काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा र नयाँ कार्यसमितिका लागि तोकिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि वैदेशिक रोजगार व्यवसायीहरू बीच आरोप प्रत्यारोप गहिरिएर जाने संकेत देखिएको छ ।
मुलुकभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेको र कोभिड क्राइसिस केन्द्रीय व्यवस्थापन समिति (सीसीएमसी)ले सतर्कता अपनाउन विज्ञप्ति जारी गरेपछि संघले मंगलबार साधारणसभा र निर्वाचनको कार्यक्रम अनिश्चितकालका लागि स्थगन गर्दै निर्वाचन समिति पनि विघटन गरेको थियोे । संघको उक्त निर्णयप्रति प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले संस्थागतरूपमा गम्भीर आपत्ति जनाएको छ ।
संघ कार्यसमितिमाथि आर्थिक अनियमितता सम्मका विभिन्न आरोपहरू लगाउँदै मञ्चले व्यवसायीहरूले बुझाएको वार्षिक सदस्यता शुल्क (लेभी) समेत फिर्ता गरिनुपर्ने माग गरेको छ । निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा कार्यसमितिले निर्वाचन समिति विघटन गर्नु संघको विधान अनुसारको काम नभएको मञ्चको भनाइ छ ।
मञ्चका महासचिव डिक बहादुर केसी (कुमार)ले बिहीबार विज्ञप्ति जारी गर्दै व्यवसायीको हित रक्षाका लागि सहमतिमा नयाँ कार्यसमिति चयन गर्ने सर्वपक्षीय सहमति विपरीत नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र नेपाल वैदेशिक रोजगार गणतान्त्रिक व्यवसायी मञ्चसँग आवद्ध जिम्मेवार व्यक्तिहरुले सहमति बिथोल्ने गरी उम्मेद्वारी दर्ता गराएको र बागी उम्मेद्वारहरूलाई कारबाही गर्नुको सट्टा संघ कार्यसमितीलाई उचालेर निर्वाचन भाँड्ने र अवैधानिक ढंगले कार्यसमितिको कार्यकाल लम्ब्याउने प्रयत्न गर्नु घोर निन्दनीय र भत्र्सना योग्य रहेको उल्लेख गरेका छन् ।
मतदानको अन्तिम तयारीमा जुटेको अवस्थामा निर्वाचन समिति भंग गर्ने निर्णय आम व्यवसायीको हितविपरीत हुने भन्दै विज्ञप्तिमा मञ्चले विधान विपरीत निर्वाचन समिति विघटन गर्ने निर्णय फिर्ता लिई कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाएर यथाशीघ्र निर्वाचन प्रक्रियालाई अगाडि बढाउन पनि माग गरेको छ ।
सर्वसम्मतिले नेतृत्व छनोट गरेर व्यवसायीमाथि भएको आक्रमणलाई परास्त गर्न र व्यवसायीका जायज मागहरुलाई निर्णयमा पु¥याउनको निमित्त मञ्चले यस पटक हदैसम्मको लचकता देखाएर त्याग गरेकोे भन्दै आम व्यवसायीले मुल्यांकन गर्नुपर्ने मञ्चको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा संघलाई व्यवसायी विरोधी तत्वहरुको हालीमुहालीको स्थल बनाउन नहुनेमा जोड दिइएको छ ।
संघ कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चद्वारा प्रस्तावित मञ्चका पूर्वअध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले संघ नेतृत्वले आम व्यवसायीबाट वैधानिकता गुमाएको भन्दै त्यसको विरोधमा संघमा तालाबन्दी गरिने बताए । संघ सिमित व्यक्तिको स्वार्थपूर्तिको माध्यम मात्रै बनेको भन्दै पाण्डेले संघको समानान्तर हुने गरी अर्को संघ जन्माउनु पर्ने अवस्था विकास भएको विषयमा व्यवसायीहरू बीच छलफल शुरू भएको समेत बताए । संख्या सयको समाधान, सेवा शुल्क परिमार्जनलगायत सुधारका काममा संघको भूमिका नदेखिएको भन्दै संकटको अवस्थामा लेभी मात्रै तिरेर संस्था राखिराख्नुको आवश्यकता समेत नदेखिएको उनको आक्रोश थियोे ।
संघका कार्यवाहक अध्यक्ष कमल तामाङले निर्वाचन समितिले पुस २७ गते नै सीसीएमसीले विज्ञप्ति उदृत गर्दै जिल्ला प्रशासन कार्यालयको अनुमति नभएमा साधारणसभा पछि निर्वाचन गराउन नसकिने पत्र पठाएकोले त्यसको भोलि पल्ट पुस २८ गतेमात्र निर्वाचन कार्यक्रम स्थगित गरिएको भन्दै कार्यकाल लम्ब्याउन प्रपञ्च रचेको भन्ने आरोप क्षणिक आवेग मात्रै भएको बताए ।
सहमति जुटाउन नै पटकपटक उम्मेद्वारी फिर्ता लिने समय थप गराएको भन्दै कार्यवाहक अध्यक्ष तामाङले आफूले सहमतिको उच्चतम प्रयास गर्दागर्दै अध्यक्षमा सहमति नजुट्नु नै चिन्ताको विषय भएको दाबी गर्दै निर्वाचन स्थगित भइसकेको अवस्थामा आरोप प्रत्यारोपको अर्थ नरहेको टिप्पणी गरे । ‘अब कसरी साधारणसभा र निर्वाचन गराउन सकिन्छ त्यसतर्फ सबैले सोच्नुपर्छ,’ उनले भने ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले निर्वाचन समिति भंग हुनुलाई अनपेक्षित भन्दै त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सहमतिको आधारमा नेतृत्व चयन गर्ने समझदारी विपरीत गणतान्त्रिक मञ्चका तर्फबाट आफ्नो भागमा नपरेको अध्यक्ष पदमा उम्मेद्वारी दिइएको अवस्थामा छलफलका माध्यमबाट समस्याको समाधानको पहल नभई नयाँ नेतृत्व छान्ने काम अनुचित विलम्ब उन्मुख भएकोले आगामी दिनमा बृहत समझदारीको साक्षी बसेर व्यवसायीको हित नहुने निष्कर्षमा एसोसिएसन पुगेको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies