
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल शिक्षक महासंघ, प्राध्यापक र शिक्षाका निकायका कर्मचारीका संघसंगठन गैरराजनीतिक चरित्रको बनाउन आह्वान गरेका छन् ।
मन्त्री पुनले आज विज्ञप्ति जारी गर्दै साझा प्रकृतिको ट्रेड युनियन संगठन हुनुपर्ने र उनीहरुले पेसागत हकहितका लागि सामूहिक सौदाबाजी गर्न पाउनुपर्नेमा आफू स्पष्ट भएको तर राजनीतिक दलको जनसंगठन तथा शुभेच्छुक संस्थामा रहेका शिक्षक–प्राध्यापक संगठनलाई आफूले मान्यता नदिने बताए ।
मन्त्री पुनले आफूलाई विभिन्न माध्यमबाट प्राप्त सुझाव र गुनासोमा शिक्षक–प्राध्यापकले आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भई शैक्षिक गुणस्तरमा प्रतिकूल असर परेको पाइएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
“आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको पाइए कानुनबमोजिम कारबाही गरिने छ”, विज्ञप्तिमा भनिएको छ ।