
काठमाडौंः कीर्तिपुर निर्माण व्यवसायी संघले त्रिभुवन विश्व विद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
संघले सोमवार विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल, रेक्टर खड्ग केसी लगायतका पदाधिकारीहरुलाई भेटी कारबाही गर्न माग गरेको हो । संघले निर्माण व्यवसायीले सम्पूर्ण प्रक्रिया पूरा गरी ठेक्का प्रक्रियामार्फत चमेना गृहको निर्माण थालेपनि अनुचित लाभ उठाउने नियतले केही विद्यार्थी नेताहरुले बार्गेनिङ गरेको आरोप लगाएको छ ।
निर्माण व्यवसायीलाई धम्काउने, तर्साउने तथा निर्माण कार्य रोक्ने गतिविधि भएको काठमाडौं उपत्यकाका निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जनले जानकारी दिए । उनले निर्माण व्यवसायीसँग पैसा माग्ने, थर्काउनेलाई तत्काल कारबाहीको दायरमा ल्याएर निर्माण कार्य सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन माग गरे । उनले विश्वविद्यालयको निर्माण कार्यमा स्थानीय बासीलाई प्राथमिकतामा राख्ने विगतको सम्झौतालाई पनि स्मरण गराए ।
त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले विद्यार्थीमाथी भएको कुटपिट र निर्माण व्यवसायीसँग बार्गेनिङ गरिएको भन्ने दुवै घटनाको अनुसन्धान गर्ने बताए । उनले ठेक्का प्रक्रिया नियमअनुसार नै भएको उल्लेख गरे । निर्माण व्यवसायीसँग विद्यार्थीले गरेको सौदाबाजीको घटनाले आफूलाई लज्जित बनाएको उनको भनाइ छ । उनले समुदाय र विश्वविद्यालयबीचको सम्बन्धलाई सधै सुमधुर राख्नुपर्नेमा पनि जोड दिए ।
उनले भने, ‘विद्यार्थीहरुमाथी जुन घटना भयो त्यो पनि दुखद् भयो । त्यसका प्रति म पनि दुख व्यक्त गर्न चाहन्छु । तर हाम्रो सनम महर्जनजीले जुन कुरा बाहीर ल्याउनुभएको छ । यसलाई राम्रै अनुसन्धान गर्नुपर्छ र समस्याको पहिचान चाहीँ सदाको लागि समाधान र स्थानिय र विश्वविद्यालयबीचको सुमधुर सम्बन्धको प्रस्थानबिन्दु होस् यो घटना । मलाई लाग्छ, अहिलेको शताब्दीमा रुल अफ ल अनुसार कन्ट्रक्सन हुन्छ, कसैले किताव किन्छ, कसैले कम्प्युटर किन्छ, यो रुल अफ ल खरिद ऐन छ, त्यो ऐनअनुसार नै हुन्छ, होला । यो टेण्डरमा चाहीँ के भयो डिटेल आईपुगेको छैन । तर मलाई आहात भएको हाम्रो सुरेन्द्र कर्मचार्यहरु जसले विश्वविद्यालयको नियमअनुसार टेण्डर हालेर प्राप्त गर्नुभएको छ, उहाँहरुसंग सौदाबाजी गरेको भनेर सुन्दाखेरी चाहीँ हामी कस्तो शिक्षा दिक्षा दिइरहेका छौँ । साँच्चिकै विद्यार्थीको परिचय त्यस्तै हो त । विश्वविद्यालयले त समाज परिवर्तनको रोल मोडल हुनुपर्ने हो । विश्वविद्यालय संस्कार निर्माण गर्ने थलो हो । तर हामीले कस्तो संस्कार निर्माण गरेछौँ । कस्तो पढाएछौँ त भनेर आफैलाई पनि दुःखी बनाएको छ ।’
त्रिभुवन विश्वविद्यालयकाका उपकुलपति प्राडा दीपक अर्यालले विद्यार्थी र निर्माण व्यवसायीसंगको छलफल र वार्ताको माध्यामबाट समाधान निकाल्ने प्रतिवद्धता जनाए । उनले विद्यार्थीमाथी पनि कुटपिट भएकोले दवबै घटनामा संलग्नलाई कारबाही गर्ने बताए । उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयको बीचमा निर्माण हुन लागेको चमेना गृह निर्माण परियोजना विद्यार्थीहरूको विरोधका कारण अस्थायी रूपमा रोकिएको छ । साउनदेखि सुरु गरिएको निर्माण प्रक्रियामा विद्यार्थीले रुख नकाट्न र सो क्षेत्रमा नबनाउन त्रिवि प्रशासनलाई दबाब दिँदै आएका थिए । गत मंगलवार सोही विषयलाई लिएर विद्यार्थी र निर्माण व्यवसायी बिच झडपको स्थिति सृजना भएको थियो ।