प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडि सरकारले स्थानीय चुनाव नगराउन चाहेको आरोप लगाए । आगामी वैशाखमा हुनुपर्ने स्थानीय चुनाव नगराउने तयारीमा सरकार रहेको ओलीको भनाइ थियो । असंवैधानिक कदम चाल्दै प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गर्ने ओलीको चुनावी चाहना राजनीतिक अभिव्यक्ति रहेको आशंका गर्न सकिन्छ । गएको वर्ष पुस ५ गते ओलीले प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेका थिए । तर ओलीको असंवैधानिक निर्णय सर्वोच्च अदालतबाट बदर भयो । ११ फागुन २०७५ मा प्रतिनिधिसभा पुनर्स्थापना भयो । फेरि ओलीले २०७८ जेठको मध्यराति दोस्रोपटक प्रतिनिधिसभा विघटनको निर्णय लिए । त्यो पनि सर्वोच्च अदालतले बदर गरिदियो ।
दोस्रोपटक प्रतिनिधिसभा विघटनको निर्णयमा परेको रिटमाथि भने मागदावी बमोजिम सर्वोच्च अदालतले ओलीलाई पदमुक्त गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो । पाँच वर्षे जनमत विपरीत ओलीले कदम चालेपछि विपक्षी भूमिकामा पुगेका ओलीले लगातार ताजा जनादेशको पक्षमा वकालत बोलिरहेका छन् । जबकी मुलुकमा अहिले पनि चुनाव गराउनु खतरापूर्ण छ । किनभने लगातार कोरोना संक्रमण बढिरहेको छ । तेस्रो लहरको संक्रमण उच्च दरमा बढिरहँदा ओलीले सरकार चुनावको पक्षमा नरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटन गरी मध्यावधिको वकालत गर्नु र स्थानीय तहको नियमित चुनाव नगराउनु एउटै होइन । किनभने स्थानीय तहको चुनाव समयमा हुन सकेन भने कानूनी अड्चन आउनेछ भने संविधानको शासन कमजोर हुनेछ ।
तर ओलीको आरोप अभिव्यक्त भएलगत्तै बुधबार निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएका छन् । शुक्रबार बिहान ११ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएका छन् । यो सर्वदलीय बैठकको एजेण्डा राष्ट्रियसभाको चुनावी तयारी र स्थानीय तहको चुनावको तयारी रहेको आयोगले जनाएको छ । दलहरूको परामर्शमा आयोगले स्थानीय चुनावको तयारी गर्नेछ । तर फेरि संक्रमणको खतरा हटिसकेको छैन । यदि कोरोना महामारीको खतरा कम भएमा स्थानीय चुनाव नियमित गराउनुको विकल्प छैन । तर सामान्य अवस्थामा चुनाव नगराउनु सरकार र संविधानको असफलता हो । त्यसैले चुनावलाई सन्देहको विषय बनाउनु भन्दा पनि दलहरुबीच यो बेला राष्ट्रिय एकताको खाँचो छ । परिस्थिति हेरेर नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्दै विश्वासका साथ निर्णय गर्न लिन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies