
काठमाडौंः मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै दबाबमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदीले बर्दिवासस्थित होटलमा शपथ ग्रहण गराएको स्पष्टिकरण दिएका छन्।
नवनियुक्त मुख्यमन्त्री यादवले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो स्पष्टिकरण दिएका हुन् । आफूलाई नियुक्ति पत्र दिइएको तर शपथ ग्रहण नगराई प्रदेश प्रमुख सुवेदी काठमाडौं जान लागेको जानकारी पाएपछि आफूले जसरी भएपनि शपथ ग्रहण गराउन दबाब दिएको उनको स्वीकारोक्ति छ ।
उनले लोसपा लगायत केही पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई शपथ लिन नदिने जानकारी पाएपछि सुरक्षित स्थानमा शपथ ग्रहण गर्नुपरेको यादवको भनाइ छ । ठूलो दलको हैसियतमा नेकपा (एमाले) संसदीय दलका नेता यादवलाई कात्तिक २४ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुवेदीले मुख्यमन्त्रीमा नियुक्त गरेका थिइन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘उहाँ काठमाडौं जान लाग्नुभयो, मेरो शपथ नहुने भयो भनेर मलाई जानकार आइसकेपछि मैले उहाँलाई दबाब दिएकै हो । मुख्यमन्त्री नियुक्त गर्नुभयो तर सपथ नगराउने हो मैले र एमालेले तपाईलाई घेर्छ भन्ने कुरा भनेको हो । केयरटेकरको रुपमा मुख्यमन्त्री छ । नयाँ मुख्यमन्त्रीको नियुक्ति भइसक्यो । तपाईले शपथ नखुवाईकन मेरो पद सक्रिय हुनेवाला छैन । त्यसकारण तपाई कता हुनुहुन्छ रु त्यहीबाट शपथ गराईदिनुहोस् भनेर मैले बोलेकै हो । त्यसपछि उहाँले निस्किसकेको छु बर्दिवासस्थित पानस होटलमा बोलाउनुभयो । त्यही गएर मैले नियुक्तिअनुसार शथप खाएको हो ।’
उनले प्रदेशमा उत्पन्न राजनीतिक अवस्था मधेस र मुलुकको लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चुनौतीका रुपमा खडा भएको पनि बताए । उनले सरकारलाई सहयोग गर्नको लागि सहयोग गर्न सबै राजनीतिक दलहरुलाई आह्वान समेत गरे । मुख्यमन्त्री यादवको नियुक्ति र शपथ विवादमा परेपछि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र यादवले प्रदेश प्रमुख सुवेदीलाई पदमुक्त गरेका छन् ।