
दोहा कतार : विश्व साइकल यात्री निरञ्जन अर्याल कतारमा सम्मानित भएका छन् । सगरमाथादेखि अन्टार्कटिकासम्म साइकलमै घुम्ने लक्ष्यसहित विश्व यात्रामा निस्केका अर्यालले जलवायु सचेतना र मानिसका जीवनका मूल्य, मानसिक शान्ति र सकारात्मक सोचप्रति सचेत गराउने मुख्य उद्देश्य बोकेका छन् ।
दोस्रो चरणको भ्रमणमा कतारमा रहेका यात्रीलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारले एक कार्यक्रमका बीच उनको साहस र देशको नाम विश्व मञ्चमा चिनाउन गरेको योगदानको कदर गर्दै खादा ओढाएर सम्मान पत्रसहित सम्मान गरेको हो ।
सम्मानपछि बोल्दै अर्यालले कतारको नेपाली समुदायको मेरुदण्ड एनसिसीले दिएको साथ र सम्मानले आगामी दिनको यात्रामा आफूलाई थप ऊर्जा थप्ने र प्रेरणा मिल्ने बताए । उनले पहिलो चरणमा थाइल्यान्ड, लाओस, कम्बोडिया, चीन, मलेसिया, सिगांपुर र भारत गरेर आठ वटा देश भ्रमण गरिसकेको र दोस्रो चरणमा साउदी अरबको भ्रमण सकेर कतार आइपुगेको जानकारी दिए । कतार भ्रमणपछि आगामी महिना ओमान हुँदै अफ्रिकी मुलुकतर्फको यात्रा जारी रहने उनले बताए ।
भ्रमण गरेर अन्तर्राष्ट्रिय स्तरमा जलवायु परिवर्तन र वातावरणीय चुनौतीप्रति सचेत बनाउने र आफ्नो राष्ट्रलाई विश्वमाझ चिनाउने आफ्नो उद्देश्य रहेको उनी बताउँछन् । लामो दूरीको यात्रामा फरक–फरक देशका फरक नियम कानुन, सडक र यातयातहरू सँगै आर्थिक चुनौती मुख्य समस्या रहेको उनले बताए । यात्रामा विभिन्न बाधा अप्ठ्याराहरूलाई सामना गर्दै आफ्नो सपना पूरा गर्ने यात्रीको लक्ष्य रहेको छ ।
एनसिसीका अध्यक्ष कृष्ण पन्थीले अर्यालको हिम्मत र साहसको प्रशंसा गर्दै यो प्रयास प्रेरणादायी रहेको बताए । पन्थीले देशको झन्डा बोकेर राष्ट्रको परिचय फैलाउन हिँडेका अर्याललाई प्रवासमा रहेका नेपालीहरूले सहयोग गरिदिन समेत सबैलाई आग्रह गरे । विश्व यात्राले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्दत पुग्ने बताउँदै विश्वको जुनसुकै देशमा पनि समस्या परेमा आफूलाई सम्पर्क गर्न आग्रह गर्दै सफल यात्राको शुभकामना दिएका थिए ।