२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

सरकार पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि प्रतिबद्ध छ : सञ्चारमन्त्री खरेल

shivam cement
२०८२ कार्तिक २४ गते २१:३३
Shares
सरकार पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि प्रतिबद्ध छ : सञ्चारमन्त्री खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार पत्रकारको हकहित र पेशागत सुरक्षासँगै प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताएका छन् । आज मन्त्रालयमा नेपाल पत्रकार महासंघका पदाधिकारीसँगको छलफलमा मन्त्री खरेलले पत्रकारको जीवन सुरक्षा र पेशागत, व्यवसायिक सुरक्षाका लागि आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

सञ्चारमन्त्री खरेलले सरकार र पत्रकार महासंघसँग नीतिगतलगायत विषयमा हातेमालो गरेर अगाडि बढ्न पनि तयार रहेको बताए । उनले समग्र पत्रकारिता क्षेत्रको व्यवसायिक दक्षता अभिवृद्धि, सामाजिक सुरक्षालगायत विषयमा महासंघसँग नीतिगत छलफल र समझदारीका आधारमा अघि बढ्ने उल्लेख गरे ।

उनले महासंघले उठाएको विषयलाई कार्यान्वयन गर्दै जाने भन्दै रचनात्मक सुझाव दिन आग्रह गरे । उनले अगाडि भने, “अबको कुनैपनि नीतिगत छलफलमा मन्त्रालय र महासङ्घको समन्वय र सहमतिमा काम अगाडि बढाउनुपर्छ ।”

मन्त्री खरेलले पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितताका लागि सरकारले आवश्यक पहल गर्ने बताए । साथै उनले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन मन्त्रालयले समिति गठन गरेर काम सुरु गरेको र सुरुमा सरकारी सञ्चारमाध्यमबाट लागू हुने जानकारी दिए ।

महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेशागत र भौतिक सुरक्षाका साथै नीतिगत सुधारका लागि मन्त्रालयको ध्यानाकर्षण गराए । उनले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन र मिडिया हाउस र समग्र पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि सरकारसँग सहकार्य गरेर अगाडि बढ्न महासंघ तयार रहेको उल्लेख गरे । महासंघका महासचिव रामजी दाहालले महासंघको ध्यानाकर्षण पत्र पढेर सुनाए ।

महासंघका अध्यक्ष शर्माको नेतृत्वको टोलीले महासंघको आगामी कार्ययोजना र मन्त्रालयकोतर्फबाट गर्नुपर्ने सहजीकरणलगायत विषयको नौ बुँदे ज्ञापनपत्र सञ्चारमन्त्री खरेलसमक्ष बुझाएको हो । ज्ञापनपत्र ग्रहणगर्दै मन्त्री खरेलले मन्त्रालयकोतर्फबाट सहयोग गर्ने वचन दिए । नीतिनिर्माणमा साझेदारी, जेनजी आन्दोलनका क्रममा घाइते पत्रकारका लागि उचित राहत तथा क्षतिपूर्तिको प्रबन्ध मिलाउन, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन,लगायत विषयमा मन्त्रालयकोतर्फबाट समन्वय र सहजिकरण गरिदिन महासंघले आग्रह गरेको छ ।

ADV

सम्बन्धित खबर