
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागन २१ का लागि तोकिएको निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यामहरूले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आइतबार सार्वजनिक सेवा प्रसारण तथा एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत र सुदृढ बनाउन सो निर्वाचन घोषणा गरिएको उल्लेख गरे ।
उनले निर्वाचनलाई सफल बनाउनका लागि सञ्चारमाध्यामहरू अझ बढी क्रियाशील हुनुपर्ने स्पष्ट पारे । उनले सरकारी सञ्चारमाध्यामहरूले लोकतन्त्रको सुदुढीकरणमा बढी जोड दिनुपर्ने समेत बताए ।
राष्ट्रपति पौडेलले नेपालको संस्कृति, भेषभूषा, भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यता, पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहरहरू र नविन सोच तथा उपलब्धिहरूलाई विश्व समक्ष चिनाउन एनटिभी वर्ल्ड च्यानलले महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।
राष्ट्रपति पौडेलले जनतालाई सही सूचना दिने कुरामा सञ्चारमाध्यामहरूले गम्भीरतापूर्वक काम गर्नुपर्ने पनि बताए ।