
काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको भन्ने आशयका समाचार विभिन्न सञ्चार माध्यममा आएकोप्रति प्रधानमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको छ
प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ - 'केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ ।'
विज्ञप्तिमा कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको भन्दै कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने बताइएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ - 'जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ ।'
विगत केहिदिन देखि प्रधानमन्त्री कार्की र मेयर बालेनबीच गृहमन्त्री अर्याललाई हटाउनुपर्ने विषयमा छलफल भइरहेको समाचारहरू प्रकासित भएका थिए । गृहमन्त्री अर्यालले भदौ २३ गतेको आन्दोलनमा बल प्रयोगको आदेश दिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने मेयर बालेनको माग थियो । तर भदौ २४ का दोषीहरूलाई पक्राउ गरी कारबाही गर्न थालिएपछि मेयर बालेनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको भन्ने बिषय निराधार भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्ति