
काठमाडौँ : रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालस्थित मध्य पहाडी लोक मार्गमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
शनिबार राति लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा १ ह ६७९७ नम्बरको अटो सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुकुम पूर्व अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार उपचारका क्रममा भूमे-१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका २६ वर्षीय प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीय ब्युटी पुन, २ वर्षीया समृद्धि पुन र ३ वर्षीय सक्षम घर्ती सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अटो चालक भूमे-१ लुकुमका २९ वर्षीय जोते घर्ती फरार छन् ।