काठमाडौं : गायक तथा संगीतकार अंकितबाबु अधिकारीको सांगीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको स्वर, शब्द र संगीत समावेश छ ।
गीतलाई भारतको पश्चिम बंगालका उत्कृष्ट संगीतकार सुमित विश्वकर्माले संयोजन गरेको हो । कुनै क्याफेमा कफी पिउँदै गर्दा अर्को टेबलमा बसेको कसैले तपाईंको ध्यान खिचेको छ ? कफी जत्तिकै सुन्दर, मीठो अनि माया–लाग्दो ! साँच्चिकै यस्तो अनुभव गर्नुभएको छ भने यो भिडियो पूरा हेर्नुपर्ने अधिकारीको भनाइ छ ।
भिडियोमा एक युवकलाई कफी पिउँदै गर्दा अर्को टेबलमा बसेकी सुन्दरीले आकर्षित गरेको विषय देखाइएको छ । तिनै युवतीको क्रियाकलाप र हाउभाउ देखेर युवक दंग पर्छन् । उनीहरुबीचको आँखा जुधाई, हेराहेर र अन्य भाव–संवादलाई क्याफेको एक वेटरले नजिकैबाट नियालिरहेको हुन्छ । वेटर गीतमा कहिले हास्ने त कहिले आँखा तर्ने गर्दा गीत अझै रोमाञ्चक बनेको छ । भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय रहेको छ ।
क्याफेमा वेटरको भूमिका अंकितबाबु आफैंले गरेका छन् । ‘यो गीत एक प्रयोग हो, मैले गर्दै आएका अन्य गीतभन्दा यो भिन्न छ, यसमा प्रयोग भएका शब्द तथा संगीतले युवा वर्गका कथा भने जस्तो लाग्छ’, उनले भने । अंकितबाबुका चर्चित गीतमा ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’लगायत छन् ।
‘ए–सिरिज’ नामक च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन नवीन भट्टले तथा छायांकन अनिश स्याङ्देनले गरेको हो । नवीनले यसअघि ‘मुना’, ‘वसन्त शिशिर’लगायतका भिडियो बनाएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies