामो आन्तरिक हवाई यात्रा काठमाडौँदेखि नेपालगन्जसम्म झण्डै पौने घण्टाको उडानमा बोल्ने साथी नभएको खण्डमा यो उडान पनि निकै लामो सावित हुन्थ्यो । यो कुरा मलाई मेरो अनुभवले बताइरहेको थियो । सानो झोला आफ्नो पैतालाको छेउमा राखेर सुरक्षा पेटीलाई जिउमा कस्दै एउटा सुन्दर सहयात्रीको कल्पना गर्दै जस्तै म झ्यालबाट बाहिर हेरिरहेको थिएँ, शालीन स्वरमा अंग्रेजीमा क्षमा याचना गर्दै कुनै नारी स्वरले मसँग सोध्यो, “के म यहाँ हजुरको छेउको सिटमा बस्न सक्छु?” मैँले नउठाई कन जवाफ दिएँ, “हुन्छ, आरामसँग बस्नुस् ।”
अंग्रेजीमै धन्यवाद ज्ञापन गर्दै उनी मेरो नजिकै बसिन र कम्मरको पेटी बाँध्दै मसँग सोधिन्, “कहाँसम्म जान लाग्नु भाको ?” “यो जहाज अन्त कहाँ–कहाँ रोकिन्छ र?“ मैले प्रतिप्रश्न गरेँ । उनलाई आफ्नो गल्ति महशुस भएछ । मैले उनीतिर फर्केर हेर्दा उनि लाजले रातो भएर दुवै हातले आफ्नो मुख छोप्ने असफल प्रयत्न गरिरहेकी थिइन् । आफूलाई सम्हाल्दै उनले भनिन्, “मेरो मतलब तपाईको यात्रा नेपालगन्जसम्म मात्रै होकी त्यहाँबाट फेरि यात्रा अन्यत्र कतै जान्छ ?” “हैन हैन, नेपालगन्जसम्म मात्रै हो”, मैले भने । “तपाईंको वास्तविक घर काठमाडौं कि नेपालगन्ज?” उनले सोधिन् । मैले आफू चितवनको स्थायी बासिन्दा भएको र जागिरको सिलसिलामा काठमाडौंमा बसोबास गर्दै गरेको बताएँ । कामको सिलसिलामा आफू नेपालगन्ज जान लागेको पनि बताएँ । नारी भएकी हुनाले एकक्षण उनी चुप लाग्छिन् होला जस्तो मैले सोचिरहेको थिएँ तर, त्यसो भएन । छोटकरीमा उनका प्रश्नहरूको जवाफ दिँदै गएँ म । एकै क्षणमा जहाजमा हलचल सुरु भयो अर्थात् पंखारु चल्न सुरु गरेका थिए । मैदानका कर्मचारी पाङ्ग्राका अवरोध पन्छाएर झण्डा हल्लाउँदै थिए भने उडान परिचारिका पनि आफ्नो नियमित काममा जुटिसकेकी थिइन् । मैले उनीतिर फर्केर हेर्दा उनको लवाइबाट यस्तो लाग्दथ्यो कि उनी कुनै अस्पतालकी नर्स थिइन् । “कहाँ जागिर गर्नु हुन्छ अस्पतालकी नर्सिङ होममा ?” मैले सोधें । उनी केही बोलिनन् । मैले सोचें सायद उनी कुनै प्राइभेट क्लिनिकमा काम गर्थिन् होला । मैले सुनेको थिएँ नर्सहरु दुःख धेरै गर्छन् तर, पारिश्रमिक निकै कम पाउँछन् के तपाई आफ्नो काममा सन्तुष्ट हुनुहुन्छ मैले सोधें । उनले सकारात्मक संकेतमा शिर हल्लाईन् । दिनको कति घण्टा खट्नु पर्छ मैले सोधें । उनी केही बोलिनन् । शिर निहुराएर कर्के नजरले उनी मलाई हेरीरहेकी देखिन्थिन् । निर्दोष तर चंचल आँखाकी धनी, उनी पनि मभित्र केही खोजिरहेकी थिइन् ।
मैले ईश्वरलाई उनले मलाई सुनिदिएकोमा प्रणाम गरें । “त्यसरी कै गर्दै हुनुहुन्छ?” उनले सोधिन् । “मसँग बोल्ने साथी पठाइदिएकोमा ईश्वरलाई धन्यवाद दिएको”, मैले भनें, “मलाई यात्रामा बोल्ने साथै भएन भने दिक्क लाग्छ उहाँले मलाई बोलिरहने साथी पठाई दिनुभएछ ।” “हजुर पनि त ठट्टा गर्न माहिर हुनुहुँदा रहेछ”, उनले आँखा तर्दै भनिन् । तपाईं नर्स हो ? मैले फेरि सोधें । सायद उनले होको संकेत गरिन् । दिनमा कति पटक एन् एस उचाल्नुहुन्छ ? मेरो प्रश्नमा उनी वाल्ल परिन् । दिनमा कति भाईल घोच्नुहुन्छ ? मेरो यो प्रश्न पनि खेर गयो । उनी मुस्कुराइन् मात्र । “तपाईं कुन अस्पतालमा काम गर्नुहुन्छ जवाफ दिनुभएन नि ?” मैले फेरि सोधें । “के म नर्स जस्तो देखिन्छु र ? तर म नर्स होइन”, उनले भनिन् । मैले उनलाई राम्ररी नियालेर हेरें । उनको पोषाकमा उनी कुनै बैंकको कर्मचारीभन्दा कम देखिन्नथिन् । तपाईं बैंकर हो ? मैले सोधें । हो भनिन् क्यार ! एकछिन सोचेर मैले भने दिनमा कतिको ट्रान्ज्याक्शन गर्नुहुन्छ ? मतलब ? उनले प्रतिप्रश्न गरिन् । उनले प्रश्न गरे मेरो मतलब दिनमा कति पैसाको कारोबार गर्नुहुन्छ ? आफ्ना दुबै हातका औलाहरु गुजुल्टो पार्दै अँजुली बाँधेर उनले भनिन्, “त्यो त ग्राहकको इच्छामा भर पर्छ ।” त्यो त हो मैले सहमति जनाए । “बिहे गर्नु भयो ?”, मैले फेरि सोधे । हामीलाई कसले बिहे गर्छ । उनले निरास हुँदै भनिन् । तपाईंमा के कमी छ र मैले हेर्दा त हर तर्फबाट तपाईं योग्य देखिनुहुन्छ । कस्तो मान्छेको खोजीमा हुनुहुन्छ र ? उनी केहि बोलिनन् । मात्र मेरो शिरको छेउबाट झ्यालतिर हेरिन् । जहाज हावालाई चिर्दै बादललाई छेड्दै अगाडि बढिरहेको थियो ।
के हजुर विवाहित हो उनले मलाई सोधिन् । मैले छैनमा शिर हल्लाउँदै भनें एउटी कन्या कमारीको खोजीमा छु । आफै कुमार हुनुहुन्न जस्तै देखिनुहुन्छ । उनको कुरा सुनेर बैंस जागेर आयो तर, समाजमा कायम आफ्नोे सम्मानले मलाई सतर्क गरायो । सम्हालिएर बसें । “
“हजुर शाकाहारी कि मांशाहारी ?”, उनले सोधिन् । “सर्वहारी !”, मैले भनें ।
“कहिल्यै आमालाई ढाँटेर बाहिर बस्नुभएको छ ?”
“छैन, किन ?”
“छोरामान्छेहरू आफ्नोे भान्छामा पस्केको छोडेर अर्काको घरमा लुकाएर राखेको चोरेर खान आतुर हुन्छन् । अझै तरुनो भेटे भने खाने र फाल्ने सबै मुखमा थुतुनो गाड्छन् । मसँग यस्तो कुरा नगर्नुस् दलालीको मिशिल तयार गरेर यस्तो बहस गर्छुकि धरौटीमा समेत रिहा हुनुहुने छैन ।”
मैले बोलिरहँदा मन र मस्तिष्कको बिचमा द्वन्द सुरु भएको थियो । मैले अघिसम्म तपाईंलाई कुनै सुकुमारी हुनुपर्छ भन्ने सोचिरहेको थिएँ तर, तपाईं फरक हुनुहुँहोरहेछ ।
‘कुमारी’ शब्द दोहोर्याउँदै उनी शिर जहाजको छततिर फर्काएर के–के सोच्न थालिन् । हजुर पनि त फरक हुनुहुँदोरहेछ मनमा एक मस्तिष्कमा अनेक । अघि मलाई छेउमा पाउँदा हजुरको अनुहार जलल बलेको मैले अनुभव गरेकी थिएँ । तर मलाई मेरो मर्यादा हरपल याद रहन्छ मैले भनें । के सोच्दै हुनुहुन्छ ?
“के तपाई कुनै कानुन व्यवसायी हो”, उनले सोधिन् । मैले भने हो म यो सहरको यो देशकै एउटा नाम चलेको इमान्दार राष्ट्रप्रेमी कानुन व्यवसायी हुँ ।
“एउटा एउटा मुद्दा लडेको कति लिनुहुन्छ ?” उनले सोधिन् । “तपाईं आफ्नो समस्या खुलस्त बताउनुस् के थाहा म सित्तैमा पो केश लडिदिन्छु कि !”, मैले भनें, “तर तपाईंले मलाई कुनै पनि कुरा लुकाउनु हुँदैन सबै कुरा सत्य सत्य बताउनुभयो भने हुनसक्छ । मैले तपाईंले सोच्दै नसोचेको शुल्क लिएर तपाइँको मुद्दा लडिदिन सक्छु तर, कुनै कुरा झुटो बोल्नु भएको थाहा पाएँ भने मैले मुद्दा बीचमै छोडिदिन्छु । म हजुरलाई काठमाडौंमा कहाँ भेट्न सक्छु ?”, मैले खल्तीबाट मेरो कार्ड निकालेर उनलाई दिएँ र उनीसँग बाट पनि कार्ड पाउने हेतुले हात पसारी रहे ।
“मसँग हजुरलाई दिन कुनै कार्ड छैन म हजुरलाई हजुरले दिएको नम्बरमा फोन गर्नेछु”, उनले भनिन् । यात्राको क्रममा भलाकुसारी सहित एउटा नयाँ प्रकृतिको केशवाला ग्राहक पाएकोमा म दंग थिएँ । मलाई मुद्दाको कुनै कमी थिएन तैपनि यी नौली युवती को मुद्दा लडेर जिते भने उनी कत्ति प्रभावित होलिन् भन्ने कल्पनाले म रोमान्चित भइरहेको थिएँ । “तपाई के काम गर्नुहुन्छ ?”, मैले सोधें ।
“रिसाउन पाउनुहुन्छ तर घृणा देखाउन पाउनुहुन्न । बाचा गर्नुहोस्”, मैले बाचा गरें । उनले आफ्नो हातमा केहि लेखेर मलाई देखाईन् । त्यो पढेर मेरो होस् उड्यो । जहाजमा भ्वाङ्ग पर्यो र म पातालमा धसिएँ । उनले लेखेकी थिइन् ‘कलगर्ल’ मतलब उनी वेश्या थिइन् । पुग नपुग बीस वर्षकी, अघिकी सुकुमारी अहिले वेश्या बन्दा मेरो बन्दाबन्दैको घर गल्र्याम्म गुर्लुम् लडेको थियो । उनी जोसुकै होउन् मलाई के वास्ता ! मेरो लागि उनी एउटा नयाँ ग्राहक मात्रै थिइन् ।
“के कसैसँग गरेको सम्झौता भंग भएको छ अथवा वचन दिएको रकम प्राप्त भएको छैन ?”
पछि भेटेर भन्छु उनले भनिन्, काठमाडौंमा भेट्न सक्छु नि ? “हामीहरुसँग भेट गर्दा हजुरहरूको इज्जत पो जाने होकी ?”, उनले आशंका जनाइन् ।
झन्डै आधा दर्जन सिर हरु हामीतिर झुकेर हाम्रो वार्तालाप सुनिरहेका थिए हुनसक्छ भिन्नभिन्न मानिसहरूको हाम्रो वार्तालापमा भिन्नभिन्न चासो थियो । कुराकानीमा मैले थाहा पाएँ सत्रै वर्षको उमेरमा आफ्नै काकाबाट लुटिएर उनी यो पेशामा होमिएकी थिइन् । ठुलाबडासँगको संगत रहेछ उनको । आम्दानी पनि राम्रो रहेछ । तर उनको कुनै दर्तावाला संस्था थिएन । न त उनी नेपाल सरकारलाई कुनै आयकर तिर्थिन् न त उनको जीवन बिमा नै थियो । कसैले बोलाएको भरमा आफ्नो शरीरका हरेक अंगको मूल्य तोक्ने गर्थिन् । उनी रातभरी कुनै धनाड्यको रत्न जडित पलङमा महारानीको ऐस आराम गर्दथिन् र उज्यालो भएपछि भरे साँझ नपरुन्जेल एउटा गुमनाम जिन्दगी व्यतित गर्दथिन् । कुनै बन्द कोठामा ककुनभित्र पसेको लार्भाले जस्तै । लार्भा त समयसँगै पुतली बनेर बाहिर आउँथ्यो तर, उनको भाग्य लार्भाको जति पनि थिएन । उनको पेटको ककुनमा राजधानीको कुनै धनाढ्य व्यापारीको लार्भा पुतली बन्न हुर्किंदै रहेछ । उनी त्यसलाई आफ्नोे बगैचामा स्वतन्त्र रुपमा हुर्काउन चाँहदिरहिछन् तर, व्यापारी उनलाई भ्रुण हत्याको लागि डराउने धम्क्याउने गर्दै रहेछ ।
“मलाई यो बच्चा पाउने हुर्काउने अधिकार दिलाइदिनु हुन्छ ?”, उनले आफ्नो पेटमा हात राख्दै भनिन् । “हामी काठमाडौँ गएपछि यसका बारेमा सल्लाह गर्ने छौं”, मैले भने ।
“म कहाँ आउने धेरै वकिलहरुले मलाई यसै भनेर टारे हजुरले त मलाई टार्नु हुन्न नि ?”, उनले आशावादी हुँदै भनिन् ।
“म तपाईलाई अवश्य न्याय दिलाउने छु”, मैले भने ।
नेपालगंज हवाई मैदानमा हाम्रो जहाज अवतरण भइसकेको थियो । हामी छुट्टिदै थियौं तर, अझै धेरै कुरा गर्न बाँकी नै थियो हवाई मैदानको बहिर्गमन कक्षबाट टाँगा पार्कसम्म जाँदैगर्दा मैले उनलाई भने, “तपाईं आफ्नो एउटा संगठन बनाउनुस्, संस्था दर्ता गर्नुहोस्, सरकारलाई आय कर तिर्नुहोस् । तपाईंलाई कसैले केही गर्न सक्नेछैन । म तपाईहरूको मुद्दा लड्ने छु । कोही त्यस्तो राजा महाराजा छन् ? मन्त्री नेता–कार्यकर्ता कर्मचारी कोही छ जो तपाईँहरूको शरणमा नआएको होस् वा आउन नचाहेको होस् ? एकाध छोडेर यो दुनियाका मानिसहरु आफ्नो मन बहलाउन तपाईंहरूको सहारा लिन सक्छन् भने तपाईहरुलाई संगठित भएर अगाडि बढ्न किन दिँईंदैन ? हिम्मत गर्ने हो भने तपाईंहरूको जित अवश्य हुनेछ । श्लील अश्लील भन्नेकुरा मानिसको हेराइमा र उसको व्यवहारमा भर पर्छ । जोसँग जे कुरा छ उसले त्यसलाई कानुनी हिसाबबाट जीवनयापनको बाटो र आयआर्जनको स्रोत बनाउन पाउनु पर्छ । हामीहरु बहस गर्छौं । शिक्षकहरु पढाउँछन्, कृषकहरु खेतीपाती गर्छन् । एउटा पसले जीवनभर पसल चलाउन सक्छ । एउटा शिक्षक निवृत हुने बेलासम्म पढाउन सक्छ । तपाईहरु पनि आफ्नोे शरीरले साथ दिने बेलासम्म सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर ढुक्क भएर सुरक्षित रुपमा इज्जतका साथ किन आफ्नो व्यवसाय गर्न सक्नुहुन्न ? जब तपाईं डराउनुहुन्छ । तपाईलाई भुसुनाले पनि हेप्छ । जब तपाईँ संगठित हुनुहुन्छ, तपाईँ बलियो , तपाईँलाई मेरो शुभकामना छ । तपाईं मलाई मेरै निवासमा आएर मलाई मेरो परिवारकै बिचमा भेट्न सक्नुहुन्छ । मेरी आमासँग कुरा गर्न सक्नुहुन्छ । म अवश्य तपाईंको मुद्दा लड्ने छु ।”
उनको टाँगा अगाडि बढ्यो मेरो टाँगा पनि अगाडि बढ्यो हामी छुट्टियौं । दिनभरि मनमा कुरा खेलिरह्यो– यदि समाजमा यौन पिपाषुहरू लुकेर, ढाँटेर, छलेर किनेर ललाएर फकाएर, डराएर धम्काएर, मरेर, मारेर आफ्नोे हवस मेटाउन सक्छन् भने यौनलाई नै आयश्रोत बनाएर जीवन जिउन बाध्य यौनिक सेवाप्रदायकहरू संगठित भएर, संस्था दर्तत गरेर सरकारलाई कर तिरेर किन आफ्नो व्यवसाय सञ्चालन गर्न सक्दैनन् ?
म उनलाई फेरि भेट्नेछु । उनको गर्भको भ्रुण पुतली भएर जन्मने छ । बाबुको नामसहित, म उसलाई उसकी आमाको नामबाट नागरिकता दिलाउने छु । यो मेरो भीष्म प्रतिज्ञा हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies